ad ad

गण्डकी


आफूलाई सडकमा अलपत्र छाडेर भाग्ने छोरा आउने आशमा यी बुवा

आफूलाई सडकमा अलपत्र छाडेर भाग्ने छोरा आउने आशमा यी बुवा

७० वर्षीय केशवराज पाठक


डम्मर बुढा मगर/रासस
भदौ २८, २०८० बिहिबार १२:४४, ढोरपाटन (बागलुङ)

आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन। आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशीर्वाद लिने चलन छ। बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन्। आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ। 

बागलुङको बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ७० वर्षीय केशवराज पाठकलाई पनि त्यस्तै लागेको थियो। तर उनले चाहेर पनि आफ्नो सन्तान सँगसँगै हुन पाउनु भएको छैन। अहिले उनी बागलुङस्थित मानव सेवा आश्रमको आश्रयमा छन्। हरेक दिन आश्रमको प्रवेशद्वार नजिकै अनुहार चाउरिएको, सेतै कपाल फुलेका तथा हातमा सानो मोबाइलमा गीत बजाएर सुनिरहेको अवस्थामा भेटिने पाठक आफ्ना छोराहरु लिन आउँछन् भन्ने आशमा छन्।

उनको निन्याउरो अनुहारमा धेरै निरास र अलिअलि आशाका किरण देखिन्छन्। पाठकले मानवसेवा आश्रमभित्र प्रवेश गर्ने सबैलाई नमस्ते गर्दै स्वागत गर्ने गर्छन्। पाठक दुई वर्षदेखि मानव सेवा आश्रममा बसिरहेका छन्। उनी घरीघरी छोराहरुलाई सम्झिन्छन्। तर छोराहरु भने उनलाई सम्झँदैनन्। 

पाठकका तीन भाइ छोरा छन्। जेठो र माइलो भारतको वनारसमा छन् भने कान्छो छोरा भने कुवेतमा छन्। पाठकका दुई बुहारी र ६ नातीनतिना पनि छन् तर उनलाई कसैले पनि सम्झिँदैनन्। तीन वर्ष अगाडि श्रीमती गुमाएका पाठकले कान्छी बुहारीसँग केही महिना बिताए।पोखराबाट लुम्बिनी जाने क्रममा बीच सडकमै अलपत्र पारेर छोरा बुहारी सम्पर्कविहीन भएपछि पाठक बागलुङ फर्किए। बागलुङ फर्किएपछि मानव सेवा आश्रममा आए। अहिले पाठकका दिन आश्रममै बित्ने गरेका छन्। 

आज भाद्र कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन। आजको दिनले पाठकलाई निकै पिरोल्ने गर्छ। छोराहरुले सानो छँदा बाबा भनेर अँगालो र पिठ्युँमा झुन्डिएको यादले उनलाई सताउँछ। अहिले तिनै छोराले नसम्झिँदा मन दुख्ने पाठकले बताए। छोराहरु हुर्काउन, बढाउन र पढाउन आफूले निकै सङ्घर्ष गरेको सुनाए। अझै पनि छोराहरुले आफूलाई साथैमा लिएर पाल्ने आश उनमा छ। तर जेठो र माइलोसँग चार वर्षदेखि र कान्छोसँग तीन वर्षदेखि उनको सम्पर्क भएको छैन। 

‘म सामान्य परिवारको मान्छे हुँ, मेरा छोराहरुले दुःख पाउँछन् भनेर मैले २० वर्ष भारतमा रगत पसिना बगाएर धन कमाएँ, बूढीले गाउँघरमा हातखुट्टा बजारेर उनीहरुलाई हुर्काइन्, उनीहरुले पढ्न जाहेजति पढाएँ पनि, जब बुढी बिती, त्यसपछि छोराहरुले मलाई हेर्न छाडे’, पाठकले भने, ‘अब हातपाखुरा बस्न थाले, छोराहरुले पनि मलाई एक्लो बनाए, किन मलाई यस्तो ठाउँमा पुर्‍याए मैले केही बुझ्न सकेको छैन, अझै पनि आश त लाग्दो रैछ लैजान्छन् कि भन्ने तर अहिले कहाँ छन्, के गर्दै छन् केही थाहा छैन।’

पाठकले छोराहरु पाल्न पुस माघको जाडोमा खाली खुट्टा स्याङ्जाबाट नुन र चामल बोकेर ल्याएर खुवाएको तर अहिले त्यो दुःख भुलेर छोराहरुले आफूलाई हेला गरेको गुनोसो गरे। गाउँमा थोरै जग्गा जमिन भए पनि आफू आश्रममै बस्ने गरेको पाठकले बताए। कुशे औँसीमा आफूले बाबाको मुख हेर्ने गर्दा छोराहरुले त्यो सिके पनि अहिले स्वार्थी बनेको गुनासो पोखे। 

पछिल्लो समय पाठकलाई जस्तै धेरै सन्तानले आफ्ना बाबाआमालाई आश्रममा राख्ने गरेको पाइन्छ। अहिले धेरै युवा परदेशमा छन्। गाउँमा बूढा बाआमा मात्रै छन्। पाठकले समय समयमा आफ्नो परिवारलाई सम्झेर निरास हुने गरेको मानव सेवा आश्रम बागलुङकी प्रमुख विपना तामाङले बताए। परिवारले नहेरेपछि पाठकलाई आश्रममा ल्याइएको तामाङको भनाइ छ। अहिले पाकठले आश्रममा निकै इमान्दार भएर बसेको भन्दै सकेको कामसमेत गर्ने गरेको उनले सुनाए। 

‘बुबाले आफ्नो छोराहरुलाई धेरै सम्झिनुहुन्छ, तर छोराहरु कहाँ हुनुहुन्छ भन्ने थाहा छैन, उहाँले विदेश छन् भन्नुहुन्छ, अहिलेसम्म उहाँहरु बुबालाई भेट्न एकपटक पनि यहाँ आउनुभएको छैन, धेरै दुःखका कुरा गर्नुहुन्छ’, तामाङले सुनाए’, ‘यहाँ बस्न थालेको धेरै समय भयो, बूढाबूढी मान्छे सकेको काम गर्न खोज्नुहुन्छ, आश्रममा धेरै बालबालिका पनि छन् उनीहरुलाई हेर्ने, अरु काम पनि गर्छु भन्नुहुन्छ, जस्तो भए पनि बुबालाई भेट्न आउनुपर्थ्यो, छोराहरु आए हुन्छ? भन्दा जान्छु भन्नुहुन्छ, बेला बेला निराश हुने गर्नुहुन्छ, हामीले सम्झाउने गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .