गण्डकी


एम्बुलेन्स र शवबाहनका लागि निजी गाडी दिने पोखरा २६ का वडाध्यक्ष थापाको घोषणा

एम्बुलेन्स र शवबाहनका लागि निजी गाडी दिने पोखरा २६ का वडाध्यक्ष थापाको घोषणा

नेपालखबर
साउन २९, २०८२ बिहिबार २१:२, पोखरा

पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडावासीलाई आफ्नो निजी गाडी एम्बुलेन्स तथा शवबाहनको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन्।

पोखरा २६ का विकट क्षेत्रका नागरिकहरुले आफ्नो ठाउँमा एम्बुलेन्ससमेत नआउने र आएपनि महंगो भाडा तिर्नुपर्ने गुनासो गरेसँगै वडाध्यक्ष थापाले सो घोषणा गरेका हुन्।

‘मेरो एउटा सेतो हाइलक्स गाडी छ। मेरो कार्यकालभरि वडामा कोही बिरामी हुनुभयो वा कसैको निधन भयो भने मेरो गाडीलाई एम्बुलेन्स र शववाहनको रुपमा प्रयोग गर्न सक्नुहुनेछ,’ वडाको सार्वजनिक सुनुवाइको क्रममा उनले भने, ‘त्यो निशुल्क हुन्छ। मलाई सम्पर्क गर्नुहोला।’

उक्त गाडीको चाबी वडावासीको सेवाका लागि सधैं उपलब्ध रहने उनको भनाइ थियो। 

वडाध्यक्ष थापा त्यत्तिमै रोकिएनन्। शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका निम्ति सक्दो प्रयत्न गर्ने प्रतिवद्धता जनाए। 

स्थानीय महादेव ढुंगानाले राखी स्वास्थ्य चौकीमा शनिबार पनि उपचारको व्यवस्था मिलाइदिन वडासँग आग्रह गरे।

‘वडाको एकमात्र स्वास्थ्यचौकी हो। राति पनि खोलेर सेवा दिनुपर्ने हो, हाम्रोमा शनिबार दिउँसैपनि बन्द हुन्छ,’ उनले भने, ‘बिरामी कार्यालय समयमा मात्रै हुँदैनन्। सँधै स्वास्थ्यचौकी खुल्ने वातावरण भए राम्रो हुन्थ्यो।’

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी राजनीतिकरण भएका कारण समस्या परेको गुनासो पोखे। सरकारी स्कुलको गुणस्तर सुधार्ने दिशामा योजनावद्ध तरिकाले काम गर्ने उनको भनाइ थियो। 

वडाध्यक्षले माग जायज भएपनि जनशक्ति अभाव भएका कारण अपेक्षाकृत सेवा दिन नसकेको बताए।

‘स्वास्थ्यचौकी बन्द गर्ने रहर भएर होइन। हामीसँग जनशक्ति नै छैनन्,’ उनले भने, ‘सकेसम्म सँधै र चौबीसै घण्टा खोल्नुपर्ने हो। जनशक्ति पाइयो भने त्यो सम्भावना छ।’

वडाध्यक्ष थापाले विकास निर्माणका कामहरूमा सबैको सहकार्य आवश्यक रहेको बताए।

‘तपाईंहरू मिल्नुभयो भने बजेट आउँछ, काम हुन्छ। तर, विकास आफ्नो घरछेउमा आउँदा मापदण्ड मिच्न खोज्ने प्रवृत्तिले समस्या भएको छ,’ उनले भने।

उनले अलपत्र सडक निर्माणका लागि मापदण्ड क्लियर गरेर आए बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।

कुकुर र छाडा चौपायाको समस्या समाधानका लागि वडाले मात्र नभइ समुदाय नै सक्रिय हुनुपर्ने उनको सुझाव छ।

‘तपाईहरू टोल विकास समिति हुनुहुन्छ। टोलमा भएका कुकुर वडामा सूचीकृत गराउन लगाउनुस्,’ उनी भन्छन्, ‘कसैले खुला ठाउँमा दिशा पिसाव गराए सकेसम्म टोलले नै कारबाही गर्नुस्। नभए वडामा पठाउनुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad