ad ad

गण्डकी


‘एक नेता- एक उद्यमशीलता’ कार्यक्रम सञ्चालन गर्दै कास्की कांग्रेस

क्रियाशील सदस्यले जग्गा बाँझो राख्न नपाइने
‘एक नेता- एक उद्यमशीलता’ कार्यक्रम सञ्चालन गर्दै कास्की कांग्रेस

नेपालखबर
भदौ ५, २०८१ बुधबार २०:४८, पोखरा

नेपाली कांग्रेस कास्कीले कार्यकर्ता र आम नागरिकलाई सँगै हिँडाउने गरी सामाजिक उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले कार्यकर्तालाई उद्यमशीलतासँग जोड्न यो कार्यक्रम अगाडि सार्ने निर्णय गरेको हो।

कांग्रेसका संस्थापक सभापति तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको ‘प्रजातान्त्रिक समाजवाद’ को लक्ष्य प्राप्तिको लागि यो अभियान सुरु गरिन लागेको सभापति बरालले बताए। यो अभियानको नेतृत्व कांग्रेसले गर्ने र त्यसमा आम नागरिकलाई पनि जोडिने उनको भनाइ छ।

‘कांग्रेस जनतासँग जोडिनुपर्छ, जनतासँग जोडिन श्रम गर्नुपर्छ, उत्पादनबाट राष्ट्रिय अर्थतन्त्रलाई योगदान दिनुपर्छ,’उनले भने,‘सत्ता र निर्वाचन केन्द्रित भएको कांग्रेसलाई लक्ष्य केन्द्रित बनाउन यो अभियान सञ्चालन गर्न लागिएको हो।’

उनले यो अभियानको कार्यान्वनको खाका पनि सार्वजनिक गरेका छन्। अभियानअन्तर्गत कांग्रेसका प्रत्येक क्रियाशील सदस्यलाई अनिवार्य रुपमा उत्पादनमा जोड्ने छ। ‘एक नेताः एक उद्यमशीलता’ को अवधारणामा टेकेर रोजगारी सिर्जना गरिनेछ भने कांग्रेस कार्यकर्ताको स्वामित्वमा रहेको जग्गा बाँझो राख्न नपाउने नियम कडाइका साथ लागू गरिने छ।

‘उत्पादनका लागि आवश्यक पर्ने सीप विकासका लागि पार्टीले नै उत्प्रेरकको काम गर्नेछ भने आवश्यक सहयोगका निम्ति विशेषज्ञता प्राप्त गरेका व्यक्तिहरुको विज्ञ समूह निर्माण गरिनेछ,’अध्यक्ष बरालले भने,‘विद्यालयस्तरमा ‘उद्यमशील माइण्ड सेट कार्यक्रम’को पाठ्यक्रम नै निर्माण गरी पढाउन सरकारलाई दबाब दिने पनि हाम्रो तयारी छ।’

कार्यकर्ता नै संलग्न भइ उत्पादित बस्तुहरुको बजारीकरणमा पार्टीले सघाउने पनि उनले जिकिर गरे। कास्की कांग्रेसले अभियानमा संलग्न हुन पार्टी कार्यकर्तालाई आह्वान पनि गरेको छ।

पार्टी कार्यकर्ता व्यवसायमा संलग्न हुँदा राजनीतिलाई पेशा बनाउने परिपाटीको अन्त्य हुने र भ्रष्टाचार न्यूनीकरणमा पनि सघाउने सभापति बरालको जिकिर छ।

कास्की कांग्रेसको बैठकले महानगरपालिका र गाउपालिकाका प्रत्येक वडा, जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, शिक्षा कार्यालयलगायतका सरकारी कार्यालयहरुमा सुशासन स्थापनामा सहयोग गर्नका निम्ति प्रतिनिधिहरु खटाउने निर्णय पनि गरेको छ।

ती प्रतिनिधिहरुले छिटो–छरितो रुपले जनताका काम फत्ते गर्न सघाउने पनि सभापति बरालको भनाइ छ।

यस्तै बीपी जयन्तीको अवसर पारेर भदौ २४ गते कास्कीमा रहेका ७२ वटै वडामा एकसाथ क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय पनि कांग्रेसको रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .