ad ad

ग्लोबल


नयाँ राष्ट्रपतिले पद सम्हालेलगत्तै ताइवानमा राजनीतिक किचलो

नयाँ राष्ट्रपतिले पद सम्हालेलगत्तै ताइवानमा राजनीतिक किचलो

नेपालखबर
जेठ १२, २०८१ शनिबार १५:३२,

नयाँ राष्ट्रपतिले पद सम्हालेको हप्ता दिन नपुग्दै ताइवानमा राजनीतिक खलबली सुरु भएको छ। प्रतिपक्षले राष्ट्रपतिको अधिकार खुम्च्याएर संसदको अधिकार बढाउने कसरत सुरु गरेसँगै टापुमा ठुल्ठूला प्रदर्शन आयोजना गरिएका छन्।

राष्ट्रपति लाइ चिङ तेको पार्टी डीपीपी र विपक्षी कोमिन्ताङबीच असहमति चर्किंदै गएको छ। डीपीपीको समर्थनमा दसौँ हजार मानिस सडकमा ओर्लिएका छन्। 

नयाँ राष्ट्रपतिसँग क्रुद्ध चीनले ताइवान पूरै घेरेर सैन्य अभ्यास गरिरहँदा सो टापुमा राजनीतिक अव्यवस्था देखिएको हो।

शुक्रबार चिनियाँ जनमुक्ति सेनाले लडाकु विमान, बमवर्षक विमान र युद्धपोतहरु पठाएर ताइवानको चारैतिर सैन्य अभ्यास सुरु गरेको थियो।

शुक्रबारै कोमिन्ताङ र अलि सानो ताइवान पिपुल्स पार्टीले संसदीय सुधारका लागि भन्दै संसदबाट धेरैजसो प्रस्ताव पारित गरेका छन्। यी दुई पार्टी मिल्दा संसदमा बहुमत पुग्छ। डीपीपीले अवरोध गर्दै आएको सो प्रस्तावका थप प्रावधानहरुमा मंगलबारबाट मतदान हुनेछ। 

प्रस्तावित कानुनमा संंसदीय सुनवाइमा ढाँट्ने सरकारी अधिकारीहरुलाई एक वर्ष जेल सजायको व्यवस्था समेत छ। 

यी परिवर्तनहरुले संसदको अनुसन्धानात्मक क्षमता विस्तार गर्ने, सेनाबाट गोप्य सूचना माग्न सक्नेजस्ता जोखिम रहने भन्दै केहीले विरोध गरिरहेका छन्। 

यसैलाई लिएर दुई ठूला दलबीच किचलो देखिएको छ। सत्तारुढ डीपीपीले विपक्षीलाई चिनियाँ कम्युनिस्ट पार्टीसँग मिलेमतो गरेको आरोप लगाएको छ। 

विपक्षीले भने ताइवानमा राष्ट्रपतिको शक्तिमा कुनै लगाम नभएको बताउँदै आएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .