अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एकजना पोर्न स्टारलाई चुप रहन पैसा दिएको (हस मनी) मुद्दामा अदालतले कुनै सजाय सुनाएन।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा पोर्न स्टार स्टर्मी ड्यानियललाई आफूसँगको यौन सम्बन्ध गोप्य राख्न भनी पैसा दिएको घटनामा ट्रम्पलाई गत वर्ष मे (२०२४) मा अदालतले दोषी ठहर गरेको थियो।

सोबमोजिम नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई शुक्रबार (जनवरी १० तारिख) अदालतले जेल सजाय सुनाउने अपेक्षा गरिएको थियो।
तर न्युयोर्कका न्यायाधीश जुआन मार्चनले शुक्रबार फैसला सुनाउँदै भने, ‘म तपाईं (ट्रम्प) को दोस्रो कार्यकालको सफलताको कामना गर्दछु।’
अदालतले ट्रम्पलाई बिनासर्त रिहा गर्ने निर्णय गरेको हो। यसको अर्थ उनले उक्त मुद्दामा न कुनै जरिवाना तिर्नु पर्नेछ न त कुनै जेल सजाय भोग्नु पर्नेछ।
न्यायाधीश मार्चनले यस मुद्दामा ट्रम्पलाई बिनासर्त रिहाइ गर्नु देशको सर्वोच्च पदको उल्लंघन नगरी वैध सजाय भएको तर्क गरे।
ट्रम्प यही जनवरी २० मा दोस्रोपटक अमेरिकी राष्ट्रपतिका रूपमा शपथ खाँदै छन्।
यसअघि ट्रम्प सन् २०१६ मा राष्ट्रपति बनेका थिए।
Shares

प्रतिक्रिया