इलोन मस्कले शुक्रबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको भ्रमण गरे। यसलाई लिएर अमेरिकामा ठूलो विवाद सिर्जना भएको छ। सरकारको अति गोप्य सूचना उनको हात पर्ने भन्दै कयौँले आपत्ति जनाएका छन्।
खासमा द न्युयोर्क टाइम्सले बेनामे अधिकारीहरुलाई उधृत गर्दै मस्कलाई चीनसँगको सम्भावित युद्धसम्बन्धी अमेरिकी योजनाबारे ब्रिफिङ दिइने खबर छापेको छ। सो ब्रिफिङमा अति गोप्य सैन्य सूचना पनि रहने उल्लेख छ।
‘चीन युद्धको योजनाबारेको त्यो अति गोप्य ब्रिफिङमा २० देखि ३० स्लाइड हुने छन्। जसले त्यस्तो युद्ध अमेरिकाले कसरी लड्नेछ भने वर्णन गर्दछ,’ टाइम्सले लेखेको छ, ‘यसमा चीनबाट कस्ता खतराहरु हुन सक्छन् भन्नेदेखि लिएर चीनका कुनकुन निसानामा कति समयभित्र प्रहार गरिन्छ भन्ने कुरा समेत समेटिएको छ। जुन योजना निर्णयका लागि ट्रम्पसामु पेस गरिने छ।’
यद्यपि, राष्ट्रपति ट्रम्प र उनको प्रशासनका अधिकारीहरुले सामाजिक सञ्जालमार्फत सो रिपोर्टको खण्डन गरेका छन्।
‘कति हास्यास्पद। चीनबारे उल्लेख वा छलफलसम्म हुने छैन,’ ट्रम्पले लेखेका छन्।
रक्षामन्त्री पिट हेगसेथले पनि गोप्य चीन युद्धसम्बन्धी योजनाबारे नभई नवप्रवर्तन, दक्षता र स्मार्ट उत्पादनका बारे छलफल हुने जनाएका छन्।
मस्कले पनि एक्समार्फत न्युयोर्क टाइम्स विशुद्ध प्रचारबाज भएको आरोप लगाएका छन्। उनले झुटो खबर फैलाउने पेन्टागनका अधिकारीहरु पत्ता लगाइछाड्ने चेतावनी पनि दिएका छन्।
रिपोर्टका अनुसार सेनापतिहरुले प्रयोग गर्ने गुप्त बैठककक्षमा सो छलफल हुने र त्यसमा इन्डो प्यासिफिक कमान्डका प्रमुख एड्मिरल स्यामुएल पापारो श्रीलंकाबाट भर्चुअल माध्यमबाट जोडिने बताइएको थियो।
तर, मस्कले रक्षामन्त्री हेगसेथलाई उनकै कार्यालयमा भेटेका छन्। उनको पूर्वनिर्धारित कार्यक्रम नै त्यति मात्र थियो वा खबर बाहिरिएपछि कार्यक्रम बदलिएको हो भन्ने स्पष्ट छैन।
यद्यपि, गुप्त सूचनामा मस्कको पहुँचलाई लिएर अझै प्रश्न उठ्ने क्रम जारी छ।
किनकि मस्कको पेन्टागन र चीन दुवैसँग व्यापारिक सम्बन्ध छ। यसले सम्भावित स्वार्थको द्वन्द्व मात्र होइन, गोप्य सूचनामा उनको योजना खतरनाक हुने आशंका पनि गरिँदै आएको छ। एजेन्सी
Shares

प्रतिक्रिया