जी२० शिखर सम्मेलनका लागि विश्वका नेताहरु इन्डोनेसियाको बालीमा उत्रिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि बाली आइपुगेका छन्।
आजै सी र बाइडेनबीच द्विपक्षीय वार्ता तय भएको छ। ताइवानलाई लिएर दुई मुलुकबीचको तिक्तता उच्चतम विन्दुमा पुगेका बेला यी दुई नेताबीच वार्ता हुन लागेको हो।
दुवै पक्षले सम्बन्ध सुधारका लागि इच्छुक रहेको संकेत गरेका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले यो द्विपक्षीय भेटले सम्बन्धलाई ‘सही मार्गमा ल्याउने’ आशा व्यक्त गरेका छन्।
अमेरिकी ट्रेजरी सेक्रेटरी जनेट एलेनले यो वार्ताको उदेश्य अमेरिका र चीनबीचको सम्बन्धमा स्थिरता ल्याउनु रहेको बताएकी छन्।
बाइडेन र सीबीच बालीको नुसा दुवा बेस्थित समुद्री किनारमा रहेको लक्जरी होटेल द मुलियामा भेट हुँदैछ।
बाइडेन राष्ट्रपति भएयता उनीहरुबीच पाँच पटक टेलिफोन तथा भिडिओ वार्ता भए पनि आमनेसामने पहिलो पटक भेट हुन लागेको हो।
उनीहरुको बीचमा ताइवान, युक्रेन, उत्तर कोरियालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
राष्ट्रपति सीले २०१६ यता पहिलो पटक अस्ट्रेलियाली प्रधानमन्त्रीलाई पनि भेट्दैछन्। प्रधानमन्त्री एन्टोनी अल्बानिजसँगको भेटले यी दुई मुलुकबीचको तिक्तता पनि कम हुने अपेक्षा गरिएको छ।
मंगलबार जी२० शिखर सम्मेलन उद्घाटन हुँदैछ। एजेन्सी
Shares
प्रतिक्रिया