ad ad

ग्लोबल


दोहोरो त्रासदीपछि धर्मराएको मलेसिया एयरलाइन्स १० वर्षपछि यसरी फर्कियो लयमा

दोहोरो त्रासदीपछि धर्मराएको मलेसिया एयरलाइन्स १० वर्षपछि यसरी फर्कियो लयमा

नेपालखबर
चैत १, २०८० बिहिबार १६:३५,

१० वर्षअघि दोहोरो विपत्तिमा परेर मलेसिया एयरलाइन्स डुब्ने स्थितिमा पुगेको थियो।

क्वालालम्पुरबाट २३९ यात्रु बोकेर बेइजिङ उडेको उडान एमएच३७० हिन्द महासागरमा बेपत्ता भयो। ८ मार्च २०१४ का दिन। त्यसपछि उडान इतिहासमै सबैभन्दा ठूलो विमान खोजी सुरु भयो, करोडौँ डलर खर्चेर। तर, विमान भेटिएन।

यो त्रासदीसँग जुधिरहेकै बेला त्यही साल जुलाईमा एमएच१७ युक्रेनमाथि रुससमर्थित सशस्त्र समूहको क्षेप्यास्त्र आक्रमणमा पर्‍यो। २८३ यात्रु र १५ चालक दलका सदस्य सबै मारिए।

त्यो दिन सो युद्ध क्षेत्रको आकाशबाट १६० वटा विमान उडेका थिए। तर, क्षेप्यास्त्र एमएच१७ लाई नै लाग्यो। 

एउटै एयरलाइनले पाँच महिनाको अवधिमा दुई वटा यात्रुवाहक विमान गुमाएको घटना त्यसअघि कहिल्यै भएको थिएन। 

धेरैले यो घटनालाई मलेसिया एयरलाइन्समाथिको श्रापका रुपमा हेरे। किनभने त्यसअघि ७० वर्षदेखि यो एयरलाइन बिनाकुनै ठूलो दुर्घटना चलिरहेको थियो।

यो एयरलाइन्सले लामो समयदेखि उत्कृष्ट सुरक्षाको रेकर्ड राखेको थियो। आफ्नो सेवाका लागि अवार्डहरू पनि जितेको थियो। क्वालालम्पुरबाट विश्वभर उडान भर्ने विमानको संख्या धेरै थियो।

तर, २०१४ का यी विपत्तिपछि यात्रु घट्न थाले। तिनले अरु एयरलाइन्स रोज्न थाले। त्यतिबेला लामो दुरीका उडानहरू लगभग खाली हुन्थे।

तर, गत वर्ष एक दशकपछि पहिलो पटक कम्पनी नाफामा जाने देखिएको यसका प्रमुख कार्यकारीले बताए।

कयौँ गन्तव्यको उडान कटौतीले खर्च कम भएको र सुरक्षामा जोड दिएर कम्पनीको रिब्रान्डिङ गर्दा ग्राहक फर्केको विश्लेषकहरूको भनाइ छ।

‘अहिले यो एयरलाइन्स पहिलेभन्दा सानो र एकदम केन्द्रित कम्पनी बनेको छ। केही हदसम्म कम्पनीको महत्वाकांक्षा पनि घटेको छ,’ उडान उद्योगका जानकार ग्रेग वाल्ड्रन भन्छन्।

आज मलेसिया एयरलाइन्स हरेक वर्ष दसौँ लाख यात्रु बोकेर संसारभर पुगिरहेकै छ। 

मलेसियाले गरेको उद्धार
दोस्रो विपत्तिलगत्तै उद्धारमा मलेसियाली सरकारले अग्रसरता देखायो। त्यतिबेला यो एयरलाइन्स मलेसियाको राष्ट्रिय ध्वजवाहक थियो। जसका २० हजारभन्दा बढी कर्मचारी थिए। लगत्तै यसको सेयर मूल्यमा गिरावट आएको थियो।

सहयोगका लागि सरकारी कोष खजाना नेसनल अघि सर्‍यो। त्यसबेला कम्पनीको ६९ प्रतिशत सेयर सरकारकै स्वामित्वमा थियो।

एमएच१७ खसाइएको एक महिनापछि सरकारले सबै सेयर किन्यो, स्टक एक्स्चेन्जबाट यसलाई निकाल्यो। नयाँ कम्पनी बनायो र पुरानो कम्पनी टाट उल्टेको घोषणा गर्‍यो।

कम्पनी बचाउन सरकारले चालेको पहिलो कदम थियो– मलेसिया एयरलाइन्सको पूर्ण राष्ट्रियकरण। 

‘राष्ट्रिय आइकनको पुनर्निर्माण’ नाम दिइएको सरकारी योजना अन्तर्गत टिकट मूल्य घटाइयो। २०१४ अघि नै एयरलाइन्सले उत्तर र दक्षिण अमेरिका र दक्षिण अफ्रिकालगायत नाफा नहुने लामा उडानमार्ग कटौती गर्न थालेको थियो। 

२०१४ पछि न्युयोर्क, स्टकहोमसम्मको उडान पनि कटौती गरियो। त्यस्तै लन्डनबाहेक युरोपेली गन्तव्य समेत बन्द गरियो।

आज युरोपमा मलेसिया एयरलाइन्सको एकमात्र गन्तव्य हिथ्रो विमानस्थल हो। र, यो उसको पैसा कमाउने प्रमुख रुट पनि हो। 

पछिल्ला केही वर्षमा त क्वालालम्पुरबाट लन्डनसम्म लगातार उडान जारी राख्ने एउटा मात्र एयरलाइन्स यही हो। ब्रिटिस एयरवेजले कोभिडकालमा यो मार्गमा उडान रोकेको थियो।

‘यस्तो प्रमुख रुटमा एकाधिकार भएपछि एयरलाइन्सले तुरुन्त उड्नुपर्ने तर टिकट मूल्यको वास्ता नगर्ने मानिसहरूबाट धेरै पैसा लिन सक्छ,’ विश्लेषक ब्रायन समर्स भन्छन्।

कोभिडका बेला विश्वभर उडान बन्द भएको मौकाको फाइदा पनि कम्पनीले लियो। त्यसबेला उसले ऋणको भाका पछि सार्‍यो भने उडान पनि जारी राख्यो। कोभिडमा फसेकाहरूलाई युरोपबाट एसिया फर्काउने प्रमुख एयरलाइन्स यही थियो।

एसिया र युरोपका अन्य एयरलाइन्सले महामारीका समयमा विमान थन्क्याए। त्यसैले माग ह्वात्त बढ्दाको अवस्थाका लागि ती तयार थिएनन्।

अर्कोतिर, मलेसिया एयरलाइन्सले भने सीमा खुल्नेबित्तिकै बजारमा पकड बनायो र ठूलो फाइदा लियो।

एसिया–प्रशान्त क्षेत्र विश्वमै सबैभन्दा व्यस्त उडान मार्ग हो। विश्वका शीर्ष १० अन्तर्राष्ट्रिय मार्गमध्ये ७ यही क्षेत्रमा पर्छन्। सबैभन्दा धेरैले यात्रा गर्ने मार्ग हो– क्वालालम्पुरबाट सिंगापुर।

गत वर्ष मात्र यो मार्गमा ४९ लाख टिकट बेचिएको थियो।

आज मलेसिया एयरलाइन्सलाई मध्यम दर्जाको एयरलाइन्स मानिन्छ, जसको मुख्य ध्यान ओसेनिया, एसिया र बेलायतमा छ।

‘मलेसियाली सरकारको सहयोगमा उनीहरू चलिरहन सफल भएका छन्। आधुनिक विमानका साथमा उनीहरू आफ्नो व्यवस्थापन गर्न सक्षम देखिन्छन्,’ विश्लेषक एलिस टेलर भन्छन्।

धारणा बदल्ने प्रयास
एयरलाइन्सको तरिकाले काम गरेको देखिन्छ। त्यस्तै, थुप्रै अन्तर्राष्ट्रिय उडान गरेका यात्रुका लागि कम्पनीको अतीतभन्दा व्यावहारिक सहजता प्रमुख हुने देखिन्छ।

‘टिकट किन्न लागेका मान्छेको मुख्य ध्यान निश्चय नै एमएच३७० र अन्य दुर्घटनाहरूमा हुँदैन,’ वाल्ड्रन भन्छन्, ‘सामान्यतः ती मूल्यमा हेरिरहेका हुन्छन्। तर, सुविधाले पनि भूमिका खेल्छ।’

अस्ट्रेलियाकी हाना ब्ल्याकिस्टनका हकमा पनि यही भयो। २०२२ को अन्तिममा लन्डनबाट एडिलेड उड्ने विमान उनले मलेसिया एयरलाइन्सबाहेक कुनै भेट्टाइनन्।

‘त्यसबारे नसोची मैले टिकट बुक गरेँ। किनभने टिकट सस्तो थियो र म बिरामी बुबालाई भेट्न फर्किंदै थिएँ,’ उनले भनिन्।

तर, आफ्नी आमा भने बढी चिन्तित भएको उनको भनाइ छ। यात्रा रमाइलो रहेको र सेवा पनि राम्रो भएको उनले बताइन्।

अस्ट्रेलियाली डाक्टर अब्दुल्लाह नाजी अहिले मलेसियाको पेनाङमा बस्छन्। आन्तरिक उडानमा उनी यही एयरलाइनमा चढ्छन्।

तर, एयरलाइन्सले अपनाएका सुरक्षा उपायहरूबाट आफू प्रभावित भएको उनको भनाइ छ।

‘स्थानीयले यसलाई राष्ट्रिय गौरव मान्ने गर्छन्। उनीहरूमा राष्ट्रिय एकताको भावना देखिन्छ,’ उनी भन्छन्।

विश्लेषकहरूका अनुसार कटिबद्ध मलेसियाली ग्राहकहरूका कारण एयरलाइन टिक्न सक्यो।

‘ठूला राष्ट्रिय एयरलाइन्सहरू प्रलयकै माझ पनि हत्तपत्त टाट पल्टिँदैनन्,’ समर्स भन्छन्। 

तर, यस्तो नाता नहुनेहरूलाई भने मलेसिया एयरलाइन्स ब्रान्डसँग जोडिएको त्रासदीले अझै तर्साइरहन्छ।

एक महिलाले आफू मलेसिया एयरलाइन्समा चढेको छु भन्ने थाहा भएपछि केही बेर आत्तिएको बताइन्।

‘पहिले म पनि विमान चढ्दा निकै सचेत हुने गर्थेँ,’ नाजी भन्छन्, ‘अहिले केही पटक उडिसकेपछि मलाई त्यस्तो केही लाग्दैन।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .