गण्डकी


पोखराबाट छुट्टिन खोज्दै लेखनाथ, मेयर पनि पक्षमै

पोखराबाट छुट्टिन खोज्दै लेखनाथ, मेयर पनि पक्षमै

नेपालखबर
जेठ १०, २०८३ आइतबार १९:३९, पोखरा

२०५३ माघ १८ गते कास्कीको पूर्वी क्षेत्रका लेखनाथ, राखी, शिशुवा र बेगनास गाउँ विकास समितिलाई मिलाएर १२३.११  वर्ग किलोमिटर क्षेत्रफलको लेखनाथ नगरपालिका घोषणा भयो।

कविशिरोमणि लेखनाथ पौडेलको नाममा नगरपालिका स्थापना भएसँगै त्यस क्षेत्रमा पूर्वाधार निर्माणले गति लियो। निजी क्षेत्र उत्साहित हुँदै लेखनाथ उद्योग वाणिज्य संघको स्थापना भयो।

बेगनाससहित सातवटा ताल भएको क्षेत्रको बृहत्तर विकासका निम्ति योजनाहरू बने। समग्रमा लेखनाथले पहिचान पायो। तर २०७१ मंसिर १६ गतेको मन्त्रिपरिषद् बैठकले लेखनाथ क्षेत्रलाई पोखरा उपमहानगरमा गाभ्ने निर्णय गर्‍यो। सुरुमा पोखरा-लेखनाथ महानगपालिका नामकरण गरिए पनि पछि लेखनाथ हटाइयो। पोखरा महानगरमै लेखनाथ समाहित भयो।

साविकको लेखनाथ क्षेत्र छायाँमा परेको भन्दै सो क्षेत्रका वासिन्दाले छुट्टै लेखनाथ नगरपालिकाको माग गरिरहेका थिए। त्यही उपक्रममा गत वैशाखमा सामान्य प्रशासन मन्त्रालयले सीमा हेरफेर र स्थानीय तहको संख्या निर्धारणमा सुझाव मागेपछि त्यो माग पुनः बौरियो।

पोखरामा मेयर धनराज आचार्य नै अप्रत्यक्षरूपमा सो मागको पक्षमा उभिए। उनले पोखरा महानगरको भूगोल ठूलो भएको भन्दै यसका केही क्षेत्रलाई विभाजन गरी थप एउटा उपमहानगर र अर्को नगर बनाउनुपर्ने धारणा राखेका थिए। साविकको लेखनाथमा रुपा गाउँपालिकालगायतका क्षेत्र थपेर नयाँ पालिका बनाउनुपर्ने उनको तर्क थियो।

लेखनाथवासीले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ ले स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्ने कानुनी व्यवस्था स्पष्ट गरेको उल्लेख गर्दै संवैधानिक प्रक्रियामार्फत् लेखनाथ पुनर्स्थापना हुनुपर्ने माग अगाडि सारेका हुन्। आइतबार लेखनाथमै आयोजित कार्यक्रममा उपस्थित सबैजसो राजनीतिक दलहरूले लेखनाथ पुनर्स्थापनाको मागमा ऐक्यबद्धता जनाए। 

कार्यक्रममा सहभागीहरूले स्थानीय तह पुनर्संरचनाको क्रममा साविक लेखनाथ नगरपालिकालाई पोखरा महानगरपालिकामा विलय गर्नु भौगोलिक, प्रशासनिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले त्रुटिपूर्ण निर्णय भएको बताएका थिए। उनीहरूले विशाल भूगोल र असन्तुलित प्रशासनिक संरचनाका कारण स्थानीय जनताले सेवा प्रवाहमा कठिनाइ भोग्नुपरेको, विकास निर्माणमा अपेक्षित प्राथमिकता नपाएको तथा लेखनाथको छुट्टै पहिचान र अस्तित्व कमजोर बनेको गुनासो गरेका थिए।

वक्ताहरूले कास्की जिल्लाको स्थानीय तह पुनर्संरचना अन्य जिल्लाको तुलनामा असन्तुलित रहेको उल्लेख गर्दै पोखरा महानगरपालिकाको क्षेत्रफल, जनसंख्या र प्रशासनिक व्यवस्थापनबीच ठूलो अन्तर देखिएको तर्क पनि गरिएको थियो।

लेखनाथ पुनर्स्थापनाको पक्षमा नगरपालिकाका संस्थापक मेयर शालिकराम पौडेल, रास्वपाका अभियन्ता तथा प्रतिनिधि कृष्णराज भुर्तेल, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री, एकीकृत समाजवादी तथा माओवादी पक्षका नेता विश्वप्रकाश लामिछानेलगायतले धारणा राखेका पुनर्स्थापना पहल समितिका रामहरी ढुंगानाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad