गण्डकी


घरघरमा धारा, हट्यो डोकोमा पानी बोक्नुपर्ने बाध्यता

घरघरमा धारा, हट्यो डोकोमा पानी बोक्नुपर्ने बाध्यता

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार ७:७, त्रिवेणी (नवलपरासी)

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि डोकोमा पानी ओसार्नुपर्ने बाध्यता हटेको छ। घरमा धारा नहुँदा खोला तथा घरदेखि पर रहेको ट्यांकीबाट पानी बोक्नुपर्ने बाध्यता थियो।

देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी लुङ्गेलीले अहिले घरमा धारामा पानी आएसँगै पहिले आफूहरूले गरेको दुःख बिर्सिएको बताइन्। खोलाबाट पानी बोक्दा दिन नै बित्ने गरेकामा अहिले घरमा धारा जोडिएपछि आफूहरूको दिनचर्या नै फेरिएको उनको भनाइ छ। 

‘घरमा एक जनाको काम नै पानी बोक्ने हुन्थ्यो, अब घरमै धारा आएपछि खेतीपाती र पशुपालनमा समय दिन सकिने भयो’, उनले भनिन्, ‘बल्ल डोकोमा पानी बोक्ने दिन सकिए।’

घरमै धारा अनि चौबीसै घण्टा पानी भएपछि दैनिक काम गर्न सहज भएको स्थानीय लालमाया बरालले बताइन्। पानीको सहजतासँगै घरको सरसफाइ, खेतीपाती र अन्य काममा समय दिन सहज भएको उनको भनाइ छ।

पहिला खोलाको छेउमा तरकारी लगाउने गरेका मौलाथुम्कीवासीलाई अहिले घरघरमा तरकारीलगायत अन्य खेती गर्न  सहज हुनाका साथै समयको बचतसमेत भएको छ। 

देवचुली नगरपालिका र वास नमुना गाउँ परियोजनाको सहयोग तथा स्थानीयको श्रमदानमा रु १५ लाख ३९ हजार लागतमा एक घर, एक धारा निर्माण गरिएको हो। स्थानीयलाई खानेपानीको समस्या भएपछि वास नमुना गाउँ परियोजनासँग सहकार्य गरी खानेपानीको विस्तार गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताए। 

पानीको सहजताले घरमा सबैको समय बचत भएको साथै कृषि तथा पशुपालन सहयोग पुगेको मौलाथुम्की खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गिरिप्रसाद बरालले बताए। ‘पहिला नगरपालिकाले सानो खानेपानी ट्याङ्की बनाएको थियो, गाउँका सबैले त्यहाँबाट डोकामा पानी बोक्नुपर्ने बाध्यता थियो’, उनले भने। अहिले सबैको घरमा तरकारी उत्पादन भएपछि तरकारी किनेर खानुपर्ने बाध्यता पनि हटेको छ।

देवचुली नगरपालिका र वास नमुना गाउँ परियोजनाको साझेदारीमा मौलाथुम्कीमा खानेपानी तथा सरसफाइ अभियान सञ्चालन गरिएको परियोजनाका व्यवस्थापक प्रवीण घिमिरेले बताए। परियोजनाले देवचुली-५ र ६ मा ग्रामीण खानेपानी स्तरोन्नतिसँगै समुदायमा सरसफाइसम्बन्धी अभियान सञ्चालन गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad