ग्लोबल


दिल्ली विधानसभामा आम आदमी पार्टीका विधायकलाई प्रवेश गर्न नदिइएपछि हंगामा

भाजपा सत्तामा आउनेबित्तिकै तानाशाहीको पराकाष्ठा नाघ्यो: आतिशी
दिल्ली विधानसभामा आम आदमी पार्टीका विधायकलाई प्रवेश गर्न नदिइएपछि हंगामा

निलम्बनपछि दिल्ली विधानसभा बाहिर आतिशी र आम आदमी पार्टीका विधायकहरूले विरोध प्रदर्शन गरे।


नेपालखबर
फागुन १५, २०८१ बिहिबार १२:३५, काठमाडौँ

भारतको दिल्ली विधानसभा बैठकमा पूर्वमुख्यमन्त्री आतिशीसहित आम आदमी पार्टीका २१ विधायकलाई प्रवेश गर्न नदिइएपछि हंगामा भएको छ। 

विधायक तथा दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशीले आफ्नो पार्टीका विधायकहरूलाई विधान सभा भवनमा प्रवेश गर्न नदिएको बताएकी छन्।

उनले सत्तामा आएपछि भाजपाले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेकी छन्। 

सभा परिसरमा तैनाथ प्रहरीहरूले गेटमा रोकेपछि आतिशीले किन रोकेको भन्दै बहस गरेकी थिइन्। 

आतिशीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छन्, ‘भाजपाका मानिसहरूले सत्तामा आउनेबित्तिकै तानाशाहीको पराकाष्ठा नाघे।आम आदमी पार्टीका विधायकहरूलाई 'जय भीम'को नारा लगाएकोमा तीन दिनका लागि सदनबाट निलम्बन गरिएको थियो र आज आपका विधायकहरूलाई विधानसभा परिसरमा प्रवेश गर्न पनि दिइएको छैन। दिल्ली विधानसभाको इतिहासमा यस्तो कहिल्यै भएको छैन।’ 

मंगलबार आतिशी र गोपाल रायसहित आम आदमी पार्टीका २१ विधायकलाई मार्सलहरूले निकालेका थिए उनीहरूलाई तीन दिनका लागि सदनबाट निलम्बन गरिएको थियो।

२०२२-२१ को हाल रद्द गरिएको मदिरा नीतिमा क्यागको प्रतिवेदन प्रस्तुत हुनुभन्दा अगाडि यी विधायकहरूले दिल्ली विधानसभामा विरोध प्रदर्शन सुरु गरेका थिए।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले प्रस्तुत गरेको 'दिल्लीमा मदिराको नियमन र आपूर्तिमा प्रदर्शन लेखा परीक्षण' प्रतिवेदन अनुसार, यस नीतिका कारण दिल्ली सरकारले २,००० करोड रुपैयाँभन्दा बढीको घाटा बेहोरेको थियो।

हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपा २७ वर्षपछि दिल्ली सत्तामा फर्किएको हो। 

दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जित्यो भने आम आदमी पार्टी २२ सिटमा खुम्चियो। 

कंग्रेसले भने एउटा पनि सिट जित्न सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad