गण्डकी


गण्डकीमा बन्यो हिंसापीडित महिलाको निम्ति पुनर्स्थापना केन्द्र

गण्डकीमा बन्यो हिंसापीडित महिलाको निम्ति पुनर्स्थापना केन्द्र

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १९:३२, काठमाडौँ

गण्डकीमा हिसापीडित महिलाहरूको आश्रयको निम्ति पुनर्स्थापना केन्द्र संचालनमा ल्याइएको छ। 

केन्द्रमा घर–परिवार तथा समाजबाट समस्या भोगेका छोरीहरू, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुर्व्यसनमा फसेकाहरूलाई राखिने छ। त्यहाँ उनीहरूलाई आवश्यकता अनुरुप ६ महिनादेखि २ वर्षसम्म राखेर उपचार तथा परामर्श दिइने गण्डकीका युवा खेलकुद तथा सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले जानकारी दिए।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिका वा पालिकाहरूको सिफारिसको आधारमा केन्द्रमा महिलाहरूलाई आश्रय दिइने छ। त्यहाँ रहँदा महिलाहरूले मनोसामाजिक परामर्शसहित कानूनी सहायतासमेत पाउने छन्। केन्द्रमा आश्रित बालबालिका राख्ने, पढ्न पाउनेलगायतका सुविधाहरू पनि रहेको उनले बताए।

पुनर्स्थापना केन्द्र संचालन कार्यविधि २०८२ तयार गरिएको बताउँदै मन्त्री थापाले हिंसापीडितलाई उचित मनोसामाजिक परामर्श दिनु, संरक्षण गर्नु तथा समाजमा पुनर्स्थापना गराउनु नै केन्द्रको लक्ष्य भएको  प्रष्ट्याए। 

पुनर्स्थापना केन्द्र पोखरा ३३,पुष्पबस्तीमा रहेको छ।  केन्द्रको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे। गण्डकी प्रदेश सरकारको ७० र पोखरा महानगरपालिकाको ३० प्रतिशतको लागतमा पुनर्स्थापना केन्द्रको भवन बनेको हो।

पुनर्स्थापना केन्द्र संचालनका लागि २०७५ सालमै पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबीच समझदारी भएतापनि कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो। मन्त्री थापाका अनुसार त्यहाँ ४० देखि ५० जनालाई आश्रय दिन सकिन्छ। प्रदेश सरकारको तर्फबाट २ करोड लगानी भएको उनको भनाइ छ। 

दीर्घकालीन संचालनको लागि पनि सोही अनुरुप सोझेदारी हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। 

मुख्यमन्त्री पाण्डेका अनुसार महिला हिंसा अन्त्यका लागि प्रदेश सरकारले ८५ वटै पालिकामा न्यायिक सहजकर्ता पठाएको छ। आत्महत्या दर शून्यमा झार्ने लक्ष्यसहित प्रदेश सरकार लागिरहेको र हिंसापीडतलाई प्रदेश सरकारले अभिभावकत्व ग्रहण गर्दै न्याय दिलाउने पनि बताए।  

कोपिला नेपालकी विना सिलवालले घरपरिवार र समाजबाट समस्या भोगेका छोरीहरूको संरक्षणका निम्ति यो घरले ठूलो योगदान गर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad