भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेनको औपचारिक भ्रमणमा जाँदै छन्।
भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो।
विदेश मन्त्रालयका सचिव (पश्चिम) तन्मय लालले भने- प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निमन्त्रणामा शुक्रबार अगस्ट २३ मा युक्रेनको औपचारिक भ्रमण गर्नेछन्।
यो भ्रमण महत्त्वपूर्ण र ऐतिहासिक भएको उनको भनाइ छ।
उनले थपे- किनभने हाम्रो कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षभन्दा लामो समयपछि कुनै भारतीय प्रधानमन्त्रीले पहिलोपटक युक्रेनको भ्रमण गर्दै छन्।
तन्मय लालका अनुसार यो भ्रमण नेताहरूबीच भर्खरै भएको उच्चस्तरीय वार्तामा आधारित हुनेछ।
रुस-युक्रेन द्वन्द्वबारे उनले भने- भारतले एकदमै स्पष्ट र निरन्तर अडान राखेको छ। यो द्वन्द्व कूटनीति र संवादबाट समाधान गर्न सकिन्छ। यसले दिगो शान्ति ल्याउन सक्छ, त्यसैले वार्ता अत्यन्तै महत्त्वपूर्ण छ।
दुवै पक्षलाई मान्य हुने विकल्पबाट मात्रै दिगो शान्ति हासिल गर्न सकिने र वार्ताबाट मात्रै समाधान निस्कने उनको भनाइ छ।
उनले थपे- तपाईंलाई थाहै छ, प्रधानमन्त्री मोदीले रुस र युक्रेन दुवै पक्षका नेताहरूसँग कुरा गर्नुभएको छ र प्रधानमन्त्रीले हालै रुसको भ्रमण पनि गर्नुभएको छ।
Shares
प्रतिक्रिया