गण्डकी


रवीन्द्र अधिकारीले ‘गढ’ बनाएको कास्की-२ विद्याले छाड्दा एमालेलाई कति कठिन?

रवीन्द्र अधिकारीले ‘गढ’ बनाएको कास्की-२ विद्याले छाड्दा एमालेलाई कति कठिन?

कास्की-२ का उम्मेदवारः माथिल्लो लहरमा रश्मी आचार्य (एमाले), माधवप्रसाद बास्तोला (कांग्रेस) र किरण थापा (नेकपा)। तल्लोतर्फ हेमजंग गुरुङ (राप्रपा), कुशल गुरुङ (उज्यालो) र उत्तमप्रसाद पौडेल (रास्वपा)।


वाशुदेव मिश्र
माघ २७, २०८२ मंगलबार ८:२७, पोखरा

कास्कीको निवाचन क्षेत्र नम्बर २ को कुरा गर्दा नेकपा एमालेका दिवंगत नेता तथा पूर्वमन्त्री रवीन्द्र अधिकारीलाई सम्झनुपर्ने हुन्छ।

विद्यार्थी राजनीतिमै चर्चामा रहेका र तत्कालीन युवराज पारसलाई कारबाही हुनुपर्ने मागसहित दरबारमा ५ लाख नागरिकको हस्ताक्षर बुझाएका उनले २०६४ सालमा संविधानसभा चुनाव लड्न उक्त क्षेत्रमा टिकट पाए।

मालेका तर्फबाट २०५६ सालमा सोही क्षेत्रमा रवीन्द्रले गरेको प्रतिस्पर्धा बिर्सने हो भने यसपटक एमालेबाट उनको उम्मेदवारीसँगै कास्की-२ राष्ट्रिय चर्चाको विषय बन्यो।

माओवादीको बिगबिगी भएको त्यो बेला पार्टीको आन्तरिक प्रतिस्पर्धाका कारण बडो मुस्किलले टिकट पाएका थिए रवीन्द्रले।

पहिलो संविधानसभा निर्वाचनका बेला कास्कीमा चारवटा निर्वाचन क्षेत्र थिए र हालको कास्की २ का धेरैजसो भाग ३ मा पर्थ्यो। २०५६ सालको चुनावमा एमाले कास्कीका तीनवटै क्षेत्रमा हारेको थियो।

त्यो संवधान सभा निर्वाचनमा कास्कीका तीनवटा क्षेत्रमा तत्कालीन नेकपा माओवादी विजयी हुँदा कास्की-२ भने एमालेका रवीन्द्रले जिते। विजयी रवीन्द्रले १३ हजार ३ सय २८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका झलकपाणि तिवारीले १० हजार ९ सय २९८ मत पाएका थिए। 

त्यसपछि रवीन्द्रले पछाडि फर्कन परेन। दोस्रोपटक २०७० मा भएको संविधानसभा निर्वाचन पनि जिते उनले। १३ हजार ३ सय १० मतका साथ रवीन्द्र विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका सोभियत अधिकारीले १० हजार ८ सय ८ मत पाएका थिए। 

लगातार दुई संविधानसभा चुनाव जितेका रवीन्द्र २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पनि विजयी भए। उनले २७ हजार २ सय ७ मत ल्याउँदा हाल नेपाली कांग्रेसका प्रवक्ता रहेका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए।

त्यो जितसँगै रवीन्द्र पार्टी (एमाले) अध्यक्ष केपी ओली नेतृत्व सरकारमा पर्यटनमन्त्री बने। तर कार्यकाल पूरा गर्न नपाउँदै उनी २०७५ फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित सिस्ने खोलामा भएको हेलिकोप्टर दुर्घटनामा अन्य ५ जनासहित उनी बिते।

तत्कालीन सांसद रवीन्द्रको मृत्यु भएपछि कास्की-२ मा २०७६ मंसिरमा गरिएको उपनिर्वाचनमा एमालेले उनकै पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनायो। विद्या त्यो बेला उम्मेदवार बन्न इच्छुक थिइनन्।

‘म घरमै छोराहरू हुर्काउन व्यस्त थिएँ, कलेज त पढाउँथेँ तर स्थायी भएको धेरै भएको थिएन, जम्माजम्मी ७ वर्ष भएको थियो। अध्ययन-अनुसन्धानमै लाग्छु भन्ने मन बनाएका बेला पार्टीले भनेपछि राजीनामा दिएँ, त्यो विशेष परिस्थिति थियो नि,’ उनले हालै यसपटक किन चुनावमा चासो दिनुभएन नि भन्ने नेपालखबरको प्रश्नमा लामो हाँसोसहित भनेकी थिइन्, ‘एमाले महाधिवेशनदेखि नै मैले प्रतिस्पर्धाको त्यो बाटो छाडेको हो।’

यद्यपि त्यो उपनिर्वाचन उनले ८ हजार ४ सय ३ मतान्तरले जितिन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका सादगी नेता (हाल स्वर्गीय) खेमराज पौडेल थिए।

अघिल्लो २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि विद्या त्यस क्षेत्रमा उम्मेदवार बनिन् र फेरि जितिन्। १६ हजार ९ सय ९८ मतसहित उनी विजयी हुँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेल थिए। चर्चामै नरहेका कँडेलले रवीन्द्रको विरासत बोकेकी विद्यालाई टक्कर दिँदै १२ हजार ४ सय ९५ मत ल्याएका थिए।

त्यसबेला कांग्रेस र माओवादीसहित ३ दलीय गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरे। यस्तै राप्रपाका सुवर्णराज पन्तले ३ हजार ९९३ र स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता महादेव गुरुङले १ हजार ३४० मत पाए। 

लगातार चारपटक एउटै पार्टीका उम्मेदवारले जितेको क्षेत्रलाई उसको आधार क्षेत्र अर्थात् गढ मान्नु स्वाभाविकै हो। तर कास्की क्षेत्र नम्बर २ मा एमालेको संगठन हल्लिएको २०७९ कै चुनावले प्रमाणित गरिदियो।

समानुपातिक मत त झन् आश्चर्यजनक थियो। रास्वपाले १४ हजार २ मत प्राप्त गर्दा एमालेले १३ हजार ५४० मत पाएको थियो।

अनि कांग्रेसले १० हजार ५५३, राप्रपाले ४ हजार ४६५, माओवादी केन्द्रले २ हजार ४०४ र एकीकृत समाजवादीले १ हजार १७७ समानुपातिक मत ल्याएका थिए। 

प्रदेशसभातर्फ एमालेले १६ हजार ९०३, कांग्रेसले १२ हजार ९७१, राप्रपाले ७ हजार १२४, माओवादी केन्द्रले २ हजार ८५४, हाम्रो नेपाल पार्टीले  २ हजार ३७३ र एकीकृत समाजवादीले १ हजार ८३६ मत ल्याएका थिए।

यो मत परिणामले भन्छ- कास्की २ मा एमाले पहिलाजस्तो सुरक्षित छैन र रास्वपाप्रति मतदाताको झुकाव बढ्दो छ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि एमालेले यसपटक कास्की-२ मा विद्यार्थी राजनीतिबाट उदाएका रश्मी आचार्यलाई उठाएको छ। उनी एमाले केन्द्रीय सदस्य हुन्। 

यो क्षेत्रमा रास्वपाले उत्तमप्रसाद पौडेल, कांग्रेसले माधवप्रसाद बास्तोला‘मधु’, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले हेमबहादुर थापा ‘किरण’लाई उम्मेदवार बनाएको छ।

यसैगरी राप्रपाले केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, नेपाल मजदुर किसान पार्टीले विनिता अवाल, प्रगतिशील लोकतान्त्रिक पार्टीले दीपक भण्डारी, मंगोल नेसनल अर्गनाइजेसनले ओलबहादुर गुरुङलाई यहाँको चुनावी मैदानमा उतारेको छ। 

यस्तै नेपाल जनमुक्ति पार्टीबाट ख्यामबहादुर गुरुङ, नेसनल रिपब्लिक पार्टीबाट ज्ञानराज गुरुङ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट प्रेमबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङसहित स्वतन्त्र रूपमा निरञ्जन कोइराला, निर्दोषविक्रम पौडेल, रामचन्द्र आचार्य, वसन्तराज घिमिरे र विष्णुप्रसाद तिवारीले पनि यस क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्।

पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर समेटिएको यो निर्वाचन क्षेत्रमाा कुल ८४ हजार १३४ मतदाता छन्। तीमध्ये महिला ४४ हजार ३४० जना छन्।

अहिले यो क्षेत्रका सबैजसो उम्मेदवार घरदैलोमा व्यस्त छन्। उनीहरूले आफूलाई जिताउँदा यो र त्यो काम गर्छु भन्ने आश्वासन मतदातालाई दिइरहेका छन्।

सहरी मतदातामाझ लोकप्रिय तथा अघिल्लो चुनावमा समानुपातिकमा पाएको मतले उत्साहित रास्वपाले यो क्षेत्रमा यसपटक सञ्चारकर्मी उत्तमलाई उम्मेदवार बनाएको हो।

नेपालमा एफएम रेडियो क्रान्तिका साक्षी उत्तमको पारिवारिक पृष्ठभूमि चाहिँ राजनीतिक नै हो।

उनका पिता चिरञ्जीवीप्रसाद उपाध्याय पौडेल तत्कालीन अवस्थामा कास्कीको उत्तरपूर्वी गाविस देउरालीका प्रधानपञ्च थिए।

लगातार ३ कार्यकाल प्रधानपञ्च बन्न सफल चिरञ्जीवीको गुण जेठा छोरा उत्तममा पनि सर्‍यो।

उत्तम भन्छन्, ‘हाम्रो घर पैदलयात्रा गर्दै काठमाडौँ जाने बाटोमा थियो। घरमा पाहुना आइरहन्थे। पृथ्वी राजमार्ग बनेपछि पनि बुबालाई सोध्दै खोज्दै नेताहरू आइरहनुहुन्थ्यो। श्रीभद्र शर्मालाई चाहिँ म खुब सम्झन्छु। पछि मेरा पिताजी मातृकाप्रसाद कोइराला अध्यक्ष र श्रीभद्र महासचिव रहनुभएको नेपाल जनता परिषद्को केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष चुनिनुभएको थियो। बुबाले हामीलाई राजनीति सिकाउनु भएन तर हामीले उहाँबाट सिकेछौँ।’

उत्तम रास्वपा गठनअघि चाहिँ नेपाली कांग्रेसमा थिए। ग्यालेक्सी फोरके टेलिभिजनमा काग गर्ने क्रममा उनले रवि लामिछानेसँग सहकार्य गर्ने अवसर पाए। ग्यालेक्सी टीभीको  गण्डकी ब्युरो प्रमुख भएर भुइँमान्छेका मुद्दा उठाए।

सञ्चारकर्मप्रति प्रेम दर्शाउन नाडीमा माइक्रोफोनको ट्याटु खोपेका उनले माइक्रोफोन भने छाडिसकेका छन्।

‘सञ्चारकर्ममा रहँदा हिजो पनि भुइँमान्छेको आवाज उठाएको हो। त्यो आवाज सिंहदरबारभित्र सुनाउनुपर्छ भन्ने लागेर राजनीतिमा होमिएको हो,’ उनी भन्छन्, ‘जनताका आवाज बोकेर सिंहदरबार छिर्दा म भुइँमान्छेका सपनाले थिचिएको हुनेछु।’

अघिल्लो चुनावी परिणामको जगमा उभिएको रास्वपाप्रति अहिले जनविश्वास बढेको र आफू जितनजिक रहेको जिकिर गर्छन् उनी। 

यता विद्या भट्टराईको विरासत बोकेर चुनावी मैदानमा आएका रश्मी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। रवीन्द्र अधिकारीजस्तै पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भइसकेका रश्मी अखिलको केन्द्रीय उपाध्यक्ष पनि बने।

तर लामो समय नेतृत्वको चुनाव नहुँदा अध्यक्ष बन्ने सपनाचाहिँ पूरा भएन। यसपछि उनी मातृ पार्टी एमालेकै राजनीतिमा ओर्लिए। र, ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिए। उनी अहिले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयमा विद्यावारिधि पनि गर्दै छन्।

एमालेले सुरुमा कास्की-२ मा पुराना नेता, पोखराका पूर्वमेयर एवं प्रदेश सांसद कृष्ण थापालाई टिकट दिएको सार्वजनिक भएको थियो। तर उम्मेदवारी दर्ताको अघिल्लो दिन माघ ५ गते त्यो टिकट रश्मीको हातमा आइपुगेको थियो।

चारपटक लगातार चुनाव जितेको क्षेत्रमा खरो उत्रन सक्ने व्यक्तिलाई टिकट दिनुपर्छ भन्ने दबाबका कारण रश्मी अगाडि सारिएको एमालेका नेताहरूको भनाइ छ।

स्वर्गीय नेता रवीन्द्र अधिकारीकै गाउँ भएकाले चुनाव जित्नेमा ढुक्क छन् रश्मी। घरदैलो अभियानमा रहेका उनले आफूलाई जेनजी र पुरानो दुवै पुस्ता बुझेको नेताका रूपमा प्रस्तुत गरिरहेका छन्।

‘म निरंकुशताविरुद्धको आन्दोलनको अग्रमोर्चामा रहेर काम गरेको मान्छे हुँ। देश हल्लाले हैन, धरातल बुझेको शक्तिले मात्र बनाउन सक्छ। देशको अस्तित्व रक्षाको लागि यतिबेला एमालेको सरकार अपरिहार्य छ भन्ने जनताले बुझ्नुभएको छ,’ उनी भन्छन्, ‘म अग्रजको भावना र युवाको चाहना बोक्ने भरिया हुँ र जनताले मेरो निष्ठाप्रति भरोसा जनाउनुभएको छ।’

कांग्रेसका माधव बास्तोला ‘मधु’बाहेक कास्की-२ का सबैजसो उम्मेदवारका लागि यो पहिलो चुनावी परीक्षा हो।मधुले चाहिँ २०५४ सालमा वडाध्यक्षका रूपमा जनअभिमत प्राप्त गरिसकेका छन्।

पोखरा-११ का बासिन्दा मधु मरेर बाँचेका व्यक्ति हुन्। २०६७ असोजमा कांग्रेसको १२औँ महाधिवेशनमा भाग लिएर फर्कँदै गर्दा उनी सवार गाडी मुग्लिन-कुरिनटार सडकखण्डको रमाइलो डाँडामा दुर्घटनामा पर्‍यो।

त्यही गाडीमा रहेका पोखरा-४ का तत्कालीन वडाध्यक्ष कृष्णप्रसाद पराजुली, महासमिति सदस्य तेजप्रसाद दाहाल, युवराज पहाडीको घटनास्थलमै ज्यान गयो। अर्का सहयात्री जोगेन्द्र बाटाजुको पनि उपचारका क्रममा निधन भयो। उनी र मदन केसी भने लामो उपचारपछि निको भए।

क्षेत्रीय सभापति भइसकेका यी सादगी नेताप्रति कांग्रेसीहरूको सहानुभूति छ।

‘कांग्रेसीहरूलाई उहाँ को हो भनेर चिनाइरहन पर्दैन। सादगी र निष्ठाका कारण उहाँलाई आम पोखरेलीको मत आउँछ,’ कांग्रेस कास्कीका नेता नवीन सिग्देल भन्छन्, ‘उहाँ अहिले गगन नेतृत्वको सुधारिएको कांग्रेसको उम्मेदवार हो।’

मधु स्वयं पनि यो परीक्षा सहजै उत्तीर्ण हुने दाबी गर्छन् र भन्छन्, ‘मेरो निष्ठा र इमान्दारिता सबैले देख्नुभएकै छ। हाम्रो संगठनका साथीहरू यतिबेला एकताबद्ध हुनुहुन्छ। बदलिएको कांग्रेसप्रतिको जनविश्वास मेरो जित्ने आधार हो।’

त्यसो त जनयुद्ध लडेका नेकपाका युवा उम्मेदवार हेमबहादुर थापा‘किरण’को चर्चा पनि कम छैन। युद्धको मोर्चामा दर्जनौँ लडाइँ लडेका यी पूर्वलडाकुले माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन रोजेनन्। आर्थिक अवस्था दरिलो थिएन तर राजनीतिक मोर्चामै उभिएर समाज बदल्ने प्रण उनले गरे।

माओवादीमा आएको विग्रहबाट उनी पनि अछुतो रहेनन् र एक कालखण्डमा उनले डा. बाबुराम भट्टराईनिकट भएर काम गरे। तर केही समयअघि उनले बाबुरामलाई छाडे।

आमोदको नामबाट चिनिने जोसिला किरण पनि आफ्नो जित निश्चित भएको दाबी गर्छन्।

कास्कीको दक्षिणी भेग अर्थात् रवीन्द्र अधिकारीकै क्षेत्रमा बसोबास गर्ने किरण भन्छन्, ‘अहिले नेकपा मात्र देशलाई पार लगाउने पार्टी हो भन्ने जनताले बुझेका छन्, वर्गीय विभेद अन्त्यको नारा लिएर हिजो हामीले केही परिवर्तन गरिसकेका छौँ। शान्ति प्रक्रियाका काम पनि टुंगिन बाँकी छ र मुख्य कुरा समाजवादी यात्रा तय गर्न हाम्रै नेतृत्व चाहिन्छ र त्यसका निम्ति जनताले हामीलाई नै मत दिन्छन् भन्ने मैले ठानेको छु।’

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष हेमजंग गुरुङ पनि चुनावी मैदानमा छन्। राप्रपा अहिले चर्चा गरिएका पार्टी जत्तिको बलियो त छैन तर राजासहितको हिन्दुराज्य माग गर्ने यो पार्टीका शुभेच्छुकचाहिँ कम छैनन् भन्ने कुरा अघिल्लो मत परिणामले पुष्टि गर्छ।

लमजुङ जन्मथलो भएका हेमजंग पोखरा ओर्लिएपछि तरक्की हुने जिकिर राप्रपाका नेताहरूले गर्ने गरेका छन्।

‘पछिल्लो समय हाम्रो एजेन्डा (राजसंस्थासहितको हिन्दुराज्य) प्रति आम नागरिकको समर्थन ह्वात्तै बढेको छ। यो धार्मिक आस्थाको सहर हो। गुरुङ जातिसहित चेतनशीलहरूको नगर हो र हेमजंगजत्तिको पढेलेखा र राष्ट्रिय राजनीतिको केन्द्रमा भएको व्यक्तिलाई पोखराले यसपटक जिताउँछ,’ राप्रपाका नेता नारायण गुरुङ भन्छन्, ‘अहिले जनतालाई विश्वास लागेको एजेन्डा नै हाम्रो हो।’

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका कुशल गुरुङचाहिँ वातवरणविद् हुन्।

आफ्नो पेसामा दक्ष उनी देश बदल्न नीति बनाउने ठाउँमै पुग्नुपर्ने रहेछ भन्ने सोचले राजनीतिमा होमिएका हुन्।

‘यहाँ राजनीतिलाई धेरैले पेसा बनाए, मचाहिँ पेसा छाडेर राजनीतिलाई मूल नीति बनाउने ध्येयले चुनावी मैदानमा छु, जसरी कुलमानले आफूलाई नेतृत्वमा प्रमाणित गर्नुभएको छ। हामी सदनमा पुग्दा पनि हुने र गर्ने त्यही हो। त्यसैले जनता हामीसँग छन्,’ उनले नेपालखबरसँग भने।

सबैजसो उम्मेदवारसँग एउटा न एउटा गुण पक्कै छ। मैदानमा ओर्लेकामध्ये केहीमा राजनीतिक अस्तित्व रक्षाको मनसुवा भए पनि धेरैजसो आफूलाई मैदानमा अब्बल साबित गर्न चाहन्छन्।

तर यसका लागि फागुन २१ गते अन्य उम्मेदवारले भन्दा सर्वाधिक मत ल्याउनुपर्ने हुन्छ। कसलाई जितको ताज पहिर्‍याउने, यसको अन्तिम निर्णयचाहिँ कास्की-२ का मतदाताले नै गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad