तनहुँको आँबुखैरेनी गाउँपालिका-१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ। पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो।
कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरूलाई फूल टिप्न व्यस्त छन्। समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त छन्।
समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न थालेको हो। गत वर्ष दुई लाख पचास बराबरको सयपत्री निकासी गरिएको जानकारी दिँदै अध्यक्ष गुरुङले यो वर्ष रु ८ लाख बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको बताइन्।
आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एकआपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो। गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराए पछि महिलाहरू व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएको आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए।
समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गरिरहेको छ।
‘आज र भोलि आँबुखैरेनी गाउँपालिकाभित्रका १२ स्थानमा बिक्री स्थल बनाइनेछ’, महिला सशक्तीकरण पालिकाको प्राथमिकता भएको बताउँदै उनले भने, ‘केही माला तयार गरी कोल्डस्टोरमा राखिएको छ।’
फूलखेतीबाट समूहमा आबद्ध महिला आर्थिक रूपमा पनि सक्षम भएका छन्।
Shares

प्रतिक्रिया