ad ad

ग्लोबल


मोरक्को भूकम्प : दुई हजारभन्दा बढीको मृत्यु, फ्रान्सेली सहयोग अस्वीकार

मोरक्को भूकम्प : दुई हजारभन्दा बढीको मृत्यु, फ्रान्सेली सहयोग अस्वीकार

नेपालखबर
भदौ २५, २०८० सोमबार २१:५८, काठमाडौँ

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ। सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ। 

गत शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार चार सय ९७ जनाको मृत्यु भएको तथा दुई हजार चार सय ७६ जना घाइते भएका छन्। 

गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार चार सय जनाको अवस्था गम्भीर छ। भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ।

भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा उद्धार तथा राहत सामग्री पु¥याउन कठिन भएको छ। सडक अवरुद्ध हुँदा विशाल यन्त्र लैजान नसकिएको उद्धारर्मीहरूले बताएका छन्।

यद्यपि अन्य प्रभावित स्थलमा युद्धस्तरमा राहत सामग्रीसहितका टोली परिचालन भएका छन्। अन्तरराष्ट्रिय रेडक्रस, रेडक्रिसेन्ट, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा केही स्वदेशी परोपकारी संस्था राहत सामग्री लिएर भूकम्प प्रभावित भेगमा पुगेका छन्।

खोज तथा उद्धारका काम युद्धस्तरमा  भइरहेका छन्। सरकारले सबै सामाजिक सङ्घसंस्थालाई सहायताका निम्ति आह्वान गरको छ। 

यसैबीच, मोरक्कोले फ्रान्सेली सहयोग अस्वीकार गरेको छ। मोरक्कोले कठिन समयमा पनि आफ्नो पुरानो शासकबाट सहायता अस्वीकार गर्नु कूटनीतिक रूपमा कठोर सन्देश दिएको विश्लेषकहरूले बताएका छन्। 

मोरक्कोले बेलायत, कतार, स्पेन र संयुक्त अरब इमिरेट्सबाट सहायताको अपेक्षा गरेको छ। अमेरिका पनि रबातको सहायता माग गर्ने देशको सूचीमा नहुनु आश्चर्यजनक भएको उनीहरूको टिप्पणी छ।

फ्रान्सले परिचालन गर्न खोजेको सहायता सामग्री पेरिसमा नै थन्किएको फ्रान्सेली आपत्कालीन सहायता सङ्गठनका प्रमुख अर्नाउड फ्रेसेले बताएका छन्। 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले मोरक्कोसँग सम्बन्ध सुधार गर्न चाहेको बताइएको छ। उनले तत्काल मोरक्को भ्रमण गर्ने इच्छासमेत व्यक्त गरेका भन् तर पेरिसमा मोरक्कोका राजदूत नहुँदा विलम्ब भएको छ। 

मोरक्कोले मानवीय सहायता सामग्री अस्वीकार गरेकामा केही फ्रान्सेली संस्थाले मानवता ‘कूटनीतिक स्वार्थ’बाट प्रेरित हुन नहुने टिप्पणी गरेका छन्।  (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .