ग्लोबल


ट्रम्पविरुद्ध प्रदर्शन गर्न आदेश दिएको आरोपमा हसिना समर्थित १० नेता-कार्यकर्ता पक्राउ

ट्रम्पविरुद्ध प्रदर्शन गर्न आदेश दिएको आरोपमा हसिना समर्थित १० नेता-कार्यकर्ता पक्राउ

फाइल तस्बिर: डोनाल्ड ट्रम्प र शेख हसिना


रासस/एएफपी
कात्तिक २५, २०८१ आइतबार १९:४०, ढाका

अमेरिकाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता-कार्यकर्ता पक्राउ गरिएको बङ्गलादेशको प्रहरीले जानकारी गराएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्लेकार्डसहित प्रदर्शन गर्न आदेश दिएपछि बंगलादेशका अपदस्थ प्रधानमन्त्री शेख वाजेद हसिनाका समर्थकलाई पक्राउ गरिएको प्रहरीले आइतबार जनाएको हो।

बंगलादेशमा विद्यार्थी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना ९७७० गत अगस्ट ५ मा हेलिकप्टरबाट भारततर्फ भागेकी थिइन्।

त्यसयता बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। जसलाई लोकतान्त्रिक सुधार कार्यान्वयन गर्ने र निर्वाचन गराउने जिम्मेवारी दिइएको छ।

प्रहरीले ‘देशविरोधी’को संज्ञा दिएको १० जना प्रदर्शनकारीलाई शनिबार राति पक्राउ गरेको हो। उनीहरूविरुद्ध करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशलाई अस्थिर बनाउने प्रयास गरेको आरोप छ।

ढाका महानगर प्रहरीका प्रवक्ता मोहम्मद तालेबुर रहमानले भने, ‘हामी उनीहरूको अपराधको मूल्याङ्कन गरिरहेका छौँ।’

हसिनाको अवामी लिगले आइतबार आयोजना गरेको धम्कीपूर्ण र्‍यालीको पूर्वसन्ध्यामा उक्त सानो विरोध प्रदर्शन भएको थियो, जसलाई अन्तरिम सरकारले ‘फाँसीवादी’ गतिविधि भन्दै प्रतिबन्ध लगाएको थियो।

विद्यार्थीहरूले ढाकाको मध्य भागमा विरोध प्रदर्शनको आह्वान गरेका छन्।

हसिनाको शासन ढलेपछि उनका दर्जनौँ सहयोगीलाई गिरफ्तार गरिएको छ र पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध आन्दोलनका क्रममा ७०० भन्दा बढी व्यक्तिको ज्यान जाने गरी भएको प्रहरी कारबाहीमा दोषी ठहर गरिएको छ। अवामी लिगप्रति वफादार अन्य नेताहरू लुकेर बसेका छन्।

हसिनाको अडिओ रेकर्डिङ सामाजिक सञ्जालमा भाइरल भएपछि उनका समर्थकलाई आइतबार प्रदर्शन गर्न र ट्रम्पको फोटो र अमेरिकी झण्डा अङ्कित प्लेकार्ड बोक्न आग्रह गरिएको प्रहरीले जनाएको छ।

‘उनले प्लेकार्डलाई ढालको रूपमा प्रयोग गर्न र कुनै आक्रमण भएमा फोटो र भिडिओ फुटेज लिन आग्रह गर्नुभएको थियो,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘उनीहरूले संयुक्त राज्य अमेरिकासँगको बङ्गलादेशको मैत्रीपूर्ण सम्बन्धलाई कमजोर पार्ने षडयन्त्र रचिरहेका थिए।’

हसिनाको पार्टीले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले बिनाप्रमाण आफ्नो शासनको विरोधमा प्रदर्शनलाई प्रोत्साहन गरेको आरोप लगाएको थियो।

उनको १५ वर्ष लामो शासनकालमा विपक्षीहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नबाट रोक्ने घटना भएका थिए।

हसिनालाई सत्ताच्युत गरेपछि पदभार ग्रहण गरेका ८४ वर्षीय युनुसले ट्रम्पको चुनावी विजयपछि उनलाई बधाई तथा  शुभकामना दिँदै आफू अमेरिकासँग मिलेर काम गर्न आतुर रहेको बताएका थिए।

प्रहरीका अनुसार अवामी लिगले र्‍याली गर्न अनुमति मागेको थिएन भने युनुसका प्रेस सचिवले हसिनाको पार्टीलाई मार्च गर्न अनुमति नदिइएको बताएका थिए। 

शफिकुल आलमले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अवामी लिग, यसको वर्तमान स्वरूपमा, एक फाँसीवादी पार्टी हो।’

’सामूहिक हत्यारा र तानाशाह’ को आदेशमा र्‍याली, जमघट वा जुलुस निकाल्ने कोसिस गर्ने जो कोहीले पनि कानुन कार्यान्वयन गर्ने निकायको पूर्ण बलको सामना गर्नेछ,’ उनले बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना समर्थित समूहलाई इङ्गित गर्दै भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad