ad ad

गण्डकी


ठ्याक्कै हर्क साम्पाङको अभियानजस्तै पोखरामा उहिले गरिएको त्यो श्रमदान

ठ्याक्कै हर्क साम्पाङको अभियानजस्तै पोखरामा उहिले गरिएको त्यो श्रमदान

फेवातालको पुछार। जहाँ उहिले स्याउला र ढुंगाले बाँध बाँधिन्थ्यो।


वाशुदेव मिश्र
जेठ २९, २०८० सोमबार १३:४६, पाेखरा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ श्रमदानमा व्यस्त छन्। ‘काकाकुल’ धरानवासीलाई पानी खुवाउने ‘भगीरथ’ अभियानमा होमिएका हर्कले हजारौँ जनताको साथ पाएका छन्। उनी स्वयं धरानको पश्चिम–उत्तरमा पर्ने कोकाहा खोला क्षेत्रमा श्रम गरिरहेका छन्। 
हर्क जे गर्दै छन्, त्यो नयाँ कुरा होइन। नयाँ त उनको इच्छा-शक्तिमात्र हो। नत्र अहिले अस्तित्वमा रहेका पुराना बाटोघाटो–कुलोकुलेसो निर्माणमा जनताकै श्रम परेको छ। हर्कसँगै मेयर बनेका धनराज आचार्यको पोखरा महानगरमा पनि सिँचाइका लागि त्यस्तै श्रमदान गरिएको इतिहास छ। 

 हाल फेवामा रहेको बाँध। जसबाट विद्युतसमेत उत्पादन गरिन्छ।

तर, त्यो गर्विलो परम्परा मेयरलाई मात्र होइन, अहिलेको पोखराका धेरैजसोलाई थाहा छैन। होस् पनि कसरी? यो १८औँ शताब्दीतिरको कुरा हो। ताल नै तालको सहर पोखराका मेयर धनराज आचार्य जन्मनुभन्दा धेरै अघिको! 

जतिबेला नेपाल एकीकरण भएकै थिएन। गण्डकीमा चौबीसै राज्य अस्तित्वमा थिए। फेवामा अहिले र त्योभन्दा पहिले भत्केको बाँध बनेकै थिएन। फेवापारिको नुवाकोटे, तलतिरको विरौटा क्षेत्रको पाल्पाली बिरुवा फाँटमा ‘क्रंक्रिट जंगल’ ठडिएकै थिएन। फुस्रेखोलापारिको नुवाकोटे फाँट पनि उस्तै थियो। 

फेवाताल कास्कीकै स्वामित्वमा थियो तर यसको दक्षिणतिर चौबीसेमध्येको शक्तिशाली नुवाकोट पर्थ्यो। पूर्वतिर कास्की र ढोर राज्य, दक्षिणमा ढोर, भीरकोट, सतहुँ, पश्चिममा पर्वतको सतहुँ, उत्तरमा कास्की थिए। चौबीस राज्यमध्ये नुवाकोट शक्तिशाली थियो। हालको चर्चित डेभिजफल र  छोरेपाटन क्षेत्र नुवाकोट राज्यअन्तर्गत पर्थ्यो। इतिहासकार डा. राजाराम सुवेदीद्वारा लिखित स्याङ्जास्थित चौबीसे राज्यहरूको इतिहास भन्ने पुस्तकका अनुसार एकीकरणपूर्व छहज्जार नुवाकोट भनिने नुवाकोट राज्यको सीमा फेवातालले छुट्टयाउँथ्यो। बस्ती बाक्लो थिएन। फेवा किनारमा जलारीहरूको बस्ती थियो। पुछार (जसलाई अहिले ड्यामसाइड भनिन्छ) त्यहाँ केही घर थिए।

कहिले मिल्ने र कहिले भिड्ने कास्की, नुवाकोट, पाल्पालगायतका चौबीस राज्य मिलेका बेला सहयोग आदानप्रदान गर्थे। कास्की र पाल्पा मिलेको समय थियो। कास्कीका राजाले पाल्पाका केही बासिन्दालाई पोखरा बोलाए। पोखराको विरौटा क्षेत्रको जमिन ‘बिर्ता’का रूपमा दिए। जग्गा पाउनेमध्ये एक थियो– आचार्य परिवार। ९४ वर्षीय लीलाभक्त आचार्यका अनुसार यो सत्रौँ शताब्दीतिरको कुरा थियो। उनका बूढा जिजु हजुरबुबा र जिजु हजुरबुबा रामकृष्णहरू बिर्ता पाएर विरौटा सरेका थिए। उनीहरू विरौटाका मुखिया र चिताइदार थिए। 

लीलाभक्त आचार्य

फेवाको पानी बगेर फुस्रेखोलातिर जान्थ्यो। वरपरका फाँटहरू सुक्खाजस्तै थिए। स्थानीयले कलकल बगेको फेवाको पानी फाँटमा पटानी गर्ने हिम्मत जुटाए। स्याउला, माटो र ढुंगाको बाँध बाँधेर कुलो बनाए। फाँटमा पोखरेली पहिचान बोकेको जेठोबूढो र पहेँले लहलह झुलाए। 
फेवाताल सिरानतिर फुकेको र पुछारतिर सुकेको छ।

नहर

हाल विरौटा निवासी ९४ वर्षीय लीलाभक्त आचार्यका अनुसार स्थानीयले अहिले फिस्टेल होटल बनेको ठाउँमा बाँध बाँधेर कुलो खन्ने काम गरेछन्। कुलो खन्न छोरेपाटन र हालको विरौटा क्षेत्रका बासिन्दासँगै श्रमदानमा उत्रिएछन्। स्याउला, ढुंगामाटो, निगालो-बाँस हालेर बाँध बाँधिन्थ्यो। बर्खा नलाग्दै बाँध तयार गरिन्थ्यो रे! बाँध बाँध्न सघाउनकै लागि कास्कीका तारकाङ (हालको मादी गाउँपालिका) सहित विभिन्न गाउँबाट मानिसहरू श्रमदानका लागि आउँथे रे! ठ्याक्कै हर्क साम्पाङको अभियानमा जस्तै।

फेवाताल अहिलेको स्वरूपमा त थिएन तर बर्खामा आउने बाढीले बाँधमा क्षति पुर्‍याउँथ्यो। हरेक हिउँदमा श्रमदानको श्रृंखला दोहोरिन्थ्यो।हाल कास्कीको मादी गाउँपालिकाको तारकाङमा जन्मेका मित्रलाल सापकोटाका अनुसार तालमा बाँध बनाउन अन्यत्र जिल्लाका मानिस पनि बोलाइन्थ्यो। सूचना गरिन्थ्यो। तत्कालीन समयमा तारकाङ लमजुङ जिल्लामा पर्थ्यो। 

केउरिन, सिनेचौर, डाँडाथोकलगायत ७ गाउँका मुखिया जनतालाई रैती ठान्थे। 

‘बाँध निर्माणमा जुट्न कटुवाल लगाइन्थ्यो, जिमुवालले मसमेत ५०/६० जवानसहित बाँध खोलिएको ठाउँमा काम लगाउन थाले’, उनले भनेका छन्, ‘त्यो समय हामी गएका जनताहरू २/३ दिन काम गरेर फर्कन्थ्यौँ। बस्ने, खाने प्रबन्ध उतैकाले मिलाउँथे।’ २०१८ सालपछि भने त्यो उपक्रम रोकिएको थियो। 

लीलाभक्तको पुर्ख्याैली घर पाल्पाको अर्घलीफाँटमा ५ सय वर्षअघि नै असम्भवजस्तो लाग्ने ‘राजकुलो’ बनाएर बाह्रै महिना सिँचाइको प्रबन्ध गरिएको थियो। पाल्पाली जनतालाई बिर्तासहित पोखरा बोलाउनुमा सीप हस्तान्तरणको चाहनासमेत हुनसक्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको अनुमान छ।

‘हिजो हतियार बनाउने सीपका लागि भारतबाट मुसलमानहरू ल्याइएकै हो, त्यो बेला सीप हस्तान्तरण गर्ने तरिका नै यस्तै हुन्थे, पाल्पालीलाई बिर्ता दिनुमा पनि त्यस्तै उद्देश्य हुनुपर्छ’,  मुल्मीले भने। पाल्पानजिकै रहेको अर्घलीफाँटमा लैजाने राजकुलो राजा मणिमुकुन्द सेन प्रथमले निर्माण गराएका हुन्। ७ किलोमिटरमाथिबाट डरलाग्दो चट्टान र भीर फोडेर बनाइएको राजकुलोबाट अहिले पनि समानुपातिक रूपले पानी वितरण भइरहेको छ। 

पछि भने कास्कीका राजाहरूले कुलो बनाउन सेना नै खटाउन थाले। लीलाभक्तले हजुरबाबाट सुनेका कुरा यसरी सुनाए, ‘कवाज खेल्नका लागि फेवा किनारमा मुकाम जमाएका कास्कीका राजा एकदिन विरौटा चोकको हाम्रो घरमा आएछन्। राजा पिँढीमा बसेका छन्। बर्खा लाग्दै रहेछ। त्यो बेला धान नहुने।  बारीमा फलेको फर्सीको मुन्टाको तरकारी र कोदोको रोटीले राजालाई स्वागत गरिएछ। राजाले के को रोटी भनेर प्रश्न गरेछन्।  सरकार, कोदोको रोटी हो, पानी नहुँदा यहाँ धान उत्पादन हुँदैन भनेपछि राजाले नै फौज लगाएर फेवामा बाँध बाँध्न लगाएछन्।’ २०३१ सालमा फेवातालको बाँध भत्कँदा पुनर्निर्माणका लागि लीलाभक्त स्वयं पनि सक्रिय थिए। 

लामो समय पोखराको सिँचाइ डिभिजन कार्यालयमा बिताएका इन्जिनियर वसन्त पौडेले पनि त्यो भनाइमा सहमति जनाए। ‘कुलो बनाउन सेना खटाइएको हामीले पनि सुनेको हो। त्यतिबेला सेनालाई मिलिसिया भनिन्थ्यो’, उनले भने, ‘मिरसुब्बाले खनेकाले कुलोलाई मिरुवा कुलो र फाँटलाई नै मिरुवा फाँट भनिएको हो। मिरुवा फाँट सिँचाइ गर्नका लागि स्थानीयले छुट्टै कुलो खनेका थिए। मिर सुब्बा भनिन्थ्यो। सेनाको साथ लिएर फिस्टेल तल ढुंगा, माटो, स्याउला प्रयोग गरेर कुलो बनाइन्थ्यो।’

१८४० फागुन २० गते भएको युद्धमा हारेसँगै दीर्घ शाहीको नुवाकोट र १८४२ को युद्धमा दीर्घनारायण शासित कास्की पनि विशाल नेपालमा गाभिए। तर, फेवामा कुलो निर्माणको त्यो परम्परा पछिसम्मै कायम थियो। 

१९८८ सालमा ठूलो बाढी आएछ। कुलो भत्केपछि तत्कालीन श्री ३ महाराज जुद्ध शमशेरले इँटाको धुलो, चूर्ण, ढुंगामाटो प्रयोग गरी पुनः कुलो बनाइदिएको लीलाभक्तले बताए। जुद्ध शमशेर १९८३ मा श्री ३ महाराज बनेका थिए। 

सिँचाइमै लामो समय बिताएका अर्का इन्जिनियर भूपेन्द्र गौचनका अनुसार पाल्पाली र नुवाकोटे कुलोका अस्तित्व पछिसम्मै थिए। अहिले पनि फेवा पारिपट्टि जंगलमा नुवाकोटे कुलोका भग्नावशेष देख्न सकिन्छ। पाल्पाली कुलोचाहिँ बीचमा आएपछि पुनः दुईवटा बनाइएको थियो। २०१६ सालमा आधुनिक बाँध बनाउँदा पनि पानी वितरणमा पुरानै परम्परा पच्छ्याइएको उनले सुनाए। 

‘पाल्पाली र नुवाकोटे कुलो यो बाँध बनेपछि देखेको हो, हामीले सुनेअनुसार फिस्टेल भएको तिर बाँध बनाएर त्यो कुलो ल्याइन्थ्यो रे’, उनले भने, ‘२०१६ सालको आधुनिक बाँध भत्केपछि बनेको नयाँ नहरले १५ हजार रोपनी क्षेत्रमा सिँचाइ गरिन्थ्यो। अहिले त मिरुवा फाँटमा खाली जग्गा नै छैन, कुलाहरू कामविहीन भएका छन्।’

२०१६ सालमा बनाउन सुरु गरिएको फेवा बाँध २०१८ सालमा सम्पन्न भएको थियो। राजा महेन्द्रले २०१८ मंसिर ३ गते बाँधको उद्घाटन गरेका थिए।

भारतको सहयोग रहेको बाँध निर्माणमा १५ लाख रुपैयाँ खर्च भएको थियो। ४६ फिट उचाइ, २९४ फिट लम्बाइको बाँध, ८ माइल लामो नहरसहित त्यहाँबाट १ हजार किलोवाट बिजुली उत्पादन हुन्थ्यो। त्यो बेला फेवातालको क्षेत्रफल ४ वर्गकिलोमिटर थियो। 

तर, २०३१ सालतिर बाँध भत्क्यो। बाँध पुनर्निर्माण सुरु गरियो। संयुक्त राष्ट्र संघको सहयोगमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले २०३४ कात्तिकमा नयाँ बाँधको शिलान्यास गरे। २०४१ जेठमा तत्कालीन जलस्रोतमन्त्री पशुपति शमशेर राणाले बाँधको उद्घाटन गरेका थिए। 
नयाँ बाँध बनेको ४० वर्ष भइसकेको छ। इन्जिनियर वसन्तका अनुसार बाँधले जति प्रतिफल दिनुपर्ने हो, त्यति दिइसक्यो। अब मर्मतको समय आएको उनको भनाइ छ। 

‘३५० हेक्टरमा सिँचाइ हुन्थ्यो। मैले मास्टर्स गर्दा थेसिस लेखेको छु’, उनले भने,‘नहरमा ९ क्युबिक मिटर पानी जान्छ। पोखराको फर्मेसन त्यस्तो छ कि कहाँनेर छिद्र छ, थाहा नै हुँदैन। मिरुवा फाँटमा यस्ता छिद्रहरू धेरै छन्। त्यसैले सबैभन्दा बढी पानी चाहिने खेत नै मिरुवा हो।’

अहिले सिँचाइका लागि बनेको नहर झण्डै उपयोगहीन भएको छ। नहरलाई हिँड्ने बाटो बनाइएको छ। कुलाहरू मासिएका छन्। फेवा सिँचाइमात्र नभएर सेती सिँचाइ र विजयपुर सिँचाइ आयोजनाअन्तर्गतका नहरको पानीले सिञ्चित हुने जग्गामा घर ठडिएका छन्।

‘जग्गा मासिएपछि नहर प्रयोगहीन भयो, आयात प्रतिस्थापनमा सहयोग गर्ने उत्पादन हरायो’, इन्जिनियर वसन्तले दुखेसो पोख्दै भने, ‘परम्परागत सीप पुस्तान्तरण हुन पाएन। रैथानै खाद्यान्न हराए।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .