क्युबाले दुई वर्षका बालबालिकालाई पनि कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ।
सो मुलुकले आफैँले विकास गरेको खोप यसै सातादेखि बालबालिकालाई लगाउने भएको हो।
अमेरिकाले १२ वर्षदेखि माथिकालाई खोप लगाउने अनुमति दिएको छ। चिलीले ६ वर्षमाथिकालाई खोप लगाउन सुरु गरेको छ। चीन र यूएईले ३ वर्षमाथिकालाई खोप लगाइरहेका छन्।
क्युबाले सेप्टेम्बरको सुरुमा २ वर्षमाथिका बालबालिकालाई खोप लगाउने अनुमति दिएको हो। गत सातादेखि सो मुलुकले १३ देखि १७ वर्षका बीचका किशोरकिशोरीलाई खोप लगाउन सुरु गरेको छ।
कोभिड–१९ को डेल्टा भेरियन्ट फैलिएसँगै क्युबाले खोपलाई तीव्रता दिएको छ। सो मुलुकले सोबेराना २ र सोबेराना प्लस नामक स्वदेशमै उत्पादित दुई खोप बालबालिकालाई लगाउन थालेको हो।
वयष्क र सीमित मात्रामा बालबालिकामा गरिएको परीक्षणबाट ती खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको क्युबाली अधिकारहिरुले बताएका छन्।
हालसम्म क्युबाको जनसंख्याको ५६ प्रतिशतले कम्तीमा एक डोज र ३७ प्रतिशतले दुवै डोज खोप लगाइसकेको छ। डिसेम्बरसम्ममा ९० प्रतिशतलाई खोप लगाउने सरकारी योजना छ।
विश्वको राम्रो स्वास्थ्य सेवा प्रणालीमध्ये एक मानिने क्युबामा महामारीका बेला अमेरिकी नाकाबन्दीका कारण स्वास्थ्य सामग्रीको अभाव भएको छ। गत महिना मेक्सिकोले क्युबामा अक्सिजन पठाएको थियो भने अमेरिकाका क्युबा समर्थकहरुले लाखौँ सिरिन्ज पठाएका थिए। एजेन्सी
Shares
प्रतिक्रिया