ad ad

गण्डकी


‘भ्रष्टाचारी’ शब्दले देउवा ‘इरिटेड’!

‘भ्रष्टाचारी’ शब्दले देउवा ‘इरिटेड’!

वाशुदेव मिश्र
पुस ३, २०८० मंगलबार २१:३७, पोखरा

बिहान ११ बजेको लागि भनिएको नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन सुरु हुँदा दिनको एक बजिसकेको थियो। पोखराको चिप्लेढुंगामा रहेको बीपी कोइरालाको सालिकमा माल्यापर्ण गरेपछि पार्टी सभापति शेरबहादुर देउवा पोखरा सभागृह आएसँगै लामो आसन ग्रहणको श्रृंखला चल्यो।

मञ्चमा बसेका देउवाले आलस्यको भाव व्यक्त गरिरहे। त्यसोत, पार्टी गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको व्यवस्थापनमा उनी बिहानै बेखुस भइसकेका थिए। 

भ्रष्टाचारीबाट पार्टीलाई बचाऔं नाराले बबाल
सम्मेलनको  उद्घाटन सत्रको लागि बनाइएको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऊँ, इमान भएकालाई जिम्मेवारीमा राखौं, कांग्रेसी चरित्र स्थापित गरौँः भ्रष्टाचारीबाट पार्टीलाई बचाऔं’ भन्ने नारामा देउवालाई मन परेको थिएन। ब्यानरमा लेखिएको ‘भ्रष्टाचारीबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्याशं नहटाएसम्म कार्यक्रममै नजाने देउवाको भनाइपछि हतार–हतार सो वाक्यांश त हटाइयो तर ढाँटेको कुरा के छोपिन्थ्यो र! गाइँगुइँ भइहाल्यो। 

त्यसपछि घोचपेचको शृंखला सुरु भयो। स्वागत गर्न आएकी गण्डकी उपाध्यक्ष कल्पना तिवारीले राजनीतिक नेतृत्व शासक हैन सेवक बन्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराइन्।

आफूसँग प्रदेश सभापतिमा पराजित पर्वतका अर्जुनप्रसाद जोशीलाई केन्द्रीय सदस्य मनोनित गरी आफूभन्दा माथिल्लो पद दिएकोमा गण्डकी सभापति शुक्रराज शर्माले यसअघि नै सभापति देउवासँग असन्तुष्टि जाहेर गरेकै थिए।

कांग्रेसको प्रथम गण्डकी प्रदेशको ब्यानर, जहाँ ‘भ्रष्टाचारीबाट पार्टीलाई बचाऔँ’ लेखिएको नारामा सभापति देउवाको आपत्तिपछि ‘भ्रष्टाचारी’शब्द हटाइयो।

आयोजकको रुपमा स्वागत गर्ने क्रममा पनि उनले सन्तुलित भाषा प्रयोग गर्दै असन्तुष्टि व्यक्त गरे। उनले सभापतिलाई लक्षित गर्दै भने, ‘प्रजातन्त्रमा नेता मालिक हुँदैनन्, हाम्रा नेता मालिक हैनन्, हामीले नेतालाई हैन जनतालाई मालिक बनाउने हो, शेरबहादुर देउवा दाइ यहाँ हुनुहुन्छ, उहाँ हामी सबैको आदरणीय नेता हो तर जनताको दृष्टिमा उहाँ सबैभन्दा पहिलो सेवक हो।’ 

त्यसपछिको पट्यारलाग्दो मन्तव्यको क्रममा केहीले पार्टी नेतृत्वको बचाउमा शब्द खर्चिए। केहीले असन्तुष्टि जनाए। सांसद तथा उद्योगपति विनोद चौधरीले कांग्रेसले स्पष्ट आर्थिक एजेण्डासहित जनताकहाँ जानुपर्ने तर्क गरे।

आर्थिक मोडलमा प्रष्ट हुन नेता चौधरीको माग 
‘नेपाली कांग्रेसको आर्थिक मोडल कुन हो, एउटा गुटको मोडल हैन,कांग्रेसले तत्काल सार्वजनिक गर्नुपर्छ र अहिले उठेका प्रश्नहरुको उत्तर दिनुपर्छ,’उनले भने। यसअघि उनले अर्थतन्त्रको आधारशिला धर्खराएको र भएको जागिर नै छाडेर विदेशिने प्रवृत्ति बढ्नुको कारण के हो भन्ने प्रश्नको उत्तर खोज्नुपर्नेमा जोड दिएका थिए। 

संविधान खारेज हुनसक्छ : भण्डारी 
अर्का सांसद शंकर भण्डारी चाहिँ पार्टी सभापतिलाई नछोएर  महामन्त्रीद्वयको आलोचनामा उत्रिए। उनले भने, ‘ताली बजाएर पार्टी चल्दैन, बाहिर भनेर हैन, कार्यसमितिमा कुरा राख्नुपर्छ। महामन्त्रीहरूले नीति बनाउनुपर्छ।’

चैतभित्र जे पनि हुनसक्ने जिकिर गर्दै उनले अगाडि थपे, ‘मैले पाएको सूचना अनुसार यो संविधान नै खारेज हुनसक्छ।’ 

सरकारका नराम्रा कामको काँध नथापौं : प्रदीप पौडेल
सांसद प्रदीप पौडेलले कांग्रेसका नेताहरूले अब प्राप्तितिर हैन त्यागको भावना लिनुपर्ने भन्दै नेतृत्वको आलोचना गरे। उनले अबको प्रधानमन्त्री म नै हुँ भन्ने सोचका कारण यो सरकारबारे चुप नबस्न सभापति देउवासँग आग्रह पनि गरे। 

‘यो सरकारले गरेका गलत कामको विरोध गर्नुपर्छ, आवश्यक परे सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भन्ने हिम्मत राख्नुपर्छ, अहिले पालो नआए, २०८४ मा आउँछ,’ सभापति देउवाप्रति लक्षित गर्दै उनले भने।

कानुन नबनाउँदा मैले गाली खाएँ : गण्डकीका मुख्यमन्त्री पाण्डे 
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाहिँ संघ सरकारले कानुन नबनाउँदा आफूले गाली खानुपरेको गुनासो प्रष्ट भाषामा सुनाए।

केही दिनयता संघीय सरकारविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका मुख्यमन्त्री पाण्डेले भने, ‘संघीय कानुन बनाउने जिम्मेवारी कसको हो? तपाईंहरूले कानुन नबनाइदिएका कारणले हामीले कानुन बनाउन सक्या छैनौं। हामीले कानुन नबनाएका कारणले स्थानीय तहले कानून बनाउन सक्ने छैन। कतिपय हामीले कानुन बनाएका छौँ तर संघले कानुन नबनाएका कारणले लागू गर्न सकेका छैनौँ। यो जिम्मेवारी तपाईंहरूले लिने कि नलिने? कानुन तपाईंहरूले नबनाउने, तपाईंहरुको नालायकी, संघीय सरकार र संसदमा बस्ने सांसदहरुको नालायकीका कारणले कानुन नबन्ने अनि सडकमा आएर, अनि मञ्चबाट गाली मैले खानुपर्ने, हामीले खानुपर्ने?’

गुट विचारको होस् : डा. शेखर 
मञ्चमा  दोस्रो दर्जाको नेताको हैसियतमा बसेका र छिटो मन्तव्य राखेर बाहिरिएका डा. शेखर कोइरालाले पार्टीभित्र आफूले एउटा गुटको नेतृत्व गर्ने कुरा स्वीकारे तर गुटले पार्टी कमजोर हुन नहुने तर्क गरे। 

‘म गुटकोे प्रतिनिधित्व गर्छु, स्वभाविक हो तर गुटले कांग्रेस कमजोर हुनुहुँदैन। विचारको गुट हुनुपर्नेमा व्यक्तिको गुट भयो,’ उनले भने। सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै आएका उनले प्रधानमन्त्रीकै रिपोर्ट कार्ड मागेको कुरा दोहोर्‍याए अनि आउँदो चुनावमा कांग्रेस एक्लै लड्ने कि गठबन्धन गर्ने भनेर बहस गर्नुपर्ने अवस्था आएको पनि उल्लेख गरे।

उनले कांग्रेसमा व्यक्तिवादी चरित्र हावी हुँदै गएको र नेतृत्वकै कारण जनतामा आक्रोश पलाएको तर्क पनि गरे। कांग्रेसको विधानले परिकल्पना गरेको प्रदेश संरचनालाई अधिकारविहीन बनाइएको भन्दै उनले अधिकारको पक्षमा वकालत पनि गरे।  

उत्तेजनाको राजनीति गर्ने प्रवृत्ति बढ्दो : गगन 
महमन्त्री गगन थापाले चाहिँ मन्तव्यको क्रममा आफूलाई संघीयताको पक्षमा उभ्याए। उनले कांग्रेसकै नेतृत्वमा संविधान र संघीयता कार्यान्वयनमा आएको जिकिर गर्दै भने, ‘संघीयता चाहिँदैन, केही भएकै छैन भन्ने कोलाहल छ। अनि कांग्रेस पनि होमा हो मिलाउने? २०६२ मा गिरिजाप्रसाद कोइरालाले ल्याएको गणतन्त्र होइन? २०७२ मा सुशील कोइरालाले बनाएको संविधान होइन? २०७४ मा शेरबहादुर देउवाले गरेको निर्वाचन होइन? अनि यसलाई हामीले जोगाउनु पर्ने होइन?,’ उनले भने।

उनले हजार हैन, करोड, अरबौं रुपैयाँको भ्रष्टाचारको कुरा सुनेर जनता निराश पनि उनको तर्क थियो। 

उनले पार्टीलाई भोट हाल्ने संगठित सदस्यबाहेक २२ लाख शुभेच्छुकलाई रुखबाहेक अन्यत्र भोट हाल्न बाध्य पार्न नहुने भन्दै नेपाली कांग्रेसले आउँदो चुनाव एक्लै लड्नुपर्ने तर्क गरे। उनले २०८४ सालको चुनाव आउन ४८ महिना बाँकी रहेको र त्यसको तयारीमा जुट्नुपर्ने धारणा पनि राखे।

अहिले जनता रिसाएको तर्क गर्दै उनले आउँदो ४ वर्षभित्र स्वास्थ्यबीमा निशुल्क गर्नुृपर्ने, त्रिभुवन विश्वविद्यालयमा योग्य व्यक्तिलाई उपकुलपति नियुक्त गर्नेसहित पूर्वाधार निर्माणमा ध्यान दिए कांग्रेसलाई जनताले पत्याउने उनको भनाइ थियो। 

जनताको आक्रोशलाई केन्द्रमा राखेर अन्य दलहरुले उत्तेजनाको राजनीति गरिरहेको आरोप पनि लगाए।

यही प्रसंगमा उनले भने, ‘माओवादीका नेता भनिरहरनुभएको छ, जो रिसाएका छन्, ती गणतन्त्र विरोधी हुन्। केही भन्दैछन्, पञ्चायत आउनुपर्छ।  बा (एमाले अध्यक्ष केपी शर्मा ओली) भन्नुहुन्छ, मैले त भनेकैं थिएँ, म नआएसम्म केही हुँदैन। अर्कोथरी  भन्दैछन्, ए भगवान ०८१ मा अझ बिग्रियोस् ०८२ मा झन् बिग्रियोस् ०८३ मा गल्र्यामगुर्लुम सबै बिग्रोस् भनेको छ। फोहोरको डंगुरमा उभिएर म आउन पाए हुन्थ्यो भन्ने छ। उत्तेजना र घृणाको राजनीति गर्न जो भए पनि हुन्छ,संयमको राजनीति गर्न कांग्रेस चाहिन्छ।’

आउँदो चैतमा संविधान नै खारेज हुनसक्ने सूचना पाएको दावी गर्ने केन्द्रीय सदस्य शंकर भण्डारीमाथि पनि उनी खनिए। उनले भने, ‘धर्मको नाममा ठेकेदारी गर्ने होइन। चैतमा संघीयता सकिन्छ भन्ने? चैतमा वर्ष सकिन्छ, केही हुँदैन।’ 

उनले परिवर्तनको एजेण्डा नेतृत्वले नै बोक्नुपर्नेमा जोड दिँदै व्यङ्ग्यात्मक शैलीमा भने, ‘यो पाँच वर्ष देशलाई समुन्नत बनाउने, कसले बनाउने, लिडरसीपले बनाउने, जिम्मा लिएको मान्छेसँग तागत छैन भने हटाउँछु भनेको सकिएन।’

देउवालाई नेतृत्व छाड्न विश्वप्रकाशको सुझाव 
अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई गुहार गरेर कसैले बचाइदेऊ भन्ने हैन रुपान्तरण खोज्नुपर्ने तर्क गरे।

उनले २०७२ सालतिर पार्टीभित्र सबै ७० वर्ष नाघेकालाई बिदा गर्नुपर्छ भन्ने कुरा आउँदा आफू त्यसको विपक्षमा उभिएको र उमेर हैन एजेण्डाको कुरा गर्नुपर्छ भनेको सम्झँदै भने, ‘हामीले एज होइन एजेन्डा भन्दै गर्दा ७३ सालमा एमालेले ७० वर्ष नाघेकालाई बिदा गर्ने भन्यो। तर, १० महिनाअघि त्यो हटायो, किनभने बा को उमेर ७० नाघ्यो।’

उनले कांग्रेसले आउँदा दिनमा कांग्रेसले प्रधानमन्त्री बन्दैगर्दा दुईपटक मात्र होस, तीनपटक नहोस् मन्त्री तीनपटक होस, चारपटक नहोस भन्ने एजेण्डा स्थापित गर्नुपर्ने तर्क पनि गरे।

उनले अघि थपे, ‘यसो भन्दैगर्दा मलाई सभापतिले अस्ति भन्नुभयो, भाइ यो नीति पहिल्यै लिएको भए त म पहिल्यै बिदा भइसक्दो रहेछु। त्यो नीति थिएन त्यसकारण पाँचपटक प्रधानमन्त्री बन्नुभयो। नीतिले रोकेन। यो पद्धतिलाई सुधार गरेर जानुपर्छ। मैले यो भन्दै गर्दा सभापतिलाई लागिहाल्ला मैले यो नीतिलाई पालना गर्न पाइन कसो गर्ने होला? भैगो त, महाधिवेशनबाट सभापति म लड्न पाउँदिन, यो प्रधानमन्त्रीको भारी पनि कति बोकिरहने हो कोही त अगाडि सर भन्दिए पुग्छ। यसले राम्रो सन्देश दिन्छ र सम्भावना पनि छ। ढिलोचाँडो यो हुन्छ। यो कांग्रेस बचाऔँ भन्ने कुरा होइन, रुपान्तरणको कुरा हो।’

पार्टी उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङले भ्रष्टाचारविरुद्धको अभियानमा लाग्ने प्रतिवद्धता जनाए। उनले आफ्नै जिल्लाका नेता गोपालमान श्रेष्ठलाई आउँदो राष्ट्रिय सभाको चुनावप्रति मरिहत्ते नगर्न मञ्चबाटै आग्रह गरे। हिजो त्याग गरेकालाई राष्ट्रियसभामा लैजानुपर्ने भन्दै उनले गोापालमानलाई आउँदो चुनावपछि राष्ट्रपति बन्न सुझाए। 

पार्टी सहमहामन्त्री जीवन परियारले दलितका पीर र समस्यालाई पार्टीले गम्भीरतापूर्वक मनन गर्नुपर्ने औंल्याए।

संयमित देउवा, पार्टी एकतावद्ध बनाउने उद्घोष 
सबैको तारो बनेका सभापति देउवाले चाहिँ अन्त्यतिर पार्टीलाई एकतावद्ध बनाएर ठूलो पार्टी बनाउने उद्घोषमात्र गरे। उनले कसैको आलोचनामा समय बिताएनन्।

आफ्नो संक्षिप्त मन्तव्यको क्रममा पार्टी भित्र अन्तरघात भएको स्वीकारे तर ‘जसरी भए पनि एक गराएर, एकता गराएर हाम्रो पार्टीलाई भरसक बहुमतको पार्टी बनाऊँ, नभए पनि ठूलो पार्टी बनाऔं’ भन्ने आह्वान गरे। 

‘पार्टीमा एकता हुन्छ कि हुँदैन भन्ने चिन्ता छ तर एकतावद्ध बनाउने विश्वास छ,’ उनले भने, ‘यो संविधान समावेशी, समानुपातिक प्रणालीमा एउटा पार्टीको बहुमत सम्भव छैन। त्यसलै चाहिँ कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ। हाम्रो पार्टीको सिद्धान्त आदर्शमा सबै पार्टीहरू आएका छन्। हाम्रो पार्टीको जित भएको छ। मल्टीपार्टी डेमोक्रेसी हाम्रो आदर्श हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .