ग्लोबल


ट्रम्पले किन दिए पानामा नहरको स्वामित्व फिर्ता लिने धम्की?

ट्रम्पले  किन दिए पानामा नहरको स्वामित्व फिर्ता लिने धम्की?

नेपालखबर
पुस ८, २०८१ सोमबार १५:३९,

डोनाल्ड ट्रम्पले पानामा नहरको शुल्क कम नगरे सो नहरको स्वामित्व अमेरिकाले फिर्ता लिने धम्की दिएका छन्।

मध्य अमेरिकी देश पानामाले अमेरिकी मालवाहक पानीजहाजबाट ज्यादा शुल्क असुलेको उनको आरोप छ।

आइतबार ट्रम्पले एरिजोनामा आफ्ना समर्थकहरूमाझ भने, ‘पानामाले अमेरिकासँग मनोमानी शुल्क असुलिरहेको छ। यो पूरै अनुचित छ। यसलाई हामी तुरुन्त रोक्ने छौँ।’

सामाजिक सञ्जालमा लेख्दै उनले आफूले सो नहर ‘गलत हात’मा पर्न नदिने चेतावनी पनि दिए। उनको चेतावनी पानामामा बढ्दो चिनियाँ प्रभावप्रति थियो। 

पानामाका राष्ट्रपति होसे राउल मुनिलोले तुरुन्तै ट्रम्पलाई जवाफ दिए।

मुनिलोले भनेका छन्, ‘पानामा नहरको हरेक वर्गमिटर हाम्रो हो। यसको चारैतिरको क्षेत्र हाम्रो हो। पानामाको सार्वभौमसत्ता र स्वतन्त्रतामा कुनै सम्झौता हुने छैन।’

अमेरिकी राष्ट्रपतिले अन्य मुलुकको भूमि आफ्नो कब्जामा लिने खुलेआम धम्की दिनु दुर्लभ कुरा हो। तर, ट्रम्पले यसपालि सिंगै क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउन क्यानडेलीहरू इच्छुक रहेको बताएका छन्। उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ‘गभर्नर ट्रुडो’ समेत भन्न भ्याएका छन्।

पानामा नरह ८२ किलोमिटर लामो छ, जसले आन्ध्र र प्रशान्त महासागरलाई जोड्छ। 

१९१४ यो नहर निर्माण सम्पन्न भएको थियो। १९७७ सम्म यसमा अमेरिकाको पूर्ण नियन्त्रण थियो। त्यसपछि पानामा र अमेरिकाको संयुक्त नियन्त्रण थियो भने १९९९ मा पानामाको पूर्ण नियन्त्रण कायम भयो।

यहाँबाट हरेक वर्ष करिब १४ हजार पानीजहाज आवतजावत गर्छन्।

यो नहरले विश्वव्यापी व्यापारमा क्रान्ति ल्याएको थियो। तर, पछिल्लो समय पानी सुक्दै गएपछि कारोबारमा असर पर्न थालेको थियो।

पानामा नहरमा रहेकामध्ये दुईवटा बन्दरगाहको सञ्चालन हङकङको कम्पनीले गर्छ। जसले गर्दा पानामामा चिनियाँ प्रभाव बढेको अमेरिकी आशंका छ।

पानामाले २०१७ मा ताइवानसँग सम्बन्ध तोडेर चीनसँग दौत्य सम्बन्ध स्थापना गरेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad