ad ad

ग्लोबल


बंगलादेशका सबै प्रहरी कार्यालय खाली

‘बंगलादेशमा यसअघि कहिले यसरी सबै प्रहरी एकसाथ फरार भएका थिएनन्’
बंगलादेशका सबै प्रहरी कार्यालय खाली

ढाकाको मिरपुर प्रहरी कार्यालयकाे हालत। भीडले जलाइदिएको हो।


अकबर हुसैन
साउन २६, २०८१ शनिबार १५:२३, बीबीसी न्युज बांग्ला

आगोले जलेको यो भवन हेर्दा ढाकाको मिरपुर प्रहरी कार्यालयको भवन हो भनेर चिन्न गाह्रो पर्छ। त्यसका पर्खाल आगोले जलेर कालो भएका छन्।

प्रहरी चौकीअगाडि प्रहरीका केही बर्दी, केही जुत्ता र केही बुलेटप्रुफ ज्याकेटसहित अन्य सामानको थुप्रो छ। तीमध्ये आधाभन्दा बढी सामान जलेका छन्। अब ती प्रयोग गर्न सकिँदैन।

बिहीबार बिहान करिब ९:३० बजे ढाकाको मिरपुर मोडल प्रहरी थानामा यस्तै दृश्य देखिएको थियो। यस प्रहरी थानामा अन्सार (अर्धसैनिक बल) का ८ कर्मचारी कार्यरत छन्।  

मिरपुर प्रहरी चौकीको यो जलेको भवन प्रहरीप्रति आम जनताको आक्रोशको साक्षी हो। 

कार्यालयमा काम गर्ने कमल हुसेन प्रहरी चौकीअगाडि उभिएर दयनीय अवस्था नियालिरहेका थिए।

उनले बीबीसी बांग्लालाई भने, ‘प्रहरीको हालत यस्तो हुन्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ।’

मिरपुर मात्र होइन, गत सोमबार दिउँसोदेखि बंगलादेशका कुनै पनि प्रहरी स्टेसनमा प्रहरी छैनन् ।

यसअघि सबै प्रहरी थानाबाट यसरी एकैसाथ प्रहरी फरार हुने घटना बंगलादेशमा कहिल्यै भएको थिएन।

विश्वका अन्य देशमा यस्ता घटना विरलै हुने गरेको एक पूर्वअधिकारी बताउँछन्। उनी भन्छन्, ‘युद्धकालमा यस्ता घटना धेरै पटक हुने देखिएका छन्।’ 

सबैभन्दा ठूलो प्रश्न के हो भने प्रहरीसामु किन यस्तो अवस्था आयो?

‘मनलागी गोेली चलाइयो’
ढाकाको भटारा थानाको अवस्था पनि मिरपुर थानाको जस्तै छ। आगलागीपछि अहिले प्रहरी थानाको भग्नावशेष चारैतिर छरिएका छन्।

अन्सारका धेरै सदस्य प्रहरी चौकीमा ड्युटी गरिरहेका छन्। प्रहरी कार्यालयभित्रै विद्यार्थीहरूको समूहसँग पनि भेट भयो। प्रहरी कार्यालयबाहिर छरिएका फोहोर सफा गर्न यहाँ आएको विद्यार्थीले बताए।

प्रहरी शब्द सुन्नासाथ उनीहरूको स्वरमा आक्रोश निस्कन्छ। 

तर प्रहरीप्रति आम जनतामा रहेको आक्रोशलाई कसरी हटाएर अवस्था सामान्य बनाउन सकिन्छ?

एक निजी विश्वविद्यालयका विद्यार्थी अब्दुर रज्जाकले बीबीसी बांग्लालाई भने, ‘आम जनतासँग ऐक्यबद्धता जनाउँदै आफ्नो व्यवहारलाई नरम बनाए मात्र स्थिति सामान्य बनाउन सकिन्छ।’

ढाकाको न्यु मोडल कलेजका विद्यार्थी शाहजलाल पटवारी भन्छन्, ‘मलाई प्रहरीसँग कुरा गर्न पनि डर लाग्थ्यो, प्रहरीको व्यवहार निकै नराम्रो थियो, यसबाहेक विद्यार्थी र सर्वसाधारणमाथि पनि प्रहरीले निर्मम आक्रमण गरेको छ। सर्वसाधारणविरुद्ध जथाभावी ढंगले गोली चलाइएको छ।’

प्रहरीप्रति जनताको मनमा उत्पन्न यो आक्रोशबारे वरिष्ठ अधिकारी पनि जानकार छन्। 

नाम नछाप्ने सर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसी बांग्लालाई भने, ‘२०१२ मा प्रहरीले ठूलो मात्रामा बल प्रयोग गर्न थालेपछि जनताको मनमा प्रहरीप्रति ठूलो अविश्वास पैदा भयो।’

प्रहरीलाई काममा फर्कन भनिएको उनले बताए।

उनका अनुसार प्रहरीले जति चाँडो काममा फर्केर शान्ति सुरक्षालाई सामान्य बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ, त्यति नै चाँडो उनीहरूप्रतिको विश्वास पुनर्स्थापित हुन्छ।

प्रहरीकै व्यवहारका कारण आफूहरूप्रति सर्वसाधारणमा ठूलो आक्रोश पैदा भएको ती अधिकारीले स्वीकार गरे। उनी भन्छन्, ‘अहिले यो आक्रोश एकैचोटि विस्फोट भएको छ।’ 

अहिलेको अवस्था प्रहरीका लागि निकै जटिल छ भन्ने कुरामा कुनै शंका छैन।

सबै प्रहरी थानाबाट ठूलो मात्रामा हातहतियार लुटिएको छ। धेरै प्रहरीको बर्दी छैन। धेरै प्रहरी भवन बस्न सकिने अवस्थामा छैनन्।

बिहीबार ढाकाका विभिन्न ठाउँको भ्रमण गर्दा नगर निगमका केही कर्मचारी फोहोर हटाउन व्यस्त देखिन्थे।

ढाकाको पल्लवी प्रहरी थानाअगाडिको नालाको अगाडि केही स्थानीय नागरिक उभिरहेका थिए। तीमध्ये ढाका उत्तरी नगर निगमको वडा नम्बर २ का काउन्सिलर सज्जाद हुसेन पनि थिए।

सज्जादले बीबीसी बांग्लालाई भने, ‘प्रहरीहरू प्रहरी थानासम्म पुग्न सकेका छैनन्। त्यसैले स्थानीय जनतासँग सहयोगको अपिल गरिरहेका छन्। अब शान्ति सुरक्षाका अवस्थाका लागि प्रहरी त आवश्यक पर्छ नै। प्रहरीहरूले हामीलाई सम्पर्क गरिरहेका छन्।’

प्रहरीको उपस्थिति आवश्यक
अहिले सादा पोसाक लगाएका प्रहरीहरू विभिन्न प्रहरी कार्यालयमा पुगेर क्षतिको आकलन गरिरहेका छन्।

यस्तै एउटा प्रहरी चौकीमा कार्यरत सब इन्स्पेक्टर अब्दुल लतिफले बीबीसी बांग्लालाई आफूहरू मिरपुर क्षेत्रका सबै प्रहरी चौकीमा गएर क्षतिको आकलन गरिरहेको बताए। 

उनी भन्छन्, ‘ती प्रहरी चौकीहरूमा प्रहरीका कुने गाडी सद्दे छैनन्। सबै जलेर खरानी भएका छन्।’

तर विश्लेषकहरू जतिसुकै प्रतिकूल परिस्थिति आए पनि प्रहरी फिल्डमा खटिनुपर्ने बताउँछन्। यसको सुरुवात कतै न कैतबाट गरिनुपर्ने उनीहरूको तर्क छ।

पूर्वप्रहरी प्रमुख नुरुल हुडाले बीबीसी बांग्लालाई भने, ‘प्रहरीको उपस्थिति त हुनैपर्छ। उनीहरूले विभिन्न संस्थामा गएर आफ्नो सुरक्षाका लागि उपाय निकाल्न सक्छन्। यसका अलावा उनीहरूले शान्ति सुरक्षाको अवस्था सुधार्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ। त्यसपछि मात्र प्रहरी तर आम जनताको विश्वास फर्किनेछ।’

प्रहरीप्रति जनताको मनमा रहेको आक्रोश हटाउन प्रहरीमा सुधार आवश्यक छ। तर नुरुल हुडा यस्तो सुधार चाँडै सम्भव नहुने बताउँछन्।

प्रहरीको अहिलेको अवस्थाका लागि राजनीतिक नेतृत्व जिम्मेवार रहेको हुडाको आरोप छ। उनका अनुसार यसको कारण प्रहरीलाई लामो समयदेखि राजनीतिक रूपमा प्रयोग गरिनु हो।

अर्कातर्फ प्रहरीका उच्च अधिकारीहरूले प्रहरीमा व्यापक फेरबदल हुने संकेत गरेका छन्।

एक शीर्ष प्रहरी अधिकारीले बीबीसी बांग्लालाई भने, ‘सबै प्रहरी थानाका ओसी र प्रत्येक जिल्लाका प्रहरी अधीक्षकका बारेमा छलफल भइरहेको छ।’

उनले विद्यार्थी आन्दोलनका क्रममा प्रहरीले सबैभन्दा बढी बल प्रयोग गरेका क्षेत्रमा पहिले परिवर्तन गरिने बताए।

प्रहरीलाई थप बल प्रयोग गर्न निर्देशन दिने प्रहरी अधिकारीविरुद्ध विगतमा मानवअधिकार उल्लंघनका गम्भीर आरोप लागेको उनको भनाइ छ।

उनका अनुसार यस्ता अधिकारीलाई कडा कारबाही नगरिएसम्म प्रहरीप्रति आम जनताको विश्वास पुनर्स्थापित गर्न गाह्रो हुने उनी बताउँछन्। 
तर यी सबै एकैचोटि गर्न सम्भव छैन।

प्रहरीका माग
देशका प्रहरी स्टेसनका ओसी र प्रहरी नायब निरीक्षकका लागि गठित पुलिस एसोसिएसनले प्रहरीप्रति आम जनताको विश्वास फिर्ता गर्न केही महत्त्वपूर्ण कदम चाल्नुपर्ने बताएको छ।

बुधबार ढाकामा भएको एसोसिएसनको बैठकमा केही माग पनि प्रस्तुत गरिएका थिए।

बैठकमा प्रहरी नायब निरीक्षक जाहिदुल इस्लामले भने, ‘प्रहरीको राजनीतिक प्रयोग र वरिष्ठ अधिकारीको मनोमानी आदेशका कारण प्रहरीका सामु यस्तो अवस्था आएको हो।’

‘सामान्य नागरिकको हितलाई ध्यानमा राखेर काम गर्ने र सोही किसिमको निर्देशन दिने नेतृत्व चाहन्छौँ। उनीहरूले हामीलाई राजनीतिक दलको दलाली गरेर जनताका विरुद्ध खडा नगरून्।’ 

पुलिस एसोसिएसनका माग
पुलिस एसोसिएसनको बैठकमा राखिएका माग यस्ता छन्ः

–प्रहरी राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ।

–सबै प्रहरी र उनीहरूका परिवारको सुरक्षा सुनिश्चित गरिनुपर्छ। जाहिदुल इस्लामले भने, ‘प्रहरी, विद्यार्थी र आम जनताको ज्यान लिने भ्रष्ट र दलाल प्रहरी अधिकारीहरूलाई तुरुन्तै पक्राउ गरी बंगलादेशको कानुनअनुसार कारबाही गर्नुपर्छ।’

–त्यस्ता अधिकारीहरूका सबै अवैध सम्पत्ति जफत गरी बंगलादेश प्रहरीको हितमा प्रयोग गरिनुपर्छ।

–हिंसामा मारिएका प्रहरी र घाइतेका परिवारलाई क्षतिपूर्ति दिनुपर्छ।

–जनधन रक्षाका लागि हतियार प्रयोग गर्ने प्रहरीलाई विभागीय कारबाही गर्नु हुँदैन।

–बंगलादेशको श्रम कानुनअनुसार प्रहरीलाई आठ घण्टा ड्युटीको व्यवस्था सुनिश्चित गरिनुपर्छ। अतिरिक्त कामका लागि ओभरटाइमको व्यवस्था गरिनुपर्छ। –प्रहरीको पोसाकको रङ परिवर्तन गरी प्रहरी जवानदेखि आईजीपीसम्म सबैका लागि समान पोसाकको व्यवस्था गरिनुपर्छ। 

बैठकमा जाहिदुलले यी माग पढ्दै गर्दा त्यहाँ उपस्थित सबै प्रहरीले ताली बजाएर समर्थन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .