अबको ७४ दिनमा उपराष्ट्रपति कमला ह्यारिसले पद छाड्ने छिन्। त्यसपछि २००३ मा सान फ्रान्सिस्कोको जिल्ला न्यायाधिवक्ता बनेयता पहिलोपटक सामान्य नागरिक बन्ने छिन्।
चुनाव हारेपछि अब उनको योजना के छ भन्ने विषयमा उनका मित्र तथा सहयोगीहरू अहिले नै यसै भन्न हतार हुने बताउँछन्। यद्यपि, ६० वर्षीया ह्यारिससामु अनेक विकल्प रहेको तिनको भनाइ छ।
चुनाव हारेका अन्य उम्मेदवारझैँ उनी अहिले अतुलनीय राजनीतिक झट्का बेहोरिरहेकी छन्। मंगलबार बिहानसम्म उनी डेमोक्र्याटिक पार्टीकी नेता थिइन्, उनलाई भविष्य मान्ने गरिन्थ्यो। बिहीबारसम्ममा पार्टीका अधिकारीहरू नै पार्टी बाइडेन युगबाट अघि बढ्न चाहेको बताउन थालेका छन्।
ह्यारिससामु रहेका ६ विकल्य यस्ता छन् :
पर्खिएर २०२८ मा फेरि चुनाव लड्ने
डेमोक्र्याटहरूमा राष्ट्रपतिमा पराजित उम्मेदवारलाई फेरि चुनाव लडाउने रहर देखिँदैन। २०१६ मा हारेपछि हिलारी क्लिन्टनलाई कमजोर उम्मेदवार ठान्न थालियो। दाताहरूसँग उनको सम्बन्ध कायम थियो। तर, ह्यारिसको टिमले उनको उपयोग गर्दा क्लिन्टनले ब्याटलग्राउन्ड राज्यभन्दा टाढा फ्लोरिडामा कार्यक्रम आयोजना गरिन्।
पराजित उम्मेदवार जोन केरी सिनेटमा फर्केका थिए र पछि विदेशमन्त्री पनि बने। अल गोरले छोटो समयका लागि फेरि चुनाव लड्ने योजना बनाएका थिए तर प्राइमरी चुनावमा हवार्ड डिनलाई समर्थन गरे।
२०२८ मा ह्यारिसलाई उम्मेदवार बनाउने चाहना डेमोक्र्याटहरूमा देखिँदैन। खासगरी ट्रम्पको सहज जितपछि। यसवर्ष पनि बाइडेनले छाडेपछि प्राइमरीका लागि पर्याप्त समय नभएकाले उनले उम्मेदवारी पाएकी हुन्।
तैपनि राजनीतिमा चार वर्ष लामो समय हो। पार्टीको सबैभन्दा ठूलो दाता सञ्जालमा ह्यारिसको पहुँच छ। यदि ट्रम्पको दोस्रो कार्यकालमा गडबडी भए उनले त्यसको उपयोग गर्न सक्छिन्।
तल्लो पदमा उठ्ने
सिनेटमा फर्किनु एउटा विकल्प हो। तर, त्यो पनि सम्भव देखिँदैन। अर्को वर्ष क्यालिफोर्नियामा दुई सिनेटरले पहिलो कार्यकाल पूरा गरेका हुने छन्। ती चाँडै पछि हट्ने सम्भावना छैन।
क्यालिफोर्नियामा २०२६ मा गभर्नरको चुनाव पनि हुने छ। तर, उनी त्यसमा पनि इच्छुक नहुन सक्छिन्।
यदि उनी सो चुनावमा उठिन् भने पनि उनी राष्ट्रपतिमा हारेर क्यालिफोर्नियाको गभर्नरमा उठ्ने पहिलो व्यक्ति हुने छैनन्। १९६० मा राष्ट्रपतिको चुनाव हारेका रिचर्ड निक्सनले दुई वर्षपछि त्यहाँको गभर्नरको चुनाव लडेका थिए। तर, त्यसमा पनि हारेपछि उनले पत्रकारहरूलाई भनेका थिए, ‘तपाईंहरूले आइन्दा गाली गर्नलाई निक्सन भेट्नुहुने छैन। किनभने यो मेरो अन्तिम पत्रकार सम्मेलन हो।’
६ वर्षपछि निक्सनले राष्ट्रपतिको चुनाव जिते। तथापि उनले चाहेजस्तो कार्यकाल भने भएन।
निजी क्षेत्रमा प्रवेश गर्ने
चुनावी अभियानमा उनले भनेजस्तै ह्यारिसको जीवनमा एक मात्र ग्राहक थिए– जनता।
ह्यारिस कुनै ल फर्म वा लबीमा सहभागी हुन सक्छिन्। वासिङ्टन र क्यालिफोर्नियामा अत्यधिक पैसा भएका यस्ता थुप्रै मान्छे छन्, जो उनको ग्राहक बन्न तयार छन्।
राजनीतिक करिअरपछि पैसा कमाउने बाटोमा लाग्नु वासिङ्टनमा निकै प्रचलित तरिका हो। अवकाश भएका वा पराजित भएका सांसदलाई भर्ती गर्ने प्रयास तिनले पद छाड्नुअघि नै सुरु भइसक्छ। यसमा निकै फाइदा भए पनि फेरि राष्ट्रपतिमा उठ्ने सपना छ भने ह्यारिस लबिइङ वा कर्पोरेट लमा जाने छैनन्।\

एड्भोकेसी वा थिंक ट्यांक
रिपब्लिकन पार्टीको सरकार हुँदा वासिङ्टनस्थित सेन्टर फर अमेरिकन प्रोग्रेस भावी डेमोक्र्याटिक प्रशासनका स्टाफ तथा सम्भावित उम्मेदवारहरूको गुँड बनेको छ।
तर, झण्डै ओभल अफिसमा बस्न पुगेकी उनका लागि मौजुदा थिंक ट्यांकमा जोडिनु निकै सानो कदम मानिन सक्छ।
आफ्नै नाममा नयाँ संस्था खडा गर्नु पनि कठिन काम हो। जसका लागि पर्याप्त धन जुटाउनुपर्ने हुन्छ। तर, उनका दाताहरू उनको हारबाट थकित र क्रुद्ध छन्।
एड्भोकेसी वा थिंक ट्यांकमा जोडिनुअघि ह्यारिसले निर्णय गर्नुपर्ने हुन्छ– उनी के कुराको एड्भोकेसी गर्न चाहन्छिन्। २०२५ मा उनी राजनीतिबाट मुक्त हुनेछिन् र आफूले चाहेको विषयलाई प्राथमिकता दिन सक्छिन्।
‘उनले पार्टीलाई अत्यधिक मूल्यवान् बनाउँछिन्। उनको पृष्ठभूमि, अनेक क्षेत्रमा नीति निर्माणको उनको समझदारी, गठबन्धन बनाउने उनको क्षमता उनका ताकत हुन्। उनी जनताका लडाकु हुन्। उनले मान्छेहरूको जीवनलाई सहज बनाउने लडाइँ कायम राख्नेछिन्। अब उनले जे गरे पनि अरुलाई प्रेरित गरिरहने छिन्,’ क्यालिफोर्नियाकी सांसद बारबरा ली भन्छिन्।
पुस्तक लेखन
बाइडेन प्रशासनमा काम गर्दा र ट्रम्पविरुद्ध चुनाव लड्दाको उनको अनुभव छाप्न चाहने प्रकाशकहरूको कमी हुने छैन।
२०१६ मा ट्रम्पले आफूलाई हराएपछि हिलारी क्लिन्टनले ‘ह्वाट ह्यापेन्ड’ शीर्षकको पुस्तक लेखिन्। अल गोर वातावरणसम्बन्धी एड्भोकेसीमा लागे र ‘एन इन्कन्भिनियन्ट ट्रुथ’ नामक डकुमेन्ट्री बनाए।
आफ्नो ख्याल राख्ने र हाइकिङ गर्ने
चुनावपछिको योजनाबारे ह्यारिसले अहिलेसम्म दिएको एउटै संकेत थियो– खानापानमा ध्यान दिने।
अक्टोबर २७ मा उनले भनेकी थिइन्, ‘यो सकिएपछि म अलिकति तौल बढाउन चाहन्छु। मलाई हड्डी घोटिनेगरी काममा लगाइएको छ।’
उनी क्लिन्टनको नक्कल पनि गर्न सक्छिन्।
२०१६ मा ट्रम्पसँग हारेको केही दिनपछि क्लिन्टन न्युयोर्कमा हाइकिङ गएकी थिइन्। जसका क्रममा एक महिलाले उनीसँग भेटेर फोटो खिचाइन्। बिल क्लिन्टनले खिचिदिएको फोटो ती महिलाले अनलाइन पोस्ट गरिन् र सो फोटो भाइरल भयो।
ह्यारिसले अझै १० हप्ता वासिङ्टनको नेभल अब्जर्भेटरीमा बिताउने छिन्। जहाँ हाइकिङ गर्ने राम्रो ठाउँ छैन। तर, नजिकै रक क्रिक पार्क छ। जहाँ उनका लागि चुनावी तनाव दूर गर्न माइलौँ माइल सुन्दर पदमार्ग छन्।
(द न्युयोर्क टाइम्सबाट)
Shares

प्रतिक्रिया