ad ad

ग्लोबल


आर्थिक समृद्धिले थामेन हसिनाको कुर्सी, लोकतन्त्र मास्न खोज्दा देश छाडेर भाग्नुपर्‍यो

राष्ट्रपिताकी छोरी, लोकतन्त्रकी योद्धाको राजनीतिक उत्थान र पतनको कथा
आर्थिक समृद्धिले थामेन हसिनाको कुर्सी, लोकतन्त्र मास्न खोज्दा देश छाडेर भाग्नुपर्‍यो

नेपालखबर
साउन २१, २०८१ सोमबार १६:३६,

गत महिना सुरु भएको आरक्षणविरोधी आन्दोलनको बाढीले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको कुर्सी बगाएको छ। ३०० भन्दा बढीको मृत्युपछि हसिना राजीनामा दिएर देशबाटै भाग्न बाध्य भएकी छन्। प्रदर्शनकारीहरू उनको सरकारी निवासमा समेत प्रवेश गरेका छन्।

२००९ देखि मुलुकमा शासन गरिरहेकी ७६ वर्षीया हसिना राजीनामा घोषणा पनि रेकर्ड गर्न नपाई सेनाको हेलिकोप्टरमा चढेर भारततर्फ लाग्नुपर्‍यो। उनी भारतको अगरतला सहर पुगेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रधानमन्त्री भागेपछि सेनाप्रमुख जर्नेल वकर उज जमानले अन्तरिम सरकार गठन गरिने बताएका छन्।

बंगलादेशमा घातप्रतिघातको राजनीति लामो समय चल्दै आएको छ। सत्ताबाहिर रहेका नेताहरू जेल पर्नु अनौठो होइन। तर, केही महिनाअघिसम्म शेख हसिनाले यतिछिटै यो दिन देख्नुपर्ला भन्ने कल्पना सायदै कसैले गरेको थियो।

हसिनाले गत जनवरी ७ मा चौथोपटक लगातार चुनाव जितेर सत्तामा पकड बलियो बनाएकी थिइन्।  कतिसम्म भने सो चुनावमा विपक्षीहरू नै थिएनन्। तर, ७ महिना नबित्दै उनी निर्वासित हुनुपरेको छ।

यससँगै बंगलादेशमा सबैभन्दा लामो समय सत्ता चलाएकी प्रधानमन्त्रीको शासन अन्त्य भएको छ। जसले मुलुकलाई २० वर्ष भन्दा बढी आफ्नो पकडमा राखेकी थिइन्।

बंगलादेशको आर्थिक उन्नति गरेको भाष्यका बीच राज्यका संयन्त्रहरूमा उनको कब्जा कायम भएको थियो। उनी तानाशाही बन्न थालेको आरोप लागेको थियो।

बहिनी रेहानाको साथमा हसिना, जो ५० वर्षअघिको सैन्य कूमा बाँचेका थिए

कसरी सत्तामा आइन् हसिना?
पूर्वी बंगलामा १९४७ मा जन्मिएकी हसिनाको रगतमै राजनीति थियो। उनका बुबा शेख मुजिबुर रहमानकै नेतृत्वमा १९७१ मा बंगलादेशले पाकिस्तानबाट स्वतन्त्रता पाएको थियो। स्वतन्त्रतापछि मुलुकका पहिलो राष्ट्रपति बनेका उनलाई राष्ट्रपिता मान्ने गरिन्छ।

बंगलादेश स्वतन्त्र हुँदासम्म हसिना ढाका युनिभर्सिटीमा विद्यार्थी नेतृका रूपमा स्थापित भइसकेकी थिइन्। 

सन् १९७५ मा सैन्य कू हुँदा उनका पिता रहमान र परिवारका अधिकांश सदस्य मारिए। परिवारका दुई सदस्य, हसिना र उनकी बहिनी रेहाना मात्र बच्न सफल भए। किनकि उनीहरू त्यतिबेला विदेश यात्रामा थिए।

निर्वासनमा भारतमा बसेकी उनी १९८१ मा देश फर्किइन्। त्यसपछि पिताकै पार्टी अवामी लिगको नेता बनिन्।

जर्नेल हुसेन मुहमद एर्सादको सैन्य शासनमा उनले अन्य पार्टीहरूसँग हातेमालो गरेर लोकतन्त्रको माग गर्दै प्रदर्शनको नेतृत्व गरिन्। उनको लोकप्रियता ह्वात्तै बढ्यो।

१९९६ मा पहिलो पटक उनले चुनाव जितिन् र सत्तामा आइन्। त्यसबेला भारतसँग जलस्रोत बाँडफाँट र आदिवासी विद्रोहीहरूसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको जस उनलाई गयो।

तर, त्यहीबेला अनेक भ्रष्टाचार प्रकरणमा मुछिएपछि उनको सरकारको आलोचना पनि भयो। त्यसमाथि भारतर्फ ढल्किएको आरोप पनि उनले खेपिन्।

त्यसपछिको चुनाव अर्थात् २००१ मा उनी प्रतिस्पर्धी बेगम खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सँग पराजित भइन्। यी दुई परिवारका दुई महिलालाले एकएकवटा राजनीतिक वंशको नेतृत्व गर्छन्। जसले मुलुकमा तीन दशकदेखि बर्चस्व कायम गरेको छ। उनीहरूलाई ‘झगडिया बेगमहरू’ भनेर समेत चिन्ने गरिन्छ।

उनीहरूको झगडाले तिक्त रूप लिँदा बसमा प्रहार, बेपत्ता, गैरन्यायिक हत्याजस्ता घटना नियमित बन्न पुगेको विश्लेषकहरू बताउँछन्।

हसिना पुनः २००९ मा सत्तामा आइन्। सो चुनाव कामचलाउ सरकारले गराएको थियो। विपक्षमा हुन्जेल उनले अनेकौँ यातना सहिन्। अनेकपटक गिरफ्तार भइन्। पटकपटक हत्याप्रयास भयो। २००४ को आक्रमणपछि त उनको सुन्ने क्षमता नै कम भयो। 

त्यस्तै उनलाई निर्वासनमा पठाउने प्रयास र भ्रष्टाचार आरोपमा थुन्ने प्रयासको सामना पनि उनले सफलतापूर्वक गरिन्।

बेगम खालिदा जिया

हसिनाको उपलब्धि
हसिनाको नेतृत्वमा बंगलादेशको विरोधाभाषयुक्त चित्र देखिन्छ। कुनै समय विश्वकै गरिबमध्येको मुलुकले प्रशंसनीय रूपले आर्थिक सफलता प्राप्त गर्‍यो। जसको सुरुवात उनले २००९ मा सत्ता सम्हालेपछि नै भयो।

अहिले बंगलादेश यो क्षेत्रकै तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमा पर्छ। वृद्धिदरमा त उसले छिमेकी भारतलाई समेत उछिन्यो।

गत एक दशकमा बंगलादेशको प्रतिव्यक्ति आय तीन गुणा बढ्यो। विश्व ब्यांकका अनुसार गत २० वर्षमा अढाई करोडभन्दा बढी मानिस गरिबीबाट मुक्त भएका छन्।

यो मुलुकको वृद्धिको अधिकांश हिस्सा कपडा उद्योगले ओगटेको छ। उसको समग्र निर्यातको ठूलो हिस्सा कपडा नै हो। जुन युरोप, उत्तर अमेरिका र एसियाभर पुग्छ।

आफ्नै मुलुकको स्रोतसाधनका भरमा हसिनाले ठुल्ठूला पूर्वाधार परियोजना बनाएकी छन्। जसमा झण्डै ३ अर्ब डलरको पद्मा पुल समेत पर्छ।

पछिल्लो विवाद
सत्ता हातमा लिएपछि हसिनाले भोगेको सबैभन्दा गम्भीर चुनौती थियो, हालको प्रदर्शन। त्यो पनि निकै विवादास्पद चुनावलगत्तै। 

राजीनामाको माग चर्किरहँदा उनले अटेर गरिरहिन्। आन्दोलनकारीलाई उनले ‘आतंकवादी’ भनिन् र समर्थकहरूलाई ‘कठोरतापूर्वक आतंकवादीलाई दमन गर्न’ आह्वान गरिन्।

आरक्षण खारेज गर्न माग गर्दै सुरु भएको आन्दोलन सरकारविरोधी बन्न पुग्यो।

महामारीपछि बंगलादेश महँगीसँग जुधिरहेको थियो। विदेशी मुद्रा सञ्चिति खुम्चेको थियो। विदेशी ऋण २०१६ पछि दोब्बर भएको थियो।

आलोचकहरूले उनको सरकारले कुप्रबन्ध गरेको आरोप लगाएका थिए। यसअघिको आर्थिक उन्नतिले पनि हसिनाका आसेपासे मात्र पोसिएको उनीहरूको भनाइ थियो। 

त्यस्तै, लोकतन्त्र र मानव अधिकारको मूल्यमा सो समृद्धि आएको उनीहरूको ठहर थियो। हुन पनि हसिना विपक्षी, आलोचक र सञ्चारमाध्यमप्रति असहिष्णु बन्दै गएकी थिइन्।

पछिल्ला महिनाहरूमा बीएनपीका धेरै ठूला नेता जेलमा थिए। हजारौँ राजनीतिक बन्दी छन्। 

भूराजनीतिक रूपमा हसिना सदा भारतको निकट रहिन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .