ad ad

ग्लोबल


गोले लहर चल्दा बढारिए पवन चाम्लिङ, सिक्किममा नयाँ युगको सुरुवात

गोले लहर चल्दा बढारिए पवन चाम्लिङ, सिक्किममा नयाँ युगको सुरुवात

नेपालखबर
जेठ २१, २०८१ सोमबार १८:५,

२५ वर्ष सिक्किमको शासन चलाएर एक कार्यकाल सत्ताबाहिर रहेका पवन चाम्लिङलाई यसपालिको चुनावसँग ठूलो आशा थियो। यो चुनावले आफूलाई सत्तामा फर्काइदिने अपेक्षा उनले गरेका थिए। त्यसका लागि उनले कुनै कसर छाडेका थिएनन्।

तर, आइतबार सार्वजनिक नतिजाले उनलाई निराश पारेको छ। उनकै पूर्वसहकर्मी प्रेमसिंह तामाङ (पीएस गोले) को पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले एकबाहेक सबै सिट जित्दा चाम्लिङको पार्टी सिक्किमबाट बढारिएको छ।

सिक्किम विधानसभाका ३२ मध्ये चाम्लिङको सिक्किम लोकतान्त्रिक मोर्चाले मात्र एक सिटमा चित्त बुझाउनु पर्‍यो। उसले अघिल्लोपालि जितेका १४ सिट गुमाउँदा ३१ सिट जित्दै तामाङले दोस्रो पटक मुख्यमन्त्रीको पद सुनिश्चित गरेका छन्।

यो नतिजाले धेरै मानिस चकित परेका छन्। किनकि उनले चाम्लिङको पार्टीलाई यसरी बढार्लान् भन्ने आशा कमैले गरेका थिए। किनकि चुनावअघि दुई पार्टीबीच कडा टक्कर हुने आकलन थियो।  चुनावअघि उनीहरू एकअर्काविरुद्ध आरोपप्रत्यारोपमा उत्रिएका थिए।

एसकेएमले ३२ मध्ये ३१ सिटका साथ ५८ प्रतिशत मत प्राप्त गरेको छ।

गोलेको लहर
वर्तमान मुख्यमन्त्री पीएस गोले पहिले चाम्लिङकै पार्टी एसडीएफका असन्तुष्ट नेता थिए। २०१३ मा उनले सो पार्टी छाडे। पार्टीभित्र कृपावादका विषयमा नेतृत्वसँग उनको मनमुटाव चलिरहेको थियो।

चाम्लिङलाई बुझाएको आफ्नो राजीनामा पत्रमा तामाङले पार्टी चाम्लिङको ‘निजी सम्पत्ति नभएको’ उल्लेख गरेका थिए। एसडीएफ नातावाद, कृपावाद, साम्प्रदायिकता र शोषणबाट जनतालाई बचाउन स्थापना गरिएको भन्दै उनले लेखेका थिए, ‘तर, तपाईंको नेतृत्वमा यो पार्टी तपाईंको र शोषकहरूको मात्र स्रोत बन्यो। सिक्किमे जनताप्रतिको यो अन्याय महसुस गरेर म यो राजीनामा पत्र लेख्दैछु।’

पीएस गोले

उनले चाम्लिङको शासन भ्रष्टाचारको आहालमा डुबेको आरोप लगाएका थिए।

२०१३ मा पार्टी पार्टी छाड्नुअघि पनि तामाङले चाम्लिङसँग टक्कर लिएका थिए। त्यतिबेला उनी पशुपालनमन्त्री थिए।

पार्टी छाडेपछि गठन गरेको एसकेएमबाट उनले २०१४ को चुनाव लडे। दुई सिटमा उठेका उनी एक सिटमा हारे। उनको पार्टीले १० सिट जित्यो।

२०१९ मा उनले १७ सिट जित्दै पार्टीलाई बहुमत दिलाए र चाम्लिङको शासन अन्त्य गरे। 

जितेको सिटका अलावा यो चुनावमा एसकेएमको मुख्य उपलब्धि भनेको चुनावक्षेत्रपिच्छे बढेको मत प्रतिशत हो। यो चुनावले सिक्किममा गोले लहर चलेको देखाउँछ। 

रेन्चोक क्षेत्रमा गोलेले ६४.५४ प्रतिशत मतका साथ जिते। जबकि यो क्षेत्रका बहुसंख्यक बासिन्दा उच्च जातका छन्। २०१४ मा यहाँबाट हेमेन्द्र अधिकारीले चुनाव जितेका थिए। २०१९ मा विष्णुकुमार शर्माले जितेको थिए।

त्यसैले, यसपालि गोलेले यहाँबाट उठ्ने घोषणा गर्दा उनले जोखिम मोलेको धेरैको विश्लेषण थियो। 

उनी उठेको अर्को क्षेत्र सोरेङ चाकुङमा पनि उनले ७२ प्रतिशत मत पा्रप्त गरे।

जितको कारण
२०१९ देखि २०२४ सम्म शासन गर्दा गोलेले रोजगारीको क्षेत्रमा काम गरेर जनताको मन जितेका थिए। मुख्यमन्त्रीका रुपमा उनले हजारौँ रोजगारी वितरण गरेका थिए। अस्थायी कर्मचारीलाई स्थायी गरेका थिए र स्थायी नोकरीमा भएकाहरूलाई पनि बढुवा गरेका थिए।

त्यसका अलावा, सिटिजन एक्सन पार्टी र भारतीय जनता पार्टीले पनि केही मत प्राप्त गरेका छन्। उनीहरूले मत काटेको हुनाले एसडीएफ धेरै ठाउँमा पराजित भएको आलकन पनि गरिएको छ। 

जितपछि गोलेले जनताको माया र विश्वासका कारण यति ठूलो जित हात पारेको बताए। आउँदो पाँच वर्षमा सिक्किमका जनतालाई सत प्रतिशत दिने उनको वाचा थियो। 

उनले आफ्नो पार्टीलाई बलियो बन्न सघाएको भन्दै विपक्षी चाम्लिङको पार्टीलाई पनि धन्यवाद दिए।

पवन चाम्लिङ

सिक्किममा नयाँ युग
यो चुनावले सिक्किममा पुरानो युग अन्त्य गरेको छ। जुन युग १९९४ मा सुरु भएको थियो। त्यो वर्ष चाम्लिङ सत्तामा आएका थिए। 

२०१९ मा चुनाव हारे पनि चाम्लिङको पार्टी यसरी बढारिएको थिएन। अर्को चुनावमा उनले जित्नसक्ने ठाउँ देखिएको थियो।

तर, यसपटक पार्टी मात्र हारेन, आफू उठेका दुवै सिट चाम्लिङ पनि पराजित भए। त्यो पनि एसकेएमका उम्मेदवारभन्दा २० प्रतिशत कम मत पाएर।

चाम्लिङको पार्टीबाट चुनाव जित्ने एक मात्र उम्मेदवार तेन्जिङ नोर्बु लाम्था हुन्। उनी पनि गोलेकै पार्टीका नेता थिए। चुनावमा टिकट नपाएपछि उनले दलबदल गरेका थिए।

भविष्यमा उनले पनि चाम्लिङको साथ छाडे भने आश्चर्य मान्नु पर्दैन। त्यसो भयो भने सिक्किम विपक्षीविहीन हुनेछ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .