आफ्नै अनुयायी किशोरीलाई बलात्कार गरेको मुद्दामा ३१ अगस्ट २०१३ देखि जेलमा रहेका भारतका कथित आध्यात्मिक गुरु आसारामलाई सर्वोच्च अदालतले अन्तरिम जमानत (धरौटीमा रिहाइको आदेश) दिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार आसारामले ३१ मार्चसम्मका लागि अन्तरिम जमानत पाएका हुन्। उनलाई सर्वोच्च अदालतले स्वास्थ्यका आधारमा अर्थात् बिरामी परेका कारण जमानत दिएको हो।
अदालतले आसारामलाई जमानतमा जेलबाट बाहिर हुँदा प्रमाणसँग नखेल्न निर्देशन दिएको छ। यस्तै उनले आफ्ना अनुयायीलाई भेट्न पनि पाउने छैनन्।
सन् २०१३ मा सुरतकी एक महिलाले आसाराम र अन्य सात जनाविरुद्ध बलात्कार र गैरकानुनी थुनामा राखेको मुद्दा दायर गरेकी थिइन्।
सुनुवाइका क्रममा एक अभियुक्तको मृत्यु भइसकेको छ। प्रहरीले सन् २०१४ जुलाईमा यस मुद्दामा आरोपपत्र दायर गरेको थियो।
अहमदाबादको चन्दखेडा प्रहरी चौकीमा दर्ता भएको एफआईआरअनुसार आसारामले अहमदाबाद सहरको बाहिरी भागमा रहेको आफ्नो आश्रममा सन् २००१ देखि २००६ बीचमा पीडित किशोरीलाई धेरैपटक बलात्कार गरेका थिए।
Shares

प्रतिक्रिया