यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही गर्दा २८ जना हुथी विद्रोहीको मृत्यु भएको छ।
आफूहरुले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २८ जना हुथी विद्रोहीको ज्यान गएको यमनको सरकारी सेनाले जनाएको छ।
यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ । उक्त सैन्य समूहमा यमनी सेना पनि छन्।
मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सैन्य कारबाही गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। कारबाहीका क्रममा अरु केही हुथी विद्रोही घाइते भएका छन्।
उक्त प्रान्तमा यसअघि पनि समयसमयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको थियो। साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ।
यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन्। आइतबारको कारबाहीका क्रममा हुथी विद्रोहीहरुले प्रयोग गर्ने गरेका केही शक्तिशाली हतियार पनि बरामद गरिएको सरकारी सेनाको दाबी छ। एजेन्सी
Shares
प्रतिक्रिया