ग्लोबल


बाइडेन संयुक्त राष्ट्र सङ्घको महासभामा जाने : ह्वाइट हाउस

बाइडेन संयुक्त राष्ट्र सङ्घको महासभामा जाने : ह्वाइट हाउस

नेपालखबर
भदौ २६, २०८० मंगलबार २१:५१, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने र विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्ने ह्वाइट हाउसले मङ्गलबार जनाएको छ।

युक्रेनमा रूसको युद्धले संयुक्त राष्ट्रसङ्घको वार्षिक मञ्चमा पुनः प्रभुत्व जमाउने अपेक्षा गरिएको छ, जहाँ राष्ट्रहरूले गत वर्ष मस्कोले देशको केही भागहरू कब्जा गरेको विरोधमा मतदान गरेका थिए।

संयुक्त राष्ट्रसङ्घको बैठकमा दुई दिने बसाइको पहिलो दिन सेप्टेम्बर १९ मा बाइडेनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सचिव करिन ज्याँ पियरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराको सामना गर्न, विश्वव्यापी समृद्धिलाई अगाडि बढाउन र मानव अधिकारको रक्षा गर्न सहयोगका लागि विश्वका नेताहरूसँग पनि भेटवार्ता गर्ने बताएका छन्।

गत वर्ष संयुक्त राष्ट्रसङ्घको महासभामा बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘निर्लज्जतापूर्वक’ संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन गरेको आरोप लगाएका थिए।

ह्वाइट हाउसले यो वर्ष बाइडेनले कुन नेतालाई भेट्ने छन् भन्नेबारे केही बताएको छैन।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू पनि संयुक्त राज्य अमेरिकाको भ्रमणको एक भागको रूपमा अर्को हप्ता संयुक्त राष्ट्र सङ्घको महासभामा उपस्थित हुनेछन्, यद्यपि इजरायली अधिकारीहरूले बाइडनलाई भेट्ने कुनै योजना नरहेको बताएका छन्।

नेतन्याहूको कट्टर दक्षिणपन्थी सरकारले अघि बढाइरहेको न्यायिक सुधारको बाइडेनले आलोचना गरेपछि नेतन्याहू र बाइडनबीचको सम्बन्ध गत वर्ष इजरायली राष्ट्रपतिमा पुनः निर्वाचित भएदेखि नै तनावपूर्ण बनेको छ।

जुलाईमा ह्वाइट हाउसले बाइडेन र नेतन्याहूबीच यसै वर्षको अन्त्यमा संयुक्त राज्य अमेरिकामा भेटवार्ता हुने बताएको थियो। (रासस/सिन्ह्वा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad