ग्लोबल


सेलिब्रेटीले अपनाउने प्रक्रियाबाट तौल घटाउन खोज्दा युवतीको मृत्यु

सेलिब्रेटीले अपनाउने प्रक्रियाबाट तौल घटाउन खोज्दा युवतीको मृत्यु

नेपालखबर
चैत २१, २०७९ मंगलबार ७:५१, काठमाडौँ

टर्कीमा ग्यास्ट्रिक ब्याण्ड सर्जरीको क्रममा एक बेलायती युवतीको मृत्यु भएको छ। शनिबार २८ वर्षीय शेनन बउन ग्यास्ट्रिक ब्यान्ड सर्जरीका क्रममा मृत्यु भएको हो।

उनी यसका लागि टर्कीको मध्यपूर्वी क्षेत्र गएको बुझिएको छ। तर कहाँ र कुन सर्जरीको माध्यमबाट उनको उपचार भएको थियो भन्ने स्पष्ट भइसकेको छैन।

सेलिब्रेटीहरूले कम समयमा धेरै तौल घटाउनेगरी अपनाउने उक्त प्रक्रिया अपनाउँदा मृत्यु भएकी बउलाई धेरैले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनका प्रेमी रोज स्ट्रिलिङले भावुक स्टाटस लेख्दै भनेका छन्, 'मेरी परी, आनन्दले निदाऊ। म तिमीलाई प्रेम गर्छुँ, सधैँ गरिरहनेछु।'

उनीनिकट एक साथीले भनेका छन्, 'सामाजिक सञ्जालबाट उक्त खबर थाहा पायौँ, यो हामी सबैका लागि ठूलो क्षति हो। उनी सबैका लागि एक दयालु व्यक्ति थिइन्, हरेक पार्टीमा उनको कारण पार्टीको रौनक नै बेग्लै हुन्थ्यो। यो क्षति सबैका लागि एकदमै दुखद भएको छ।'

ग्यास्ट्रिक ब्यान्ड त्यस्तो सर्जरी हो, जसमा २ वर्षको अवधिमा ५० प्रतिशत तौल घटाउन सकिन्छ भन्ने मान्यता छ। तर यो जटिल प्रकृतिको शल्यक्रिया हो। यो प्रक्रियामा पेटको वरिपरि ब्यान्ड राखिन्छ, ताकि खानाको खपत कम होस्।

स्वास्थ्य सेवा प्राधिकार संस्थाका अनुसार यस्तो सर्जरीका लागि आधा घण्टाभन्दा पनि कम समय लाग्छ। जसमा एन्थेसिया र बिरामीलाई होशमा ल्याउने समय जोडिन्न। 

तर यस्तो सर्जरीको मृत्यु दर निकै कम हुने इंग्लयाण्डको राष्ट्रिय स्वास्थ्य सेवा दाबी गर्दछ। १ प्रतिशत मात्रै यस्तो सर्जरीबाट मृत्यु हुनसक्ने दाबी स्वास्थ्य सेवाको छ।

तर धेरै तौल भएका, वृद्ध, पहिले नै पेटको क्षेत्रमा शल्यक्रिया भएका व्यक्तिका लागि यो बढी जोखिम हुने बताइन्छ।

बउले सर्जरीका लागि अन्य देश जाँदा यात्रा बीमा गरेकी थिइनन्। त्यसैले अब उनको परिवारलाई शव ल्याउन हजारौँ पाउन्ड तिर्नपर्ने हुनसक्छ। एक ब्रिटिश संस्थाले उनको परिवारलाई सहयोग गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .