नेपालस्थित विदेशी कुटनीतिज्ञहरुलाई पोखराको सुन्दरताले मात्र हैन, यसको सामरिक महत्वले पनि तानिरहन्छ। त्यसैले औपचारिक र अनौपचारिक रुपले विदेशी कुटनीतिज्ञहरू पोखरा आइरहन्छन्।
दातृ राष्ट्रका थुप्रै परियोजना संचालनमा रहेकाले पनि उनीहरूको आवागमन स्वभाविक हुन्छ। यही उपक्रममा नेपाल भ्रमणमा आएकी अमेरिकी उप–विदेशमन्त्री जेनी वाइनी बिहीबार पोखरा आएकी छन्।
उनी अमेरिकी सरकारको आप्रवासन विभागकी उप सहायक सचिव पनि हुन्। अमेरिकी सरकारको जनसंख्या, शरणार्थी तथा आप्रवासन विभागको वेवसाइट अनुसार पूर्वी एसिया र दक्षिण मध्य एसियामा अमेरिकी सरकारले संचालनमा ल्याएका मानवीय सेवाका परियोजनाहरू उनको जिम्मेवारीका क्षेत्र हुन्।
सो विभागको नीति निर्माण पनि उनकै जिम्मेवारी हो। सम्भवतःपोखरामा आश्रित तिब्बती शरणार्थी पनि उनकै कार्यक्षेत्र अन्तर्गत पर्छ।
पोखरा भ्रमणमा आएकी जेनी वाइनीले बिहीबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पनि भेटघाट गरिन्। मुख्यमन्त्री पाण्डेको सचिवालयका अनुसार सो भेटमा मुख्यमन्त्री पाण्डेले बसाइँसराइ रोक्न र गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने खालका परियोजनामा गण्डकी सरकारले अमेरिकाको साथ खोजेको बताए।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको प्राथमिकताका क्षेत्रहरु व्यावसायिक कृषि, स्वास्थ्य, शिक्षामा पनि दातृ निकायसँग सहकार्य गरेर अघि बढ्न सकिने धारणा राखेको उनको सचिवालयले जनाएको छ।
भेटघाटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले विपद् पूर्वतयारी र प्रतिकार्य, शुद्ध पिउने पानी र सरसफाइ, स्वास्थ्य, साक्षरता, जीविकोपार्जन, दीगो आर्थिक बिकासको अवस्था र संभावनाका बारेमा जानकारी गराएका थिए।
Shares

प्रतिक्रिया