ग्लोबल


बंगलादेशमा सरकारले बन्द गरायो विपक्षी दलको पत्रिका

बंगलादेशमा सरकारले बन्द गरायो विपक्षी दलको पत्रिका

नेपालखबर
फागुन ८, २०७९ सोमबार १८:४७, काठमाडौँ

बंगलादेशको विपक्षी दलको पत्रिका सरकारले बन्द गराएको छ। विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीले (बीएनपी)ले तीन दशकयता बंगाली भाषाको दैनिक दिनकाल नामक पत्रिका चलाउँदै आएको छ।

सो पत्रिकामा सयौँ पत्रकार र प्रेस कर्मचारी काम गर्दै आएका छन्। सरकारलाई समर्थन गर्ने व्यवसायीहरुको नियन्त्रणमा रहेका अधिकांश पत्रिकाले बेवास्ता गरेका विषयलाई सो पत्रिकाले उठाउँदै आएको छ।

सो पत्रिकाका अनुसार डिसेम्बर २६ का दिन ढाका जिल्लाका अधिकारीहरुले पत्रिका बन्द गर्न आदेश दिएका थिए। तर, प्रेस काउन्सिलमा उजुरी दिएर पत्रिका प्रकाशन जारी राखिएको थियो। 

‘आइतबार काउन्सिलले हाम्रो उजुरी खारेज गरिदियो र प्रकाशन बन्द गर्ने म्याजिस्ट्रेटको आदेशलाई कायम राख्यो,’ पत्रिकाका म्यानेजिङ एडिटर समसुर रहमान सिमुल विश्वासले भने।

पत्रिकाले प्रकाशन कानुन उल्लंघन गरेको भन्दै बन्द गर्न आदेश दिइएको थियो।

काउन्सिलले पनि बीएनपीका कार्यकारी प्रमुख तथा पत्रिकाका प्रकाशक तारिक रहमान अपराधी ठहर भएर विदेश भागेको र उनले आफ्नो जिम्मेवारी दोस्रो व्यक्तिलाई हस्तान्तरण नगरेको बताउँदै सो निर्णय गरेको थियो।

तर, रहमानले लन्डनबाट राजीनामा दिएको र नयाँ प्रकाशक नियुक्त गर्दा सरकारले स्वीकार नगरेको विश्वासले बताए।

पत्रकारहरुको युनियनले यसलाई विपक्षीको आवाजमाथिको दमन भनेको छ।

गत महिना शेख हसिना नेतृत्वको सरकारले राज्यविरोधी समाचार छापेको भन्दै १९१ वटा वेबसाइट बन्द गराएको थियो। 

डिजिटल सुरक्षा कानुनअन्तर्गत बंगलादेशले सयौँ मानिसलाई पक्राउ गरिसकेको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .