ad ad

गण्डकी


गण्डकीमा पनि ओलीको इच्छाविपरीत २ विश्वासपात्रबीच अघोषित प्रतिस्पर्धा

गण्डकीमा पनि ओलीको इच्छाविपरीत २ विश्वासपात्रबीच अघोषित प्रतिस्पर्धा

गण्डकी अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिन तयार वर्तमान अध्यक्ष नवराज शर्मा (दायाँ) र केन्द्रीय सदस्य मायानाथ अधिकारी (बायाँ)।


वाशुदेव मिश्र
असोज १५, २०८० सोमबार ८:५२, पाेखरा

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागि सहरका मुख्य भागमा ‘स्वागतद्वार’ ठडिएका छन्। पार्टी अध्यक्ष केपी ओलीको मन्द मुस्कानसहितको स्वागतद्वारमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ नारा लेखिएको छ। गएको मंसिरमा चितवनमा सम्पन्न दसाैँ महाधिवेशनबाट सर्वशक्तिमान बनेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको पोखरासँग पुरानो साइनो पनि जोडिएको छ।

पार्टीको नेतृत्वमा नहुँदा पनि पोखरा र गण्डकी क्षेत्रबाट सधैँ माया पाइरहने एमाले नेता हुन्–ओली। २०३० जेठ ३० गते रौतहटबाट पक्राउ परेका हालका एमाले अध्यक्ष केपी ओली जेलसार हुँदै २०३९ माघ ३ गते पोखरा कारागार ल्याइए। उनी २०४२ माघसम्म पोखरा कारागारमा राजबन्दीको रुपमा रहे। त्यहाँ रहँदा बेलाबेला पक्राउ पर्ने तत्कालीन नेताहरूसँग उनको राम्रै संगत भयो। २०४४ असार ११ गते ओली रिहा भए। रिहा भएलगत्तै उनलाई तत्कालीन नेकपा (माले) ले लुम्बिनीको जिम्मेवारी दियो।

उनै ओली २०४६ सालको जनआन्दोलन सुरु हुनुअघि यहाँको कास्किकोटमा आयोजित भूमिगत कार्यक्रममा अतिथि बनेर झुल्किएका थिए। जेलबाट छुटेकाले उनलाई धेरैले चिन्थे। गफ गर्न सिपालु ओलीका वरपर नेता/कार्यकर्ता झुम्मिए। सँगै जेल जीवन बिताएका मात्र नभएर यस क्षेत्रका नेता/कार्यकर्ता ओलीसँग नजिकिनुको कारण थियो- गण्डकीमा परेको नक्सलवादी आन्दोलनको प्रभाव।

ओली झापा विद्रोहमा होमिनुअगावै २०२५ जेठ ३० गते यहाँका युवाहरूले नेकपा मार्क्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दल (गण्डकी–धौलागिरि) गठन गरिसकेका थिए। नक्सलवादी ओली यो क्षेत्रका माले कार्यकर्ताका प्रिय थिए। तीक्ष्ण स्मरण शक्ति भएका ओलीले जेल र बाहिर बनेका सम्बन्ध बिगारेनन्। जेल र बाहिरका चिनजानलाई शक्ति आर्जनको माध्यम बनाइरहे।

त्यसैको परिणाम- वीरगन्जमामा सम्पन्न एमालेको सातौँ  र बुटवलमा सम्पन्न आठौँ र अध्यक्ष चुनिने नवौँ महाधिवेशनमा गण्डकी–धौलागिरिबाट ओलीले दह्रो समर्थन पाए। पोखरामा ‘ओली क्रेज’ अहिले पनि उस्तै छ। यो क्षेत्रमा मै हुँ भन्ने सबैजसो एमाले नेताहरूको सर्वोच्च नेता ओली नै हुन्।

कतिसम्म भने अक्सर दुई ध्रुवमा विभाजन हुने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र हालका स्थायी कमिटी सदस्य खगराज आचार्य दुवै लामो समयदेखि अध्यक्ष ओलीका विश्वासपात्र हुन्। अध्यक्ष ओलीले केन्द्रीय राजनीतिमा यी दुवैलाई सन्तुलनमा राखिरहेका छन्। तर, तल्लो तहमा आइपुग्दा सन्तुलन बिग्रिन्छ।

सोमबार सुरु हुने एमाले गण्डकीको पहिलो अधिवेशनमा पनि यी दुई नेताबीच अघोषित प्रतिस्पर्धा हुने देखिएको छ। भलै, दुवै नेताले सार्वजनिक रूपमा यो तथ्य अस्वीकार गरेका किन नहुन्! बरु, एमाले प्रदेश अधिवशेनमा पार्टीका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल अनि सचिव पद्मा अर्याल पनि जोडिन आइपुगेका छन्।

आइतबार प्रदेश अधिवेशन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज तथा सचिव गोकर्ण विष्टले पटकपटक सहमतिमै नेतृत्व चयन हुने दाबी गरे। उनले दायाँबायाँ बसेका खगराज र पृथ्वीसुब्बाबीच  गुट बनाउने होड नरहेको र निर्वाचन सम्पन्न भएका अरू प्रदेशमा पनि प्यानल नै चुनावमा नहोमिएको जिकिर गरे।

उनको कुरामा दुवै नेताले मौनता साँधे। तर, हलमा उपस्थित कार्यकर्ताहरू त्यो कुरा स्वीकार्न तयार थिएनन्। किनकि पोखरामा चुनावी माहोल तातिसकेको छ भने वर्तमान अध्यक्ष नवराज शर्मा र हालका केन्द्रीय सदस्य मायानाथ अधिकारी प्रतिस्पर्धाका लागि मैदानमा उत्रन तयार छन्।

नवराजलाई उपमहासचिव पृथ्वीसुब्बा र मायानाथलाई स्थायी कमिटी सदस्य खगराजको समर्थन छ। मैदानमा उत्रन तम्तयार दुवैले फरक-फरक समयमा केन्द्रीय अध्यक्ष केपी ओलीलाई भेटेका तस्बिर सामाजिक सञ्जालमा राखेर त्यसको जनाउ पनि दिइसकेका छन्।

अध्यक्ष ओलीले कसलाई ‘ग्रिन सिग्नल’ दिएका छन् भन्ने प्रस्ट छैन, तर दुईपक्षीय प्रतिस्पर्धामा हाल बागलुङ अध्यक्ष रहेका हीराबहादुर केसी पनि थपिएका छन्।

यसअघि अध्यक्षमा चर्चा गरिएका केन्द्रीय सदस्य कृष्ण थापा, राजीव पहारी, रामशरण बस्नेत भने मौन रहँदै मायानाथकै पक्षमा जाने तयारीमा छन्। सचिवमा पनि पृथ्वीसुब्बाको रोजाइमा गृहजिल्ला लमजुङका धनञ्जय दवाडी र खगराजपक्षीय रश्मि आचार्यबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै भएको छ।

दुवै पक्ष यतिबेला प्रतिनिधिको लेखाजोखामा व्यस्त छने। गृहजिल्लामा आफ्नो हैकम कायमै राख्ने सिलसिलामा खगराज यसपटक सफल देखिएका छन्। उनले पृथ्वीसुब्बाकै जिल्लाका मायानाथलाई अगाडि सारेका मात्र छैनन्, पार्टी सचिव पद्मा अर्याल, यसअघि पृथ्वीसुब्बा क्याम्पमा गएका केन्द्रीय सदस्य राजीव पहारीलाई पनि आफूनिकट बनाएका छन्।

स्रोतका अनुसार उनलाई पोखरामै मुकाम जमाएर बसेका महासचिव शंकर पोखरेलको पनि साथ छ। अहिले सचिवमा उम्मेदवारी दिन खोजेका रश्मिलाई पनि उनले अर्को क्याम्पबाट तानेर आफूतिर ल्याएका स्रोतले जानकारी दियो।

‘रश्मिले अन्तिम समयमा सचिव पद्मा अर्यालको क्याम्प रोज्नुभयो, पद्मा कमरेड पनि अहिले आफ्नै प्रदेशमा शक्ति आर्जनकै होडबाजीमा हुनुहुन्छ, त्यसैले उहाँहरूबीच कुरा मिलेको छ’,  स्रोतले भन्यो, ‘यद्यपि प्रतिनिधिहरू पृथ्वीसुब्बा पक्षधर नै बढी भएको आकलन छ। तर हेर्दा लाग्छ- शंकर कमरेडसहित रहेकाले यी नेताहरूबीचको समीकरण आउँदो महाधिवेशन केन्द्रितजस्तो पो देखिन्छ।’

के गर्लान् अध्यक्ष ओलीले ? 
पार्टीका केन्द्रीय अध्यक्ष ओली प्रदेश अधिवेशनले सर्वसम्मत र आफूनिकट नेतृत्व चुनोस् भन्ने चाहन्थे। उनले चुनाव हैन, सहमतिमै जोड दिएका थिए। तर सर्वशक्तिमान अध्यक्ष ओलीको निर्देशन पालना भएन। बागमतीसहित, लुम्बिनी,कोशी र कर्णालीमा नेतृत्व चयनका लागि चुनावकै बाटो रोजियो। सहमति नहुँदा अध्यक्ष ओली इच्छाविपरीत ‘स्वच्छ प्रतिस्पर्धा’ स्वीकार्न बाध्य बने।

‘चितवनमा सम्पन्न दसाैँ महाधिवेशनमै प्रतिस्पर्धालाई निषेध गरिएको धेरैले मन पराएका थिएनन्, अहिले कार्यकर्ता पंक्तिले नै केन्द्रको निर्देशनको अवज्ञा गरे भनेर बुझ्दा पनि हुन्छ’, एमालेका एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘यो भनेको नेतृत्वलाई चुतौती मात्र हैन, पार्टी बिग्रन लाग्यो भन्ने चिन्ता पनि हो।’

 उनी त्यत्तिमै रोकिएनन्। एमालेमा अहिले अध्यक्ष ओलीलाई चुनौती दिने नेता छैनन्, तर आफूलाई नेतृत्वमा स्थापित गर्न नेताहरूले आन्तरिक तयारी गरिरहेका छन्। त्यसको प्रतिबिम्ब प्रदेशको चुनावमा देखिएको र उत्तराधिकारी बन्ने होडमा लागेका पदाधिकारीकै कारण पनि प्रतिस्पर्धाको विकल्प नभएको उनको भनाइ छ। 

तयारी पूरा 
एमाले गण्डकीको प्रथम अधिवेशनको तयारी सकिएको छ। अधिवेशनको आज एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्र केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

एमाले गण्डकीका अध्यक्ष नवराज शर्माका अनुसार प्रतिनिधिहरूका लागि पोखराका होटलहरूमा आवास सुविधा उपलब्ध गराइएको छ। सोमबार उद्घाटन हुने अधिवेशन नेतृत्व चयनसँगै कम्तीमा असोज १७ गते साँझ सक्ने एमाले गण्डकीको योजना छ।

पोखराको अमरसिंह चोकमा आयोजना हुने उद्घाटन कार्यक्रममा एमालेले शक्ति प्रदर्शन गर्दै छ। अधिवेशनका लागि छानिएका ११ जिल्लाका ९०७ प्रतिनिधि, केन्द्रीय र जिल्लास्तरका नेताहरूका साथै उद्घाटन सत्रमा प्रदेशका सबै जिल्लाबाट कार्यकर्ता पोखरा ओरालिँदै छ।

प्रदेश अधिवेशनलाई ‘मिसन ग्रासरुट’ पछिको सबैभन्दा ठूलो अभियान र शक्ति प्रदर्शनको अवसर बनाउने योजनासहित एमालेले जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू पोखरा ल्याउन लागेको हो। सचिव धनञ्जय दवाडीका अनुसार अधिवेशन निर्वाचनतर्फ धकेलिए विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने छ। अधिवेशनले अध्यक्ष, २ उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित १३५ सदस्यीय गण्डकी प्रदेश कमिटी चयन गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .