ad ad

गण्डकी


पोखरामा भारत–चीन प्रभाव विस्तारको होड, एकैदिन दुवै दूतावासका कार्यक्रम

पोखरामा भारत–चीन प्रभाव विस्तारको होड, एकैदिन दुवै दूतावासका कार्यक्रम

वाशुदेव मिश्र
असार ५, २०८० मंगलबार २२:२४, पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् उद्घाटन भएको ६ महिना भइसक्यो। करिब २८ अर्ब रुपैयाँ चिनियाँ ऋणमा निर्मित विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। 

विमानस्थल संचालन हुनासाथ भारतको वाराणसी र दिल्लीलगायतका सहरमा उडान भर्ने तयारी गरेका विमान कम्पनीहरु भारतले अनुमति नदिँदा यत्तिकै रोकिएका छन्। पोखराबाट सिधा हवाइ उडान अनुमतिको लागि उड्ने बाटो चाहिन्छ।

अहिले नेपाल आउने रुट भनेको सिमराको आकाशमात्रै हो ।नेपालले भारतसँग नेपालगञ्ज र महेन्द्रनगर,भैरहवा,जनकपुर प्रवेश रुटको लागि अनुरोध गर्दै आइरहेको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा थप हवाइ रुट दिनेबारे ‘भारत सकारात्मक भएको’ घोषणा त गरियो तर परिणाम आइसकेको छैन। 

कुटनीतिक वृत्तको कुरा पत्याउने हो भने, भारत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संरचनासँग खुसी छैन। सबैभन्दा बढी भारतीय भूतपूर्व सैनिक रहेको यो क्षेत्रलाई भारत सामरिकमात्र हैन, आफ्नो सांस्कृतिक र भावनात्मक थलो मान्छ।

हुन पनि सन् १९६० देखि पोखरामा पेन्सन वितरणको लागि क्याम्प रहेको छ। नेपालमा १ लाख ४० हजारको हाराहारीमा गोर्खा भूतपूर्व सैनिक रहेको अनुमान छ। तीमध्ये ठूलो हिस्सा गण्डकीकै छ।

गण्डकीका हरेक गाउँमा पुग्दा सुवेदार, मेजरदेखि अनेकौं पदका पूर्व भारतीय सैनिक भेटिनुले त्यसको पुष्टि गर्छ। उनीहरुको सम्पूर्ण जानकारी ‘भारतीय डिफेन्ड विङ्स’ले राख्छ। पोखरा १० मा रहेको सो क्याम्पमा सेनाका मेजरसहित करिब ७० जनाको डफ्फा रहन्छ।

त्यसको अलवा उसले गण्डकीका विभिन्न जिल्लामा पेन्सन वितरणको लागि भनेर शिविर सञ्चालन गर्छ। भारतको चासो उत्तरी चीनका गतिविधिसँग भएकोमा कुनै द्धिविधा छैन। 

पूर्वप्रधानमन्त्री स्वर्गीय कीर्तिनिधि विष्ठकै कुरा मान्ने हो भने, भारतीय सेनाले २०२६ सालसम्म नेपालका उत्तरी नाकामा २६ वटा चौकी नै स्थापना गरेको थियो। उनले आफ्नै नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले ती चौकी हटाएको दाबीसमेत गरेका छन्। 

कुरा प्रष्ट छ, भारतको चासो गण्डकीमा ज्यादा छ। गुरुङ र मगरहरुको बाक्लो बस्ती रहेको पोखरालगायतका क्षेत्रसँग भारतको अर्को सम्बन्ध पनि छ। भारत निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामाको क्षेत्र हो– त्यो।

दलाइकै समर्थकले सन् १९५९ देखि विद्रोह सुरु गरे। त्यो विद्रोहको ‘निभेको ठुटा’हरु अहिले पनि पोखरालगायतका क्षेत्रमा देखिन्छ। यहाँ तिब्बती शरणार्थी क्याम्पमा रहनेहरुलाई चीनविरोधीको दर्जा दिइन्छ।

तिब्बती शरणार्थीहरुसँग भने भारतकोभन्दा अमेरिकाको चासो बढी छ। तर, मुस्ताङको कोरोला नाकाबाट सबैभन्दा नजिकको तेस्रो मुलुक हो। कोरोलाबाट मुस्ताङको सदरमुकाम ११० किलोमिटरको दूरीमा छ भने पोखरासम्म आउन १६० किलोमिटरको थप यात्रा गर्नुपर्छ। 

पोखराबाट भारतीय नाका भैरहवा १८७ किलोमिटर टाढा छ। किफायति भाषा प्रयोग गर्दा भारतीय सेनामा भर्ति हुनको लागि प्रख्यात मानिएको ‘कुनाघाट कयाम्प’ पोखराबाट धेरै टाढा छैन। भारतीय सेनाको क्याम्प नजिक रहेको र धेरै भूतपूर्व सैनिक रहेको क्षेत्रमा भारतले आँखा लगाउनु अस्वभाविक हैन। 

भारतीय सञ्चारमाध्यमलाई पत्याउने हो भने, भारत पोखरामा चिनियाँ लगानीमा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको खिलापमा छ। खासगरी एयरपोर्टको ढलान गरिएको रनवेमा ‘फाइटर विमान’ ल्याण्ड हुने भारतीय पक्षको जिकिर रहँदै आएको छ। जानकारहरु भन्छन्, ‘भारत यही कारणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा इच्छुक छैन।’

यो भारतको कुरा भयो, काठमाडौं–पोखरा जोड्ने पृथ्वीराजमार्ग, पोखरा–बागलुङ जोड्ने भूपी शेरचन राजमार्गदेखि अनेकौं संरचनामा सघाएको र पछिल्लो समय विमानस्थलको लागि ऋण दिएको चीन पनि पछिल्लो समय पोखरासँग जोडिन खोजेको छ।

पोखराबाट तिब्बतको दूरी नजिकको छ। पोखरामा रहेका तिब्बती शरणार्थीहरुका गतिविधि पनि चीन मैत्री छैनन्। त्यसैले चीनको आँखा पोखरातिर छ। पछिल्लो समयमा चिनियाँ लगानी थपेर हुन्छ कि त्यताका व्यवसायीलाई पोखरा पठाएर हुन्छ, चीनले पोखराका गतिविधि नियालिरहेको छ। 

चीनसँग नजिक रहेका एक व्यवसायी भने यो तर्क सोझै अस्वीकार गर्छन्। उनी भन्छन्, ‘चीनले पछिल्लो समय आर्थिक समृद्धि गरेको सबैलाई थाहा छ, ऊ व्यापार बढाउन चाहन्छ र छिमेकी देशलाई प्राथमिकतामा राख्नुलाई अन्यथा लिनुहुँदैन।’

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नभए चीन सरकारको स्वीकृतिमा आएको ऋणको ब्याज तिर्न नै नेपाललाई मुस्किल पर्ने चाहिँ उनले स्वीकारे। त्यही कारण चीन पोखरा विमानस्थल जसरी पनि संचालन हुनुपर्छ भन्ने पक्षमा रहेको पनि उनको जिकिर छ।

चिनियाँ विमान पहिलो पटक पोखरामा 
चीनकै सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाज अवतरण हुँदैछ। 

चीनको सिचुवान एयरलायन्सको चार्टर्ड विमान बुधबार पोखरा विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ। चीनको छेङ्दुबाट उडने विमानमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेत आउने तय भएको छ। अध्यक्ष तिमिल्सिना हाल चीन भ्रमणमा छन्। उनी चीन भ्रमणमा रहँदा पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानबारे चिनियाँ अधिकारीहरु कुराकानी भएका समाचारहरु बाहिरिएका छन्।

चीनले राष्ट्रियसभाका अध्यक्षलाई नै पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा उतारेर एयरपोर्ट संचालनमा चिनियाँ चासो व्यक्त गर्न खोजिरहेको एक सरकारी अधिकारीले बताए। पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानलाई यहाँका पोखरा महानगरपालिकादेखि अन्य पर्यटनसम्बद्ध संस्थाले सघाएका छन्।

कतिसम्म भने सो कार्यक्रमको औपचारिक निमन्त्रणामा नेपालस्थित चिनियाँ राजदूतावासको पनि आयोजकको सूचीमा रहेको छ। त्यसो त, त्यो विमानमा पोखराको फेवातालमा असारको ८ र ९ गते आयोजना हुने ‘नेपाल–चीन फ्रेण्डसीप  ड्रागन बोट रेस’मा सहभागी पनि आउँदैछन्। सो विमानमा कुन्मिनका मेयर लिउ ज्याचेन,लिञ्जीका मेयर बा टालगायतका उच्च पदस्थ अधिकारी आउँदै गरेका पोखरामा मेयर धनराज आचार्यले जानकारी दिए।

उनका अनुसार ड्रागन बोट रेस विश्वभर प्रसिद्ध छ। चीनले विभिन्न ५० वटा देशमा यस्ता प्रतियोगिता आयोजना गर्नेगर्छ। यो खेल एसियन गेममा पनि सामेल छ। 

प्रतियोगिताको  लागि चीनबाट ८ वटा डुंगा ल्याइसकिएको छ। डुंगाहरुको मूल्य ३० करोड हाराहारीमा भएको र प्रतियोगितापछि ती डुंगा पोखरालाई हस्तान्तरण गरिने उनले जनाए। दक्षिण एसियामै पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिताकै लागि १२० जना खेलाडी पोखरा आउने उनले बताए।

पोखरामा आयोजना हुने प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा सघाउने उनको भनाइ छ। 

‘पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन, चार्डर्ड विमान आउँदैछ, यो अध्याँरोमा जुनकिरीको उज्यालोजस्तै हो,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणमा पनि एयररुटको कुरा भएको छ, पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन्छ।’

चीनलाई टक्कर दिँदै भारत 
पोखरामा चिनियाँ गतिविधि बढेसँगै भारतले पनि थप सक्रियता देखाएको छ। पोखराका पर्यटन व्यवसायीहरुसँग विरलै सहकार्य गर्ने नेपालस्थित भारतीय राजदूतावासकै आयोजनामा बुधबार पोखरामा योग शिविरको आयोजना हुँदैछ।

योग शिविरको लागि भारतीय राजदूतावासले यहाँको पोखरा रंगशाला चुनेको छ। त्यो भारतीय पेन्सन क्याम्प नजिकै पर्छ। सो कार्यक्रममा नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तव नै पोखरा आउँदैछन्।

कतिसम्म भने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाइमा संयुक्त राष्ट्रसंघले मनाउन थालेको योग दिवसमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नै आउनेसम्मका कुरा थिए। योगी यो कार्यक्रममा नआउने निश्चित भएको छ।

तर, देखिएको सत्य यही छ, पोखरामा छिमेकी भारत र चीनले प्रभाव विस्तार सुरु गरिसकेका छन्। जानकारहरू भन्छन्, ‘यो श्रृंखला आउँदा दिनमा अझ बढ्ने निश्चित छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .