पोखरा। एक बिहान। आकाशबाट अलिअलि पानी छिट्याइरहेको थियो। मञ्चमा एकसाथ झुल्किए- सरुभक्त र तीर्थ श्रेष्ठ। सरुभक्तको ‘सर्वहारा धरतीभरि यज्ञका काला घोडाहरू’ र तीर्थको ‘हिउँमा लेखिएका नामहरू’ कृति लोकार्पण हुँदै थिए।
३० को दशकदेखि साहित्य सिर्जनामा तल्लीन उनीहरूबीच मित्रताको लामो कथा छ। एउटै टोलमा जन्मेका सरुभक्त र तीर्थले उक्त अवसरमा आफ्ना अनुभव र अनुभूति सुनाए।
सरुभक्तले भने:
प्रायः साहित्यिक विशेष गरी काव्यात्मक समारोहमा मलाई चार हरफको यो कविता स्मरण गर्न मन लाग्छ-
जिन्दगीका बाटाहरू धेरै छन् कुबाटो कुनै नभेटियोस्
मनका निर्मल पानाहरूमा जथाभावी केही नलेखियोस्
कि म समयको यस्तो कविता लेखुँ कि- जो कहिल्यै पनि नेमेटियोस्!
बाल्यकालीन अभ्यासहरूलाई छाडेर हेर्ने हो भने पनि करिब ५० वर्ष पुगेछ- कविता कर्ममा लागेको। तर, त्यो नमेटिने कविता ब्रह्माण्ड र अन्तरिक्षको कुन अज्ञात कुनामा लुकेर बसेको छ, मलाई थाहा छैन। बुद्धत्वको खोजीजस्तै एउटा काव्यात्मक तृष्णाको खोजी गर्नु रचनाकार बन्नु हो। त्यसैलै मलाई तृष्णाविहीन उपदेशहरूभन्दा तृष्णापूर्ण रचनाकारहरू बढी प्रिय लाग्छन्। विराट श्रृष्टिलाई रचना मान्ने हो भने यसका रचनाकार कति तृष्णायुक्त होलान्! श्रृष्टिमा, सम्पूर्ण ब्रह्माण्डमा अनवरत सिर्जन प्रक्रिया चलिरहेको छ। अरबौँ वर्षपछि पृथ्वीको मृत्यु, सूर्यको मृत्यु,आकाश गंगा, महासूर्यको, समस्त मन्दाकिनी र ग्यालेक्सीहरूको मृत्यु र अन्ततः ब्रह्माण्डको मृत्यु उपक्रममा हामी जुन श्रृष्टि विनाश वा विध्वंशका अवधारणाहरू जन्माउँछौँ- विज्ञानमा, धर्ममा, दर्शनमा ती श्रृष्टिका अनवरत सिर्जन प्रक्रियाका सामयिक संरचना मात्र हुन्। मेरो सर्जकीय अहंले नमेटिने कविता जन्माउन चाहेझैँ श्रृष्टिका अज्ञात सर्जकहरूले पनि नमेटिने ब्रह्माण्ड वा ब्रह्माण्डहरू जन्माउन चाहेकै त होलान्!
सर्वहारा धरतीभरी यज्ञका काला घोडाहरू- यस कृतिमा मेरो ५० वर्षे कविता यात्राका केही प्रतिनिधिमूलक कविता छन्। कृतिको पुछारमा मैले कविताको परिभाषासम्बन्धी पर्खाललाई महान् दार्शनिक शंकराचार्यको मिथ्या जगत्बारे सत्य मानेर अर्थ्याएको छु।
कविता के हो? सोच्दा एक प्रतिप्रश्न जन्मन्छ। कविता के हैन? विचार गर्दै जाँदा अन्ततोगत्वा अनुभूति हुन्छ- कविता सम्पूर्णता हो। कविता भाव र विचारको सम्पूर्णता हो। कविता जीव र जगत्को सम्पूर्णता हो। कविता विश्व र ब्रह्माण्डीय यावत् संरचनाहरूको सम्पूर्णता हो।
कविताको सूक्ष्म र विशाल स्वरूपलाई शब्द र मौन भावले स्पर्श गर्ने कुनै एक आयाम मात्र सत्य हो भन्नु असत्य संकथन हो। कविता बहुआयामिक कला हो। कविताको बहुआयामिकता विविध आकार र अभिव्यञ्जनामा प्रकट हुन्छन्। कविता एक विराट महासागर हो। विराट महासागरको एक किनारमा उभिएको व्यक्तिले जस्तो र जति महासागर देख्छ, महासागर त्यस्तो र त्यति मात्र हुँदैन।
अन्य किनारहरूबाट, कोणहरूबाट महासागर भिन्न देखिन्छ। सागरबाट देखिने महासागर र गहिराइमा भेटिने महासागर पनि भिन्न हुन्छ। परिभाषा पनि हामी सत्यलाई भन्दा हाम्रा आग्रह र विश्वासका आधारमा दिइरहेका हुन्छौँ। मानव इतिहासमा कविताका परिभाषा पनि आग्रह र विश्वास कैद गर्न अभिशप्त छ। कविताले कैदबाट मुक्त हुने अधिकार राख्छ।
करिब ५० वर्षदेखि तीर्थ र म कविताका सहयात्री हौँ। हामी कविताका सहयात्री मात्र हैनौँ, सुखदुःखका साथी पनि हौँ। हामीले पोखरेली साहित्यको विकास र पोयुसाँप (पोखरेली युवा सांस्कृतिक परिवार) का विविध साहित्यिक, सांस्कृतिक गतिविधिमा धेरै दिनरात बिताएका छौँ। अझै पनि हामी अविराम यात्रामै छौँ। हामीलाई ३० को दशकदेखि आशिषयुक्त मित्रताको पुरस्कार प्रदान गर्नुहुने आदरणीय दाजु दुर्गा बरालसहित साथीहरू उषा भट्टचन (शेरचन), विजय बजिमय, प्रकट पंगेनी ‘शिव’, विक्रम गुरुङ, संस्थापक अध्यक्ष सरोज गोपाल बज्राचार्य, प्रसिद्ध गायक अरुण थापा, विनोद गौचन, सोम बज्राचार्य, किरण थापा र अन्य संस्थापक मित्रहरूलाई स्मरण गरिरहेको छु। कति मित्रहरू जीवनबाट बिदा लिएर गइसके तर हाम्रा स्मृतिमा सधैँ जीवित छन्। अहिले हामीलाई निरन्तर साथ र ऊर्जा दिइरहने नवपुस्ताका प्रतिभाहरूलाई म यतिखेर स्मरण गरिरहेको छु।
...मेरा सहकर्मी, सहधर्मी मित्र तीर्थ श्रेष्ठलाई ‘हिउँमा कोरिएका’ नामहरू कृति प्रकाशनका लागि हार्दिक बधाई दिन्छु। यो शीर्षक कवितासित मेरो व्यक्तिगत सम्झना पनि गाँसिएको हुनाले मेरा लागि यो कविता कृति र यो समारोह दुवै अविश्वरणीय रहने छन्।
तीर्थ श्रेष्ठ समकालीन नेपाली साहित्यका नरमभावका एक उत्कृष्ट कवि हुन्। देश, समाज र जीवनका विविध आयामलाई स्पर्श गर्ने उनका कविता सरल संवेदनाका हस्ताक्षर हुन्। ४० को दशकमा तरलवादी कविका रूपमा चर्चित भएर पनि, वैचारिक भिन्नताले त्यसबाट टाढिए पनि उनका कविताधारा निरन्तर प्रवाहित छ। यो हामी सबैका लागि खुसीको कुरा हो।
अन्त्यमा, मेरो यस कृतिका कविता चयन, सम्पादन आदि सबै कामको जिम्मेवारी लिइदिने मेरी प्रिय छोरी एवं चर्चित साहित्यकार सरस्वती प्रतीक्षालाई धेरै धन्यवाद दिन्छु।
यसपछि सरुभक्तले दौँतरी तीर्थको हिउँमा लेखिएका नामहरू र आफूकृत ‘बौलाही आमाको जुलुस’ कविता वाचन गरे।
बहुलाही आमाहरूको जुलुस
जुलुसमा कुनै झण्डा छैन
किनभने बहुलाही आमाहरूको कुनै झण्डा हुँदैन
जुलुसमा कुनै नारा छैन
किनभने बहुलाही आमाहरूको कुनै नारा हुँदैन
समसुद्दिनका आक्रमणहरूदेखि बेखबर
पशुपतिनाथ र स्वयम्भूनाथका बाँदरहरू
पिँजडामा तित्रा बोकेर
छातीभरिभरि
छातीमा नअटाउने गरी
मञ्जुश्री पट्टुका विशिष्ट पदकहरू टाँसेर
भण्डारखालतर्फ कुचमार्च गर्दा
जंगबहादुरहरूको छालाको सिकार खेल्न देशमा
बहुलाही आमाहरूको जुलुस निस्केको हो।
आमाहरू नांगै छन्
किनभने उनीहरूका छोराहरूले
देशका सबै लुगा लाएका छन्
आमाहरू भोकै छन्
किनभने उनीहरूका छोराहरूले
देशका सबै अन्न खाएका छन्
आमाहरू मैला छन्
किनभने उनीहरूका छोराहरूले
देशका सबै पानी पिएका छन्
क्षितिज वरैको अतीतमा
कुनै बेला
आत्मबलिदानी छोराहरूको चिन्ताले
खङ्ग्रङ्ग वन डढेझैँ
मन डढेका आमाहरू
त्यही डढेको मनमा
शाश्वत आस्थाका ससाना सिन्का उमारेर देशका जुकाहरू उल्ट्याउने खेल खेल्दै छन्
बिना हाँसोको चेतना
बहुलाही आमाहरू हाँस्दै छन्
बिना आँसुको चेतना
बहुलाही आमाहरू रुँदै छन्
र बिना जुलुसको चेतना
बहुलाही आमाहरू जुलुसमा हिँड्दै छन्
छोराहरू
जुकाहरूसित लड्दालड्दै जुका बने
आमाहरू बहुलाए,
छोराहरू
सर्पहरूसित लड्दालड्दै सर्प बने
आमाहरू बहुलाए
अनि तीर्थले सरुभक्तबारे भन्न नमिल्ने कुरा नभन्ने बताउँदै यसरी सम्झिए अतीत-
विजय बजिमय (कवि) को अपांगताका कारण भैरवटोलमा हाम्रा धेरै साथीहरू त्यहाँ जम्मा हुने गर्थे। त्यो कोठाले हामी धेरैलाई जोड्यो । हामी नाटक देखाउने क्रममा सँगै हिँड्यौँ। दुर्गा दाइ (वात्सायन) हुनुहुन्थ्यो। नाटकको मेकअप म्यान, सरुभक्तको नाटकको मेकअप म्यानको रूपमा मञ्च सज्जा गर्ने काम काम दुर्गा दाइले गर्नुहुन्थ्यो। तीर्थ गुरुङ, त्यसको संगीत संयोजक हुनुहुन्थ्यो। सरुभक्तको नाटकले वाङमयका विविध क्षेत्रका मान्छेलाई यसरी जोड्यो कि यस्तो दुर्गा दाइजस्तो मान्छे मेकअप म्यान हुने। एउटा घर बनाउनुपर्यो, खरको छानो चाहियो, आँखीझ्याल चाहियो, कसले बनाउने। मान्छे चाहियो। अर्जुन नेपाली दाइ हुनुहुन्थ्यो। उहाँ नाटकको नेपथ्यमा बसेर भ्वाइलिनमा नाटक हेर्दै संगीत दिने गर्नुहुन्थ्यो। नाटक हेर्दै संगीत दिनु सहज थिएन। नाटकको इतिहासमा यो महत्त्वपूर्ण घटना हो।
एकथरी मानिस आफूलाई प्यास लाग्यो भने खोलामा जान्छ, अञ्जुलीमा पानी उभाउँछ र पिउँछ। आफ्नो प्यास मेट्छ। अर्कोथरी मान्छे आफूलाई प्यास लाग्यो भने आफूजस्तै गाउँका सबैलाई प्यास लागेको होला भन्ने सोच्छ। खोलामा पाइप लैजान्छ र खोलाको पानी ल्याउँछ र गाउँका सबैको प्यास मेटाउँछ। संघसंस्था त्यसका निम्ति चाहिने हो। पोखरेली युवा सांस्कृतिक परिवार त्यसकै निम्ति हो।
सरुभक्तसँगको मित्रता मेरो पुरानो हो। कति कुरा भन्न नमिल्ने, कति कुरा भन्न मिल्ने। मित्रतामा स्वाद पनि हुँदो रहेछ भने कति कुरा भनुँभनुँ लाग्ने, पेटबाट घाँटीसम्म आइपुग्ने अनि ओहो! नभनुँ भो, हुने। भन्न हुने कुरा म भनुँला, भन्न नमिल्ने कुरा भविष्यका लागि थाँती राखौँला।सरुभक्तबारे मबाट त्यस्ता प्रसंग सुन्न चाहनुहुन्छ भने माफ गर्नुहोला।
मलाई म साहित्यकार हुँ भन्ने भ्रम छैन। केही नगरि चुप लागेर बस्न नसक्ने मान्छे म। निश्चित भूगोल पोखरा हुँदा एउटा हावाहुरी (साहित्य) मा त्यतै लागेको।
...म मेरो बाउको दृष्टिमा पनि असफल व्यवसायी। जिन्दगीमा म धेरै कमजोरीसहितको मान्छे। मलाई थाहा छ- मान्छे कोही पूर्ण छैन तर यति कमजोरीसहितको मान्छे मैले आफूलाई पाएको छु। मलाई मान्छेहरूले मेरो प्रशंसा गर्छन्। मचाहिँ आफूलाई कमजोरीसहितको मान्छे मान्छु। किनकि मेरा सबै कमजोरीको सबैभन्दा नजिकको साक्षी मै हुँ। मैले दुर्गा दाइको संगत पाएँ, सरुभक्तहरूको संगत पाएँ, संगतले सच्चिएको मान्छे हुँ म। रक्सीचाहिँ मलाई कसैले सिकाएको हैन, म आफैँ बिग्रेको हुँ। अचेल त्यो पनि छाडेको छु। अस्ति अशोक दाइ (अशोक पालिखे) ले ब्लु लेभल ल्याउनुभएको रैछ। खाऊँ न भन्नुभयो। मैले भनेँ, ‘अब त खान्नँ, अघाको जस्तो भएको छ।’
तपाईंले कति पढ्नुभएको छ- सरुभक्तलाई? मैले धेरै पढेको छु भन्दिनँ। तर सरुभक्त मेरो पुस्ताका महाकवि हुन्। सरुभक्तले नछोएको विधा छैन। तपाईंले चुली उपन्यास पढ्नुभएको छ? नेपाल केले चिनिएको छ भने हिमालको कारणले चिनिएको छ। आरोहणका कारण चिनिएको छ। तर, नेपालीले हिमाल नेपालमा चढेका हैनन्। स्विट्जरल्यान्डमा चढेका थिए- १८९६ मा। नेपालीले चढेको भएर त्यो हिमालको नाम नै त्यहाँको सरकारले गुर्खा हिमाल राखिदिएको छ। त्यो हिमाल आरोहणको इतिहास सरुभक्तले उपन्यासमा लिपिबद्ध गर्ने काम गरेका छन्।
नेपालमा विज्ञान उपन्यास, विज्ञान कथाको प्रारम्भ गर्नुभएको थियो- शंकर लामिछानेले, त्यसलाई बलियोसँग बाँध्ने काम सरुभक्तले गरेका हुन्। कविता-कथा भन्नुहोस्,नाटक-गीत भन्नुहोस्! कहिले सुन्दै नसुनेका शब्द उनेर कविता लेख्ने सरुभक्त। ‘हिउँ त हैन फाप्रेको डंगुर’ लेख्ने मान्छे पनि सरुभक्त नै हो। जुन विधा छोयो, त्यही विधामा उत्कृष्ट। पहिलोपटक भेट हुँदा उसले के कविता सुनाएको थियो कुन्नि, म त अलमलमा पो परेँ।
एउटा गतिलो साथी भेट्नु, एउटा बलियो दौँतरी भेट्नु भनेको बलियोसँग उभिनु पनि रहेछ। मलाई त्यो लागेको छ। सरुभक्तका अत्यन्त तीव्र बौद्धिकता र अति सरलताबीच मध्यमार्ग अपनाउने सक्ने कविता छन्। उनीसँग सूचना पनि त्यत्तिकै छ। उनलाई महाभारतका पर्व सोधे पनि थाहा हुन्छ, क्वान्टम थ्योरी सोधे पनि थाहा हुन्छ। यो अतिशयोक्तिपूर्ण प्रशंसा हैन। कसैले प्रश्न सोधे म बहसका निम्ति तयार छु।
अनि तीर्थले दौँतरी सरुभक्तको चट्टानहरू शीर्षकको कविता सुनाए।
चट्टानहरू
चट्टानहरू अग्लिए हिमाल बन्छन् चट्टानहरू अग्लिए पहाड बन्छन्
चट्टानहरू गहिरिए
जीवनका सागरहरू बन्छन्
जीवनका नदीहरू बन्छन्
तर जीवनका सागरहरूले
जति खियाए पनि
चट्टानहरू खिइँदैनन्
तर जीवनका नदीहरूले
जति काटे पनि
चट्टानहरू काटिँदैनन्
चट्टानहरू आफ्ना छातीका
सागरका कविता रचना गर्छन्
चट्टानहरू आफ्ना छातीका नदीका कविता रचना गर्छन्
सागरका कविता रचना गर्दा
चट्टानहरू अलिकति खिइन्छन् नदीका कविता रचना गर्दा
चट्टानहरू अलिकति काटिन्छन् तर चट्टानहरू आफू खिइनुलाई आफू खिइनु भन्दैनन्
तर चट्टानहरू आफू काटिनुलाई आफू काटिनु भन्दैनन्
चट्टानहरू जीवन-उत्सर्गहरूमा
सागर भएर
सागरहरूसित खिइन्छन्
चट्टानहरू जीवन बलिदानमा
नदी भएर
नदीहरूसित काटिन्छन्
कारण चट्टानहरू बिना सागरहरूको
कुनै रूप हुँदैन, आकार हुँदैन
कारण चट्टानहरू बिना नदीहरूको कुनै रङ हुँदैन, गति हुँदैन
जीवनका सागरहरू र नदीहरूलाई सागरहरू र नदीहरू बन्न
चट्टानहरूको माया चाहिन्छ
चट्टानहरूको समर्पण चाहिन्छ
तर चट्टानहरू आफ्नो मायाले जति खिइए पनि
चट्टानहरू नै हुन्छन्, अरू केही हुँदैनन् तर चट्टानहरू आफ्नो समर्पणले जति काटिए पनि
चट्टानहरू नै हुन्छन्, अरू केही हुँदैन ।
Shares

प्रतिक्रिया