दक्षिण कोरियामा हालै दुर्घटनाग्रस्त भएको विमानको ब्ल्याक बक्समा अन्तिम चार मिनेटको डेटा नभेटिएको यातायात मन्त्रालयले जनाएको छ।
विमानको फ्लाइट डेटा रेकर्डर (एफडीआर) र ककपिट भ्वइस रेकर्डर (सीभीआर) दुवै विमान विस्फोट हुनुभन्दा चार मिनेट पहिल्यै बन्द भएको उनीहरूको भनाइ छ।
सो दुर्घटनामा १७९ जना मारिएका थिए। मात्र दुई चालक दलका सदस्य बाँच्न सफल भएका थिए।
दुर्घटनाको कारण खोजिरहेका अनुसन्धानकर्मीहरूले ब्ल्याक बक्सबाट जवाफ पाइने आशा गरेका थिए। तर, हालसम्म निराशा हात लागेको छ।
ब्यांककबाट आएको सो विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न खोज्दा २९ डिसेम्बरमा दुर्घटनाग्रस्त भएको थियो।
यसरी ब्ल्याक बक्सबाट डेटा हराउनु आश्चर्यजनक भएको विज्ञहरूले बताएका छन्।
के कारणले ब्ल्याक बक्सको रेकर्डिङ बन्द भयो, त्यसको विश्लेषण गरिने यातायात मन्त्रालयले बताएको छ।
ती रेकर्डरहरूको सुरुमा दक्षिण कोरियामै परीक्षण भएको थियो। तर, डेटा फेला नपरेपछि त्यसलाई अमेरिका पठाइएको छ।
अनुसन्धानकर्ताहरूले चराले ठक्कर दिएको हुनसक्नेदेखि मौसमको भूमिकासम्मका कारणहरूको खोजी गरिरहेका छन्। तर, उनीहरूको मुख्य ध्यान सो बोइङ ७३७–८०० अवतरण गर्दै गर्दा ल्यान्डिङ गियर किन खुलेन भन्ने विषयमा केन्द्रित छ। एजेन्सी
Shares

प्रतिक्रिया