ग्लोबल


साउदीले ११ महिनामा ३०० जनालाई मृत्युदण्ड दियो

साउदीले ११ महिनामा ३०० जनालाई मृत्युदण्ड दियो

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार २०:१, दुबई

मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। यसपछि मुलुकको मृत्युदण्डको कूल सङ्ख्या उच्चतम ज्ञात वार्षिक आँकडाभन्दा धेरै नै बढी भएको छ। 

गृह मन्त्रालयलाई उद्धृत गर्दै आधिकारिक साउदी प्रेस एजेन्सीले लागुऔषध तस्करीमा दोषी ठहरिएका तीन जनालाई र अर्का हत्याका अपराधीलाई मृत्युदण्ड दिइएको जनाएको छ। 

राज्य सञ्चारमाध्यमको रिपोर्टमा आधारित तथ्याङ्कअनुसार यसले यस वर्षका लागि मृत्युदण्डको कूल सङ्ख्या ३०३ पुर्‍याएको छ।

खाडी राजतन्त्रात्मक मुलुक साउदी अरेबियाले सेप्टेम्बर महिनासम्म मृत्युदण्ड दुई सयपटक लागू गरेको थियो। यसले हालका हप्ताहरूमा मृत्युदण्डको गति तीव्र रहेको देखाउँछ। 

एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०२३ मा साउदी अरेबियाले चीन र इरानपछि विश्वको तेस्रो सबैभन्दा धेरै कैदीहरूलाई मृत्युदण्ड दिएको थियो। 

यसअघि सन् २०२२ मा देशमा एकै वर्षमा मृत्युदण्डको रेकर्ड सङ्ख्या १९६ पुगेको थियो। लन्डनस्थित मानव अधिकार समूहले सन् १९९० मा वार्षिक तथ्याङ्क दर्ता गर्न थालेको बताएको छ। 

बर्लिनस्थित युरोपियन साउदी अर्गनाइजेशन फर ह्युमन राइट्स (इएसओएचआर) का कानुनी निर्देशक ताहा अल-हज्जीले सन् २०२४ मा मृत्युदण्डको ‘रकेट गति’ को निन्दा गर्दै यसलाई ‘बुझिन नसक्ने र अस्पष्ट’ भनेका छन्। 

मानव अधिकारकर्मीहरूले पहिले साउदी अरेबियाले यस वर्ष ३०० भन्दा बढी मृत्युदण्ड दिन सक्ने चेतावनी दिएका थिए। प्रतिदिन करिब एउटा मृत्युदण्ड दर्ता भइरहेको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad