डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि वार्ताको तयारी गर्दैगर्दा युरोपेली मुलुकहरू युक्रेनमा सैनिक पठाउने तयारीमा जुटेका छन्।
रुसले नेटो मुलुकका सैनिकहरूको उपस्थिति युक्रेनमा अमान्य हुने बताउँदै आएको छ। तर, त्यसविपरीत शान्ति सैनिकका रूपमा करिब ३० हजार युरोपेली सैनिक पठाउने पहल बेलायती र फ्रान्सेली नेताहरूले गरिरहेका छन्। ती सैनिकले युद्धविराम लागू गराउने र अर्को आक्रमण गर्नबाट रुसलाई रोक्ने उनीहरूको भनाइ छ।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले युक्रेनमा शान्ति सैनिक पठाउन रुसको सहमति नचाहिने अभिव्यक्ति दिएका छन्।
‘यदि युक्रेनले गठबन्धन सैनिकहरूलाई आफ्नो भूमिमा प्रवेश गर्न भन्यो भने यो रुसले स्वीकार्ने वा अस्वीकार्ने कुरै हुँदैन,’ म्याक्रोँले भने।
उता बेलायती प्रधानमन्त्री किअर स्टारमरले आफू हजारौ सैनिक वर्षौंसम्म युक्रेनमा तैनाथ गर्न तयार भएको बताएका छन्।
तर, पहिले अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिइनुपर्ने स्टारमरको सर्त छ।
बेलायत, फ्रान्स, टर्की, क्यानडा र अस्ट्रेलियाबीच यस विषयमा छलफल भइरहेको छ। तर, ती सैनिकलाई रुसी सेनाविरुद्ध गोली चलाउने अधिकार दिइन्छ कि दिइँदैन भन्ने विषयमा स्टारमरले केही बताउन चाहेनन्।
ट्रम्पले भने त्यस्तो सुरक्षा ग्यारेन्टी दिन अस्वीकार गर्दै आएका छन्। उनले युक्रेन र अमेरिकाबीच हुने खनिज तथा अन्य सम्झौता सुरक्षाका लागि पर्याप्त हुने बताएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
मंगलबार ट्रम्प र पुटिनबीच संवाद हुने भएको छ। ट्रम्पले जमिन, आणविक भट्टी लगायतको बाँडफाँटको विषयमा छलफल हुने बताएका छन्।
Shares

प्रतिक्रिया