ad ad

ग्लोबल


सिंगापुरमा ली युगको अन्त्य, चौथो पुस्ताको हातमा नेतृत्व

सिंगापुरमा ली युगको अन्त्य, चौथो पुस्ताको हातमा नेतृत्व

नेपालखबर
जेठ २, २०८१ बुधबार १५:४५,

सिंगापुरमा लामो समय शासन गरेका प्रधानमन्त्री ली साइन लुङले सत्ता छाडेसँगै यो मुलुकको राजनीतिमा एउटा युगको अन्त्य हुने भएको छ।

२० वर्ष पदमा रहेका लीले बुधबारबाट औपचारिक रुपमा पद छाड्दै छन्। उनले सो पद उपप्रधान तथा अर्थमन्त्री लरेन्स वङलाई जिम्मा लगाउँदैछन्।

१९६५ मा स्वतन्त्र राष्ट्र बनेयता सिंगापुरमा ३ जना मात्र प्रधानमन्त्री भएका छन्। ती सबै सत्तारुढ पिपुल्स एक्सन पार्टीकै नेता हुन्।

पहिलो प्रधानमन्त्री थिए लीका पिता ली क्वान यु। जसलाई आधुनिक सिंगापुरको संस्थापक भनिन्छ। उनले उपनिवेशकालमा ६ र स्वतन्त्रतापछि २५ वर्ष गरी ३१ वर्ष मुलुकको नेतृत्व गरेका थिए।

उनका उत्तराधिकारी गो चोक तोङले पनि १४ वर्ष शासन गरे। त्यसपछि ली क्वान युका जेठा छोरा ली साइन लुङ प्रधानमन्त्री बनेका थिए। 

प्रधानमन्त्रीबाट हटेपछि पनि ली मन्त्रीका रुपमा क्याबिनेटमा रहनेछन्। तथापि, यो शक्ति हस्तान्तरणले सिंगापुरको राजनीति ली परिवारको छायाबाट मुक्त हुने विश्लेषण गरिँदैछ।

प्रधानमन्त्रीका रुपमा आफ्नो अन्तिम अन्तर्वार्तामा लीले समर्थनका लागि सिंगापुरवासीलाई धन्यवाद दिए।

‘म सबैलाई उछिनेर अगाडि दौडिन खोजिनँ। मैले सबैलाई आफूसँगै दौडाउन खाजेँ,’ उनले भनेका छन्, ‘र, मलाई लाग्छ, हामी केही सफल भयौँ।’

आफ्ना पिता र गो चोक तोङभन्दा अलग तरिकाले आफूले काम गर्न खोजेको उनको भनाइ छ।

पिता ली सत्तामा हुँदै १९८४ मा उनी राजनीति प्रवेश गरेका थिए। प्रधानमन्त्री गोको पालामा उनको बढुवा भयो र २००४ मा उनले सत्ताको बागडोर सम्हाले।

सुरुवाती वर्षहरुमा उनको कडा निगरानी र आलोचना भयो। आलोचकहरुले परिवारवादको आरोप लगाए र राजनीतिक वंश सिर्जना गर्न खोजेको बताए। जसलाई लीले अस्वीकार गरे। सिंगापुरबासीहरु गुपचुप मजाक गर्थे, ‘फ्यामि–ली राजनीति’ र ‘बाउ, छोरा र पवित्र गो’ को त्रिशंकु।

तर, दुई दशक सत्तामा रहेपछि ली आफ्नो छाप छाड्न सफल भएका छन्।

उनको नेतृत्वमा सिंगापुरको अर्थतन्त्र विविधीकरण हुनुका साथै वृद्धि पनि भयो। र, यो टापु एउटा अन्तर्राष्ट्रिय वित्तीय शक्ति तथा प्रमुख पर्यटकीय गन्तव्य बन्न पुग्यो। गत २० वर्षमा प्रतिव्यक्ति आय दोब्बरभन्दा बढी बनेको छ। वित्तीय संकट, कोभिड महामारीजस्ता अनेकौँ मन्दीहरुलाई पनि लीको सरकारले सहज पार ग¥यो।

अन्तर्राष्ट्रिय भूराजनीतिमा पनि अमेरिका र चीनबीच महाशक्ति प्रतिस्पर्धा चर्किंदै गर्दा लीले सिंगापुरलाई दुवै देशबीच होसियारीपूर्वक सन्तुलन कायम गरे। उनको सरकारले समलैंगिक यौनसम्बन्धलाई प्रतिबन्ध लगाउने कानुन हटायो। तथापि वाक् स्वतन्त्रतामा अझै कडा प्रतिबन्ध छ।

आफ्नो पारिवारिक विरासत र बौद्धिक छविका कारण अधिकांश देशवासीले उनलाई मन पराए। तर, उनी विवाद र आलोचनाबाट टाढा रहेनन्। 

सन् २००० को दशकमा श्रमिक अभाव पूर्ति गर्न ठूलो संख्यामा आप्रवासी ल्याउने सरकारको निर्णयले गहिरो असन्तुष्टि निम्त्यायो। मुलुक जति धनी बन्दै गयो, सामाजिक असमानता उति बढ्यो र आम्दानीको अन्तर पनि बढ्यो। जसका कारण २०११ र २०२० मा उनको पार्टीले पहिलेको तुलनामा कम मत पायो।

‘लीको शासनको प्रमुख विरासत भनेको उनले अर्थतन्त्रलाई तीव्रगतिमा अघि बढाए,’ सिंगापुरको शासन व्यवस्थाका विज्ञ डोनाल्ड लु भन्छन्।

कतिपयले हाउजिङजस्ता समस्याको दीर्घकालीन समाधान उनले नखोजेको आरोप लगाउँछन्। पछिल्लो समय सरकारले यी मुद्दाहरुको पहिचान गरेर आप्रवासी आगमनमा कडाइ गरेको छ।

व्यक्तिगत कुरा गर्दा ली क्वान युको निधनको एक वर्षपछि २०१६ मा परिवारको विवाद छताछुल्ल भयो– उनको घरको स्वामित्व कसले पाउने भन्ने विषयमा। प्रधानमन्त्री लीले सार्वजनिक रुपमा आफ्ना सहोदरहरुसँग आरोपप्रत्यारोप गरे। 

एक विन्दुमा उनका सहोदरहरुले उनी ‘बेइमान छोरा’ भएको आरोप समेत लगाए। उनले अख्तियार दुरुपयोग गरेर आफूहरुलाई दबाउन खोजेको उनीहरुको आरोप थियो। उनका एक भाइसहित परिवारका केही सदस्य आफूहरुमाथि उत्पीडन भएको भन्दै स्वघोषित निर्वासनमा बसेका छन्।

लीले यी सबै आरोप अस्वीकार गरेका छन्। उनले आफ्ना छोराछोरी राजनीतिमा आउन अनिच्छुक रहेको पनि बताएका छन्।

चौथो प्रधानमन्त्री
लीले अब वङलाई सत्ता सुम्पिँदैछन्। वङ अर्थशास्त्री र सरकारी कर्मचारी हुन्। कुनै समय उनी लीको प्रमुख स्वकीय सचिव पनि थिए।

यो वङका लागि मात्र होइन, सिंगापुरका लागि पनि बिल्कुल नयाँ अनुभव हो। राष्ट्रको ५९ वर्षको इतिहासमा ४५ वर्ष नेताका रुपमा ली थर भएका व्यक्ति थिए। 

‘वङ त्यस्तो प्रधानमन्त्री हुन्, जोपछि सिंगापुरको नेतृत्व फेरि लीको हातमा जानेछैन। यसले सिंगापुरलाई अझ स्वाभाविक लोकतन्त्र बन्ने मौका दिनेछ,’ लु भन्छन्।

वङको पार्टीले दुई वर्षअघि नै उनलाई उपप्रधानमन्त्री बनाएर उनी लीको उत्तराधिकारी हुने निश्चित गरेको थियो।

तर, सुरुमा उनी पहिलो रोजाइमा थिएनन्। एक दशकभन्दा अघि चौथो पुस्ताका नेताहरुले राजकीय पद सम्हाल्दैगर्दा वङलाई देखेर धेरै छक्क परेका थिए।

अर्का मन्त्री हेङ स्वी किट प्रधानमन्त्री बन्ने बताइएको थियो। तर, उमेर र स्वास्थ्यको कारण देखाउँदै उनी पछि हटे।

महामारी सुरु भएपछि स्पष्ट भयो, वङ यो पुस्ताको नेता बन्नेछन्। उनी सरकारी टास्कफोर्सको नेता भए, हप्तैपिच्छे पत्रकार सम्मेलनमा देखिएर सिंगापुरवासीमाझ परिचित भए।

उनका समर्थक र स्थानीय सञ्चारमाध्यम उनलाई आम मानिसका रुपमा चित्रित गर्छन्। जो सार्वजनिक हाउजिङमा हुर्किएका हुन्। त्यस्तै उनी स्थानीय साधारण स्कुलमा पढ्ने पहिलो प्रधानमन्त्री पनि बन्दैछन्।

उनले एकताको सन्देश दिँदै आएका छन्। विदेशनीतिमा पनि सिंगापुर कुनै महाशक्तिको पक्षमा नलाग्ने स्पष्ट पारेका छन्।

त्यसैले, उनले पुरानै नीतिहरुलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .