ad ad

ग्लोबल


किन न्युयोर्क टाइम्सझैँ टिक्न सकेनन् बजफिडजस्ता डिजिटल न्युज मिडिया?

किन न्युयोर्क टाइम्सझैँ टिक्न सकेनन् बजफिडजस्ता डिजिटल न्युज मिडिया?

जिल अब्रामसन
बैशाख २३, २०८० शनिबार १९:२६,

द न्युयोर्क टाइम्सका मेरा अन्तिम दिनहरुमा भाइस, बजफिडजस्ता नयाँ डिजिटल न्युज स्टार्टअपहरुले हामीजस्ता पुराना, लामो विरासत भएका समाचार संस्थाहरुलाई पछाडि पार्न सम्भव छजस्तो लाग्थ्यो। ‘द ग्रे लेडी’ भनिने टाइम्स आफ्नै उमेरजस्तै वृद्ध देखिन्थी। र, सामाजिक सञ्जालको युगमा ऊ ठेस लागेर ढुन्मुनिन थालेकी थिई। पंक म्यागेजिनका रुपमा क्यानडाको मन्टरियलबाट उदाएको भाइसका युट्युबमा अनेक च्यानल थिए। उसले अचानक एचबीओसँग उत्पादन सम्झौता गरेको थियो। कम्तीमा एउटा केबल टेलिभिजन च्यानल चलाएको थियो र प्रतिष्ठित पिबडिज् अवार्ड जितिरहेको थियो। एक समय यसको मूल्य ६ अर्ब डलर पुगेको बताउन थालिएको थियो। 

बजफिडले अनेक प्रकारका भाइरल सामग्रीका साथ गज्जबको अनुसन्धानात्मक रिपोर्टिङ युनिट निर्माण गर्न थालेको थियो। यी दुवै कम्पनीका ठूला र युवा दर्शक/पाठक थिए। जो, विज्ञापनदाताहरुको निसानामा थिए। अचानक यी नयाँ डिजिटल नवागन्तुकहरुले हाम्रो भाग खोस्ने जोखिम देखिन्थ्यो।

समाचार व्यवसायमा भाग्यमा उलटफेर हुनु असामान्य होइन। तर, पछिल्ला केही सातामै भाइस टाट पल्टिएको र बजफिडले आफ्नो सामाचार विभाग बन्द गरेको देख्दा आश्चर्य लागेको छ। यहीबेला द न्युयोर्क टाइम्सले भने पेइङ सब्स्क्राइबर एक करोड पुर्‍याउने लक्ष्य एक वर्षअघि नै पुरा गरेको छ। त्यो संख्या २०२७ को अन्त्यसम्ममा डेढ करोड पुर्‍याउने उसको लक्ष्य छ। जुन टाइम्सको विशाल न्युजरुम सञ्चालन खर्च धान्न पर्याप्त छ। जबकि दि एटलान्टिकले (२००९ मा) टाइम्स चाँडै टाट पल्टिने भविष्यवाणी गरेको धेरै भएकै छैन।

आखिर के भयो त?

विज्ञापनमा भर पर्नु गलत दाउ साबित भयो। अल्गोरिदम परिवर्तनसँगै फेसबुक र गुगलले भाइस र बजफिडको ठूलो दर्शक संख्या कटौती गरिदियो। त्यसमाथि डिजिटल विज्ञापनको ठूलो हिस्सा पनि खाइदियो। भिजिटरको विशाल संख्या नहुँदा विज्ञापनदाताहरु अन्यत्र लागे। तिनले ब्रान्डको विज्ञापनमा दसौँ लाख खर्च नगर्ने भए, जबकि भाइस र बजफिडको आम्दानी नै त्यही थियो। भाइस र बजफिडले बेलाबेलामा पस्किने स्कुपका लागि तिनका युवा दर्शक/पाठक पैसा तिर्न इच्छुक थिएनन्। समाचार संकलनको काम भाइस र बजफिडका सहसंस्थापकहरु क्रमशः सेन स्मिथ र जोना पेरेटीले सोचेभन्दा धेरै महंगो साबित भयो। 

न्युयोर्क टाइम्सका न्युज रिपोर्टहरुको गहिराइ र विस्तारको गुणस्तर विलक्षण रहँदै आएको छ। यसका पूर्व कार्यकारी सम्पादक हावेल रेन्स प्रायः भन्ने गर्थे, यदि टाइम्स बन्द भयो भने यसलाई कसैले पनि फेरि बनाउन सक्दैन। अर्कोतिर, यो कम्पनीको आर्थिक सुरक्षाको महत्वपूर्ण आधार पाठकबाट हुने आम्दानी हो। भाइस र बजफिडसँग त्यो सुरक्षित आधार कहिल्यै थिएन। र, त्यो नहुँदा उनीहरु धर्मराए। 

उनीहरुले लगानीकर्ताहरुबाट धेरै पैसा लिएका थिए। ट्वेन्टी फर्स्ट सेन्चुरी फक्सले भाइसमा ७ करोड डलर खर्चेको थियो। पछि जेम्स मर्डोकले सेयर किनेका थिए। एनबीसी युनिभर्सलले बजफिडमा ४० करोड डलर खन्याएको थियो। अविश्वसनीय कुरा त एक पटक डिज्नीले यी दुवै कम्पनी किन्ने योजना बनाएको थियो। भाइसका लागि टाट पल्टाइको सामना गर्नु नै एक मात्र विकल्प हुनसक्छ, किनभने अहिलेसम्म त्यसलाई किन्न कोही पनि अघि सरेको छैन। असफल आईपीओ जारी गरेको बजफिडको सेयर मूल्य लगभग शून्य छ। 

तर, आर्थिक अवस्थाले मात्रै पुरा तस्बिर देखाउँदैन।

डिजिटल संक्रमणका बेला सुरुमा पछि परे पनि न्युयोर्क टाइम्ससँग आफ्नो प्रमुख शक्तिमा टिकिरहने आत्मविश्वास थियो। त्यो शक्ति थियो– समाचार। जबकि त्यतिबेला यो कम्पनी ठूलो ऋणमा डुबेको थियो, सेयरहोल्डहरु विद्रोह गरिरहेका थिए। तर, टाइम्सले वालस्ट्रिटको क्षणिक मागअगाडि घुँडा टेकेन। न त यसले न्युजरुममा कुनै कटौती नै गर्‍यो। जसले न्युजरुमलाई कमजोर तुल्याउने थियो। जस्तै कठिन समयमा पनि यो पत्रिका आफ्नो समाचारप्रति हठपूर्वक वफादार रह्यो र विश्वभर विस्तार भयो। यसको बोर्ड सल्जबर्गर परिवारप्रति वफादार रह्यो। जसको स्वामित्वमा टाइम्स १८९६ देखि नै छ।

अहिले पछि फर्केर हेर्दा यो सबै सहजजस्तो लाग्न सक्छ। तर, डिजिटल ट्रान्जिसन र आर्थिक संकटको कठिन घडीमा टाइम्समा रहेका सबैमा सन्देह पैदा भएको थियो। टाइम्समा म म्यानेजिङ एडिटर र एक्जिक्युटिभ एडिटरको कुर्सीमा रहेँ। पहिले अलगअलग रहेका डिजिटल र प्रिन्ट न्युजरुमको एकीकरणको नेतृत्व मैले गरेकी थिएँ। हामी योजनाअनुसार अघि बढ्न सकिरहेका थिएनौँ। २०१२ मा मैले त्यतिबेलाका प्रतिभाशाली रिपोर्टर तथा सम्पादक आर्थर ग्रेग सल्जबर्गरलाई मैले एउटा नवप्रवर्तन कमिटी बनाउन आग्रह गरेँ। त्यो कमिटीको पहिलो कार्यादेश थियो, नयाँ सामग्री उत्पादन गर्नु, जसले तत्काल र नयाँ आम्दानी सिर्जना गरोस्। तर, केही महिनापछि सल्जबर्गर, जो अहिले टाइम्सका प्रकाशक तथा न्युयोर्क टाइम्स कम्पनीका अध्यक्ष हुन्, ले सो कमिटीको मुख्य ध्यान बदल्न आग्रह गरे। 

‘हामी भित्रैबाट हुर्किन जरुरी छ,’ उनले भने। यसको अर्थ थियो– हाम्रो भविष्य हाम्रो गुदी अर्थात् न्युज रिपोर्टमा निर्भर छ। हामीले टाइम्सको भविष्य सुरक्षित गर्न डिजिटल सब्स्क्रिप्सन सुरु गर्नुका साथै पाककला (टाइम्ससँग हजारौँ रेसिपीहरुको स्वामित्व छ) र पजलजस्ता क्षेत्रमा रहेको आफ्नो शक्तिको सदुपयोग गर्‍यौँ।

तर, भाइस र बजफिडले यस्तो रणनीति अपनाउन सक्ने थिएनन्। भाइसको गुदी जहिले पनि यौन, लागुऔषध, र रक एन्ड रोलमा थियो। भलै यसले भिडिओमा जोड दिने तथा युद्ध क्षेत्रमा पत्रकार खटाउने गरे पनि उसको सबैभन्दा लोकप्रिय कार्यक्रम र्‍यापर एक्सन ब्रोन्सनले सञ्चालन गर्ने फ*, द्याट्स डेलिसिअस थियो। बजफिडको गुदी सूची, क्विज र सेलेब्रिटीसम्बन्धी समाचार थियो। यी सामग्री लोकप्रिय त हुन्थे तर तिनले प्रतिभाशाली पत्रकारलाई आकर्षित गर्न तथा तिनलाई टिकाउन चाहिने पैसा तिर्ने ग्राहक ल्याउँदैनथे। गम्भीर पत्रकारिताका लागि आवश्यक जोहो गर्नु अत्यन्त खर्चिलो काम हो, अनि प्रतिभालाई टिकाउनु पनि। अन्ततः टाइम्सले बजफिडका थुप्रै राम्रा पत्रकार खोस्यो। 

यी घटनाक्रमको पाठ के होइन भने लामो विरासत भएका समाचार संस्थाहरुले जित्ने निश्चित थियो। किनभने धेरैजसो त्यस्ता पत्रिका समाप्त भए। न त नवागन्तुकहरु नयाँ भएकाले नै असफल भएका हुन्। पोलिटिकोजस्ता केही डिजिटल समाचार संस्थाहरु सफल छन् र नाफामा पनि छन्। न्युयोर्क टाइम्सजस्तै पोलिटिकोको पनि गुदी बलियो छ। अरु सबैको तुलनामा यसले राजनीति र नीतिका विषयमा मिहीन तरिकाले लेख्छ। राजनीतिका नसेडीहरु योबिना बाँच्न सक्दैनन्। कानुन निर्माण प्रक्रियामा निहित स्वार्थ भएका कम्पनीहरुले पोलिटिकोको नीतिमा केन्द्रित प्रो–सब्स्क्रिप्सनका लागि ठूलो रकम तिर्छन्। त्यसमाथि सशुल्क सम्मेलन र कार्यक्रमहरुको प्रत्यक्ष प्रसारणले पनि नाफा हुन्छ। त्यसैगरी जोस मार्सलले स्थापना गरेको टकिङ पोइन्ट मेमो सन् २००० देखि टिकिराखेको छ।

अनुसन्धानात्मक पत्रकारितामा बलियो गुदी भएको गैरनाफामूलक प्रोपब्लिका झनझन् वृद्धि हुँदै छ र यसले पुलित्जर पनि जितेको छ। टेक्सस ट्रिब्युन र मिसिसिपी टुडेजस्ता गैरनाफामूलक स्थानीय समाचार संस्थाहरुको समूह पनि छन्, जसले उच्च गुणस्तरीय पत्रकारिता गर्छन् र तिनको दाता तथा पाठक पनि विस्तार हुँदैछन्। थुप्रै स्थानीय समाचार पत्रहरु बन्द हुँदा रिक्त भएको ठाउँ तिनले लिँदैछन्। त्यस्तै, अनेक विचारधारा बोक्ने लेखकहरुका लागि सब्स्क्रिप्सनमा आधारित न्युजलेटर सिर्जना गर्न ठाउँ दिने सबस्ट्याक पनि अनलाइनमा गुणस्तरीय पत्रकारिताको अर्को गन्तव्य बन्ने सम्भावना छ। र, पत्रकारितामा अरु थुप्रै रोचक प्रयोगहरु पनि भइरहेका छन्।

भाइस र बजफिड न्युजको मृत्युमा कोही पनि खुसी हुनु हुँदैन। प्रतिस्पर्धाले हरेकलाई, टाइम्सलाई पनि, राम्रो बनाउँछ। जब अलगअलग आवाज र सुसूचित दर्शकले आफ्नो आवाज सुनाउँछन्, तब लोकतन्त्रको एउटा आधार पत्रकारिता मौलाउँछ। जनताको भरोसा घट्दै जाँदा समाचारका क्षेत्रमा काम गरिरहेका सबै डगमगाइरहेका छन्। त्यस्तो स्थान अझै खुम्चिनु भनेको पत्रकार र तिनले सेवा गर्ने जनताका लागि चिन्ताजनक कुरा हो।

(भ्यानिटी फेयरबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .