ad ad

ग्लोबल


दोषी ठहर भएपछि ट्रम्पको साथ छाड्लान् मतदाताले?

यस्तो थियो ट्रम्पलाई लागेको मुद्दाको पृष्ठभूमि
दोषी ठहर भएपछि ट्रम्पको साथ छाड्लान् मतदाताले?

नेपालखबर
जेठ १९, २०८१ शनिबार १५:५३,

‘फिफ्थ एभेन्यु (म्यानहटनको एक सडक) मा उभिएर कसैलाई गोली हाने पनि मेरा मतदाता घट्ने छैनन्,’ २०१६ मा डोनाल्ड ट्रम्पले दाबी गरेका थिए।

हालसम्म उनको दाबी सही ठहरिँदै आएको थियो। दुई पटक महाभियोग लाग्दा, चुनाव हारेर पनि सत्तामा टिकिरहन दंगा भड्काउन खोज्दा र फ्लोरिडादेखि जर्जिया अनि वासिङ्टनदेखि न्युयोर्कसम्म अनेक आपराधिक अभियोग दर्ता हुँदा पनि उनका समर्थक घटेनन्। बरु, बढिरहे।

तर, अहिले भने इतिहासमै पहिलो पटक आपराधिक आरोपमा ट्रम्प दोषी ठहर भएका छन्। के यसले आउँदो चुनावमा कुनै असर गर्ला त? या यसलाई उनका मतदाताले यसअघिका काण्डजस्तै नजरअन्दाज गर्नेछन्?

ट्रम्प अमेरिकाका एक मात्र त्यस्ता पात्र हुन्, जसको राष्ट्रपति र अभियुक्त, दुवैका रुपमा तस्बिर खिचिएको छ। नौ घण्टाभन्दा लामो विमर्शपछि न्युयोर्कको म्यानटहटन जिल्ला अदालतको एक जुरीले उनलाई २०१६ को चुनावअघि एक पोर्नस्टारलाई मुख बन्द राख्न पैसा तिरेको विषयमा दोषी ठहर गर्‍यो। उनी ३४ वटै कसुरमा दोषी पाइए।

तर, यसबाट उनको ह्वाइट हाउसतर्फको दौड भने रोकिने छाँट देखिँदैन। 

फैसलालगत्तै ट्रम्पले आफूलाई फसाइएको दाबी गरे। ‘म पूरै निर्दोष छु,’ उनले भने। उनले विपक्षी पार्टी र न्यायाधीशको समेत आलोचना गरे।

उनले यो दोषलाई श्रीपेचजसरी लगाएर हिँड्ने संकेत दिएका छन्।

‘यो के हो जनताले बुझेका छन्। यो घोटाला हो,’ आफूलाई सहिद भन्दै ट्रम्पले भने, ‘यो सब बाइडेन र उनका मान्छेले गराएका हुन्।’

ट्रम्प पक्षधरहरूले यसलाई राजनीतिप्रेरित मुद्दा मानेका छन्। रुसलगायत मुलुकहरूले पनि ट्रम्पको समर्थनमा अभिव्यक्ति दिएका छन्।

फैसलापछि रिपब्लिकन पार्टीका नेताहरूले यसलाई न्यायको अवसानका रुपमा चित्रित गर्दै ट्रम्पको समर्थन गरेका छन्

डेमोक्र्याट पार्टीका नेताहरूले भने कानुनभन्दा माथि कोही नरहेको बताएर खुसी व्यक्त गरे। उनीहरू फैसलाबाट खुसी त छन्। तर, उनीहरूको चिन्ता घटेको छैन। 

‘कसुरदार ठहर राष्ट्रपतिका लागि तयार रहनुस्,’ ५८ वर्षीया डेमोक्र्याट जोआन मार्क्स भन्छिन्।

फैसलालगत्तै ट्रम्पको चुनावी अभियानमा चन्दाको ओइरो लागेको छ। उनका ३४ कसुरपिच्छे १०–१० लाख डलर चन्दा जम्मा भएको बताइएको छ।

फैसलापछि वालस्ट्रिटका अर्बपतिहरूको समर्थन ट्रम्पलाई नै रहने ब्लुमबर्गले जनाएको छ। ट्रम्पले धनीहरूको कर कटौती गर्ने वाचा गरेका छन्। जो बाइडेनले कर बढाउने प्रयास गर्दै आएका छन्।

राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई रोक्ने एक मात्र उपाय उनीविरुद्ध मतदान भएको बताएका छन्। तर, यो फैसलाका कारण ठूलो संख्यामा मतदाताले उनको साथ छाड्ने संकेत भने देखिँदैन।

के हो मुद्दा?
यो मुद्दा ट्रम्प र पोेर्न स्टार स्टोर्मी ड्यानियल्सबीचको शारीरिक सम्बन्धसँग सम्बन्धित छ। ड्यानियल्सका अनुसार झण्डै दुई दशकपहिले ट्रम्प र उनीबीच संसर्ग भएको थियो। 

२०१६ मा त्यसविषयलाई गुपचुप राख्न ट्रम्पका पूर्ववकिल माइकल कोहेनबाट आफूले १ लाख ३० हजार डलर रकम लिएको उनको भनाइ छ।

कोहेन पछि अनेक अभियोगमा जेल परे।

यो विषयको खुलासा २०१८ मा भयो। उनले ड्यानियल्ससँगको सम्बन्ध अस्वीकार गरे।

को हुन् ड्यानियल्स?
४५ वर्षीया ड्यानियल्सको खास नाम स्टेफेनी क्लिफोर्ड हो। लुजियानमा जन्मेकी उनी एडल्ट फिल्म अभिनेत्री हुन्। 

उनी केही हलिउड फिल्ममा समेत देखिएकी छन्।

उनले अदालतमा दिएको बयानअनुसार जुलाई २००६ मा उनले पहिलो पटक ट्रम्पलाई गल्फ प्रतियोगितामा भेटेकी थिइन्। ट्रम्पले खाना खान आफूलाई निम्त्याएको उनको भनाइ छ। आफूलाई इच्छा नभए पनि पब्लिसिस्टले उनलाई जान भनेको बयानमा उनले उल्लेख गरेकी छन्।

त्यतिबेला ट्रम्पकी पत्नी मेलानियाले भर्खरै बच्चा जन्माएकी थिइन्। उनी सो प्रतियोगितामा थिइनन्।

उनी त्यसपछि क्यालिफोर्निया र नेभाडाको बीचमा अवस्थित ताहो रिसोर्ट क्षेत्रमा ट्रम्पले बोलाएको ठाउँमा पुगिन्। सिल्क पैजामा लगाएका ट्रम्पले उनलाई ढोकामा स्वागत गरे।

त्यसपछि उनी बाथरुम गइन्। फर्केर आउँदा ट्रम्प कट्टु र टिसर्ट मात्र लगाएर ओछ्यानमा पल्टिरहेका थिए। उनीहरूले आपसी सहमतिमै यौनसम्बन्ध राखे। 

तर, त्यो घटनाले आफूलाई भ्रमित तुल्याएको उनको भनाइ छ।

धम्की र चुप लाग्न पैसा
२०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प उठे। चुनावअघि कोहेनले आफूलाई चुप लाग्न भन्दै १ लाख ३० हजार डलर दिएको ड्यानियल्सको भनाइ छ।

आफ्नो परिवारको सुरक्षालाई लिएर चिन्तित भएकाले पैसा स्वीकार गरेको उनको भनाइ छ। आफूलाई कानुनी र शारीरिक हिसाबले पनि चुप लाग्न धम्की दिइएको उनले आरोप लगाएकी छन्।

ननडिस्क्लोजर एग्रिमेन्ट गर्नका लागि कसैलाई पैसा तिर्नु गैरकानुनी होइन। तर, त्यस्तो पैसा झुटो शीर्षकमा अभिलेख गरिएको सरकारी वकिलहरूको आरोप थियो। ड्यानियल्सलाई तिरेको पैसा वकिलको कानुनी शुल्कका रुपमा ट्रम्पको खातामा अभिलेख राखिएको आरोप थियो।

सो पैसा २०१६ चुनावभन्दा केही दिनअघि मात्र ट्रान्सफर गरिएको थियो।

आफूमाथि यो विषयसमेत अरु अभियोगमा पनि मुद्दा चलेपछि कोहेनले पहिले ड्यानियल्सलाई तिरेको पैसा ट्रम्पसँग सम्बन्धित नरहेको बताएका थिए। तर, पछि उनले ट्रम्पको निर्देशनमा दिएको र आफूले ट्रम्पबाट उक्त रकम उठाएको बताए।

यसै अभियोगमा ट्रम्प दोषी ठहर भएका हुन्। उनको सजाय जुलाई ११ मा तय हुनेछ। यस्तो अपराधमा अधिकतम ४ वर्ष जेल सजाय हुनसक्छ। तर, पहिलोपटक यस्तो कसुर गर्नेलाई हम्मेसी जेल पठाउने चलन छैन।

त्यसको ३० दिनभित्र उनले पुनरावेदनको सूचना अदालतमा दर्ता गर्नुपर्नेछ। त्यसको ६ महिनामा सम्पूर्ण प्रक्रिया सकेर पुनरावेदन गर्नुपर्नेछ।एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .