ad ad

ग्लोबल


भाडा तिर्न नसकेपछि धमाधम सिंगापुर छाड्दैछन् आप्रवासी

भाडा तिर्न नसकेपछि धमाधम सिंगापुर छाड्दैछन् आप्रवासी

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार २१:१,

अस्ट्रेलियाली नागरिक बेन डन र उनको परिवार आफूलाई आधा सिंगापुरी मान्छन्। उनी गएको १६ वर्षदेखि सिंगापुरमा बसिरहेका छन्। १० र १३ वर्षका उनका दुई सन्तान यहीँ जन्मेका हुन्।

अलगअलग ठाउँका मानिस र तिनका विविध विचार घोलिने भाँडो मानिने सिंगापुरमा उनी यहाँको जलवायु र जीवनयापनको सहजताका कारण आकिर्षत भएका थिए। यहाँका हरिया बगैँचा डुलेर, क्विन्स्टाउन पुस्तकालय गएर र तिओङ बारु मार्केटमा खाना खाएर उनीहरु रमाउँछन्।

तर, केही महिनामै फ्ल्याटको मासिक भाडा ७ हजार सिंगापुर डलरबाट ११ हजार (५ हजार २४२ अमेरिकी डलर–८ हजार २३८) पुगेपछि डन र उनकी पत्नीले जुन महिनामा अस्ट्रेलिया नै फर्किने कठिन निर्णय लिए।

‘घरबाहिर बसेको यत्रो समय भयो, अब घर फर्किने उचित समय यही हो भनेर हामी  महामारीदेखि नै सोचिरहेका थियौँ,’ ५१ वर्षीय डन भन्छन्, ‘सिंगापुरमा बस्न हामीलाई मन पर्छ। तर, यहाँ जीविकाको खर्च अचाक्ली महंगो भयो, जबकि आम्दानी सोहीअनुसार बढेको छैन। भाडामा भएको यो वृद्धिले गम्भीर असर पार्नेछ।’

आधिकारिक तथ्यांक नभए पनि आप्रवासीहरुले भाडा बढेका कारण सिंगापुर छाड्ने क्रम तीव्र बनेको छ। यसले यो क्षेत्रकै बिजनेज हबका रुपमा परिचित सिंगापुरले आफ्नो आकर्षण गुमाउने जोखिम बढेको छ।

सिंगापुरको जनसंख्याको करिब ४० प्रतिशत हिस्सा विदेशमा जन्मिएको हो। यहाँको औसत घरभाडा २०२२ मा मात्र ३० प्रतिशतले बढेको छ। गत १५ वर्षमा भएको यो सबैभन्दा तीव्र वृद्धि हो। 

यसरी भाडा बढ्नुको कारण अनेक छन्। महामारीका कारण निर्माणमा ढिलाइ हुँदा उत्पन्न भएको घर अभावदेखि लिएर हङकङको निजी उद्योगमा चीनको हस्तक्षेपका कारण त्यहाँबाट सरेका कम्पनीहरुको आगमनका कारण पनि यहाँ घर महंगिएको हो।

रोजगारीको अनुमति र एस पास होल्डरहरुको संख्या २०२१ मा ३ लाख २३ हजार ५ सय थियो। जुन गत वर्ष बढेर ३ लाख ६५ हजार २ सय पुगेको थियो।

अन्तर्राष्ट्रिय र स्थानीय व्यापारिक समुदायले यहाँको आवास र अफिसको खर्च बढेकोमा पनि चिन्ता व्यक्त गरेका छन्।

यदि त्यो खर्च नघट्ने हो भने सिंगापुरमा अवस्थित १० विदेशी र स्थानीय व्यवसायमध्ये ७ अन्य ठाउँमा सर्न तयार छन्। एक सर्वेक्षणअनुसार हालै घरको लिज नवीकरण गरेका आप्रवासीहरुको घरभाडा ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। 

एपीएसी रिलोकेसन नामक कम्पनीले गएको ५–६ महिनामा सिंगापुरबाट सर्नेमध्ये करिब १० प्रतिशत भाडा बढेका कारण सरेको बताएको छ।

थुप्रै आप्रवासीहरुले सिटी सेन्टरमा रहेका सिंगो घर र ठूला अपार्टमेन्ट छाडेर टाढाका इलाकामा साना अपार्टमेन्ट समेत भाडामा लिन थालेका छन्।

ताइवानी नागरिक मेलोडी दुई वर्षअघि सिंगापुर आइपुगेकी थिइन्। प्रविधि उद्योगमा करिअर बनाउने र पार्टनरसँग मिलेर यही सहरमा घर बसाउने उनको सपना थियो।

तर, गत वर्ष उनलाई दोहोरो झड्का लाग्यो। पहिले उनको जागिर गयो। त्यसपछि उनको दुई बेडरुम भएको अपार्टमेन्टको भाडा ४ हजारबाट ६ हजार ५ सय सिंगापुर डलर पुग्यो।

आफ्ना साथीहरुका घरबेटीले पनि ६० देखि शतप्रतिशतसम्म भाडा बढाएको उनले सुनेकी छन्।

मेलोडीका अगाडि दुई कठिन विकल्प थिएः अलिकति पनि बचत नगरी सिंगापुरमै बस्ने कि अन्यत्र सस्तो ठाउँमा सर्ने। अप्रिलको अन्त्यसम्ममा ताइवान फर्किने उनको योजना छ।

बढ्दो भाडा र सरकारी हस्तक्षेप नहुँदा आफूजस्ता मध्यम आय भएका आप्रवासीका लागि सिंगापुरको वातावरण प्रतिकूल बन्न थालेको उनको अनुभव छ।

त्यस्तै, अरि पनि सिंगापुरमा काम गर्ने अवसर पाउनासाथ यहाँ आए। फुड एन्ड बेभरेज उद्योगमा उनी उच्च पदमा छन्। एक वर्षअघि उनी पत्नी र छोरीसहित आएका थिए।

गत जनवरीमा घरको लिज समाप्त भएलगत्तै घरबेटीले भाडा ५० प्रतिशतले बढाए। ५ हजारबाट ७ हजार ५००। यसले उनको बचतमा ठूलै धक्का लाग्यो। उनका साथीहरुले ८० प्रतिशतसम्म भाडावृद्धिको मार खेप्नुपर्यो।

खर्च कटौती गर्न अरि र उनको परिवारले बाहिर कम खान थाल्यो, सार्वजनिक सवारी चढ्न थाल्यो र एसी बन्द राख्न थाल्यो। सिंगापुरमा अर्को सस्तो अपार्टमेन्ट खोज्ने उनको प्रयास व्यर्थ भयो। 

अप्रिल अन्त्यमा उनी पनि अन्यत्र जागिर खोजेर यहाँबाट सर्ने तयारीमा छन्।

सिंगापुरमा क्षेत्रीय मुख्यालय भएका कतिपय बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्ना स्टाफलाई क्वालालम्पुर, जाकर्ता र ब्यांककजस्ता अलि सस्ता सहरमा सार्दैछन्। जहाँ टाढै बसेर उनीहरुले काम गर्न सक्छन् र आवश्यक पर्दा विमान चढेर सिंगापुर पनि ओर्लिन सक्छन्।

यद्यपि, यो वर्षको अन्त्यसम्ममा अवस्था सुधार हुने केहीको भनाइ छ। सरकारले हस्तक्षेप गरेर सिंगापुरका प्रतिस्पर्धात्मक क्षमता कम हुन नदिने उनीहरुको भनाइ छ।

सरकारले पनि प्रपर्टी मार्केटलाई नजिकैबाट नियालिरहेको बताएको छ। अल जजिरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .