ad ad

ग्लोबल


एकपछि अर्को हार बेहोर्दै बर्मेली सेना, भिक्षुहरुले छाड्दैछन् साथ

एकपछि अर्को हार बेहोर्दै बर्मेली सेना, भिक्षुहरुले छाड्दैछन् साथ

नेपालखबर
माघ १५, २०८० सोमबार १८:२१,

गतसाता सयौँ मानिसहरु म्यानमारको लोकप्रिय पहाडी सहर प्यिन ऊ ल्विनको मुख्य चोकमा भेला भएका थिए। उनीहरु चस्मा लगाएका एक भिक्षुको कुरा सुनिरहेका थिए। जो अचम्मलाग्दो सुझाव दिइरहेका थिए।

उनी मुलुकका सैनिक शासक मिन आङ लाइङले सत्ता छाड्नुपर्ने र उनका सहयोगी जर्नेल सोए विनले सत्ता सम्हाल्नुपर्ने बताइरहेका थिए।

मिन आङ लाइङले २०२१ मा आङ सान सूकीको निर्वाचित सरकारविरुद्ध कू गरेर गृहयुद्ध सुरु गरेका थिए। उनले अहिले अनेकौँ अन्तर्राष्ट्रिय प्रतिबन्ध सामना गरिरहेका छन् भने म्यानमारको अधिकांश जनता उनलाई घृणा गर्छन्।

तर, उनको यो पछिल्लो आलोचना भने कसैले नसोचेका मानिसले गरिरहेका छन्। उनी हुन्, भिक्षु पाउक को तअ। यी उग्रराष्ट्रवादी बौद्ध धर्मगुरुले हालसम्म सैन्य जुन्ता सरकारको जोडदार समर्थन गर्दै आएका थिए।

तर, जातीय लडाकु समूहहरुसँग एकपछि अर्को सेनाको हारको शृंखलाले सैन्य शासकका कुनै समयका समर्थकहरु पनि सोच्न बाध्य भएका छन्।

‘सोए विनको अनुहार हेर्नुस्,’ भिक्षु पाउक को तअले भिडलाई भने, ‘यो वास्तविक सैनिकको अनुहार हो। मिन आङ लाइङले थेग्न सकेनन्। उनी हट्नुपर्छ।’

यी भिक्षुलाई सेनाभित्रबाट कस्तो समर्थन छ, स्पष्ट छैन। तर, उनको टिप्पणी सैन्य सत्ताका अन्य समर्थकको जस्तै छ। जो विद्रोहीविरुद्ध सेना असफल भएकाले झनझन् निराश हुँदै गएका छन्। 

त्यसमाथि उनले भाषण दिएको ठाउँ झनै महत्वपूर्ण छ। यो ठाउँमा प्रतिष्ठित डिफेन्स सर्भिस एकेडेमी छ। जहाँ सेनाका उच्च पदस्थहरुले तालिम लिन्छन्। तिनलाई स्पष्ट थाहा छ– अब तिनका धेरै मित्र बाँकी छैनन्।

सेना र भिक्षुहरुबीचको गठबन्धन नयाँ होइन। बर्मेली भिक्षुहरु प्रायः राजनीतिमा संलग्न भइरहन्छन्। ज्यादाजसो सत्ताविरुद्ध। १९३० को दशकमा बेलायती उपनिवेशको विरोधदेखि १९८८ र २००७ मा सैनिक शासनको विरोधसम्म। कतिले त चीवर फुकालेर बन्दुक समेत बोके।

तर, केहीले जर्नेलहरुसँग मिलेर काम गरे। बौद्ध धर्म र बर्मेली संस्कृति दुवैलाई जोगाउनुपर्ने तिनको विश्वास थियो।

२०१२ मा राखिन राज्यमा रोहिंग्याहरुसँगको भिडन्तपछि एक लडाकु भिक्षुले जात र धर्मको रक्षाका लागि भन्दै आन्दोलन नै सुरु गरे। जसले मुस्लिमहरुको व्यवसाय बहिष्कार गर्ने, बर्मेली बौद्ध धर्म संकटमा रहेको दाबी गर्ने गर्थ्यो। तर मुस्लिमहरुको संख्या ८ प्रतिशत मात्र छ। 

ती भिक्षु जेल पनि परे। तर, २०२१ मा उनलाई निकालेर वर्तमान शासकले सम्मान र पैसा दुवै दियो।

फेब्रुअरी २०२१ मा मिन आङ लाइङले गरेको कुको चर्को विरोध भयो। विरोधलाई दमन गरियो। त्यसयता उनी आफूलाई बौद्ध धर्मका प्रणेतका रुपमा स्थापित गर्न भरमग्दुर कोसिस गरिरहेका छन्।

त्यसैले थुप्रै भिक्षुहरु सेनालाई सघाइरहेका छन्। कतिपयले त विद्रोहीहरुसँग लड्न मिलिसिया नै खडा गरेका छन्। चीवर लगाएका भिक्षुहरुले राइफल पड्काइरहेका दृश्य सामाजिक सञ्जालमा देखिन्छन्।

पछि हट्दै सेना
पछिल्ला लडाइँहरुमा सेनाको लज्जास्पद पराजयले उसका समर्थकहरुको मनमा द्विविधा पैदा गरिदिएको छ। एक चर्चित ब्लगरले हालै मिन आङ लाइङलाई असक्षम भने। 

उत्तरी सान राज्यमा ठूलो क्षेत्र विद्रोहीहरुले कब्जा गरेका छन्। गत अक्टोबरमा उनीहरुले सो कारबाही सुर गरेका थिए। जसका क्रममा हजारौँ सेनाले विद्रोहीसामु आत्मसमर्पण गरेका छन्। हतियार र सरसामानसहित।

यो वर्ष पनि सेना पछि हटिरहेको छ। अर्कोतिर बंगलादेशको सीमानजिक विद्रोहीको अर्को समूहले कयौँ सैन्य शिविर कब्जा गरेको छ।

तिनले हात बाँधिएका सरकारी सैनिक र तीबाट कब्जा गरिएको हतियारको भिडिओ सार्वजनिक गरेका छन्। 

एम्बुसबाट जोगिन नसकेपछि सैनिकहरु ब्यारेकमा आपूर्ति र रक्षाका लागि सीमित संख्यामा रहेको हेलिकोप्टरमा निर्भर छन्। जसले गैरसैनिकहरुको मृत्युको संख्या बढाएको छ। कचिन राज्यका विद्रोहीहरुले यही महिना एउटा हेलिकोप्टर र एउटा जेट खसाएको बताएका छन्।

कब्जमा परेका कतिपय सैनिकहरु अनुभवहीन देखिएका छन्। ती आफ्नो शिविरमा परिवारसहित बसेका थिए। यसले पनि उनीहरु तयार नरहेको देखाउँछ।

सैयौँ सैनिकहरु भागेर भारत पुगे। हजारौँले बिनालडाइँ आत्मसमर्पण गरेका छन्। सान राज्यमा ६ जना जर्नेल पराजित भइसकेका छन्। विद्रोहीको कब्जामा परेका उनीहरुले तीसँग टोस्ट गरिरहेको तस्बिर सार्वजनिक भएका छन्। तिनलाई मुक्त गरेपछि ६ मध्ये ३ जनालाई मृत्युदण्ड तोकिएको छ भने अन्य ३ जनालाई जन्मकैद। 

विद्रोहीविरुद्धको बर्मेली सेनाको लडाइँको ७५ वर्षे इतिहासमा यो अभूतपूर्व पराजय हो। 

तर, आफ्ना सैनिक हारिरहे पनि र समर्थकहरु विरोधीमा बदलिए पनि मिन आङ लाइङले पछि हट्ने कुनै संकेत देखाएका छैनन्। बरु उनी राजाजसरी समारोहरुमा सामेल भइरहेका छन्। भिक्षुले समर्थन गरेका जर्नेल सोए विन पनि नेतृत्व लिन इच्छुक देखिएका छैनन्।

मिन आङ लाइङले सम्भावित प्रतिस्पर्धीलाई छेउ लगाउने गरेका छन्।

उनले आत्मविश्वासका कारण यसो गरेका हुन् वा यथार्थ जानकारीको अभावमा, स्पष्ट छैन। तर, गएको तीन महिनामा जस्तै हार अब सेनाले थेग्न सक्दैन। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .