गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सभासद दमयन्त्री रुचाल सामाजिक विकास तथा कृषि समितिको सभापति हुने भएकी छन्।
संसदीय परम्परामा सार्वजनिक लेखा समिति प्रतिपक्षीका लागि छुट्याइन्छ।
तर, माओवादी केन्द्रले सो समितिको दाबी छाड्दै सामाजिक विकास तथा कृषि समितिमा चित्त बुझाएपछि नवलपुरबाट समानुपातिक सांसद बनेकी रुचाल उक्त पदमा पुगेकी हुन्।
माओवादीकै तर्फबाट सांसद बनेका नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का फणीन्द्र देवकोटा मन्त्री बनेपछि एक वर्षदेखि उक्त समितिमा सभापति पद खाली थियो।
अघिल्लो असार कांग्रेस-एमालेको सत्ता समीकरण बनेपछि माओवादी केन्द्र प्रतिपक्षको बेन्चमा धकेलिएको थियो।
त्यसबेलादेखि नै माओवादीले एमालेका नेता सुधीरकुमार पौडेल सभापति रहेको सार्वजनिक लेखा समितिमा दाबी गरिरहेको थियो।
लेखा समितिभन्दा अर्को शक्तिशाली विशेष समिति बनाए मात्र लेखा छाड्न सकिने एमालेको जवाफपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मध्यमार्गी बाटो रोजे। उनले अहिले खाली भएको पद नै लिन माओवादीलाई राजी गराएका हुन्।
त्यहीअनुरूप समितिको सभापतिमा बिहीबार माओवादीकी दमयन्ती रुचालको एकल उम्मेदवारी पर्यो। कांग्रेसका महेश भट्टराई प्रस्तावक र समर्थक एमालेका लिलबहादुर थापा मगर समर्थक रहेर रुचाललाई सभापतिमा प्रस्ताव गरिएको हो।
रुचाललाई सभापति बनाउन गण्डकी प्रदेशसभा नियमावली नै संशोधन गरिएको थियो। सभापति पद खाली भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने प्रावधान संशोधनसँगै नियमावली चैत २६ गते पारित भएको थियो भने वैशाख २५ गते राजपत्रमा प्रकाशन गरिएको थियो।
नियमावली संशोधन गर्दा एकपटकका निम्ति एक महिनाभित्र सभापति चुन्ने प्रावधान राखिएकाले शुक्रबार रुचाललाई सभापति घोषणा गरिने छ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-३ की रुचाल दलित क्लस्टबाट समानुपातिक सांसद हुन्। उनी २०५८ सालदेखि नै माओवादी जनयुद्धमा होमिएकी थिइन्।
गण्डकी प्रदेशसभाका ४ मध्ये अर्थ विकास समितिमा कांग्रेसका भोजराज अर्याल, प्रदेश मामिला तथा कानुन समितिमा कांग्रेसकै चम्पादेवी खड्का सभापति छन्। एमालेका सुधीरकुमार पौडेल सार्वजनिक लेखा समिति सभापति हुन्। ११ सदस्य रहेको कृषि समितिमा कांग्रेसका ६, एमालेका ३ र माओवादीका २ सांसद् छन्।
Shares

प्रतिक्रिया