गण्डकी


बागलुङका ३७ वडा पहिरोको उच्च जोखिममा

बागलुङका ३७ वडा पहिरोको उच्च जोखिममा

बागलुङ/ताराखोला। फाइल तस्वीर


रासस
चैत २८, २०७९ मंगलबार १२:५२, काठमाडौँ

बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिरोको उच्च जोखिममा र  ३१ वडा मध्यम जोखिममा  परेका छन्। 

मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिरोको उच्च जोखिममा पर्छ। जिल्ला विपद् व्यवस्थापन समितिले  विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिरोको प्रकोपमा पहिलो नम्बरमा परेको हो।

पहिरोकै कारण हरेक वर्ष यहाँका नागरिकले ज्यान गुमाउनु परेको छ। जिल्लाका दस स्थानीय तहबाट सङ्कलन गरिएको तथ्याङ्क तथा जिल्ला प्रशासन कार्यालयमा प्राकृतिक प्रकोपका लागि वितरण गरिएको राहतको विवरणअनुसार पहिरोको प्रकोपबाट अधिकांश स्थानीय तहका वडा समस्यामा परेको पाइन्छ।

जिल्लाका कूल ८५ वडामध्ये पहिरोको प्रकोपमा ३७ वटा वडा उच्च जोखिम, ३१ वडा मध्यम जोखिम र १७ वडा निम्न जोखिमको सूचीमा छन्। मनसुनजन्य आपत्कालीन कार्ययोजना–२०७९ मा उल्लेख भएअनुसार पालिकाका मुकाम रहेका वडाहरुसमेत पहिरोको जोखिममा छन्। 

जोखिममा सामुदायिक विद्यालयसमेत समावेश छन्।  यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिरोले असर पार्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिको अनुमान छ। सबै स्थानीय तहमा व्यवस्थापन पूर्वको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए। 

मनसुन सक्रिय हुनुपहिले नै विपत् पूर्व, विपत् भएको समय र विपत्पश्चात् गर्नुपर्ने कामका बारेमा सरोकारवाला निकायसँग समन्वय र साङ्गठनिक जिम्मेवारी बाँडफाँड गरिएको उनले बताए। 

कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौँदीखोला, उत्तरगङ्गालगायत खोला तथा नदी किनारका बस्तीहरु बाढीको जोखिममा छन्।  पहिरो प्रकोपका कारणले जिल्लाभर करिब ३० हजार व्यक्तिलाई असर पर्नसक्ने अनुमान गरिएको छ। पहिरोको प्रकोपबाट घरगोठमा क्षति पुग्न सक्ने, बालबालिका, वृद्घावृद्घाहरु, गर्भवती, सुत्केरी, अपाङ्ग व्यक्ति, दलित र अति गरिबलाई बढी असर पर्ने विपत् प्रतिकार्य योजनामा उल्लेख छ। 

यहाँका सबै खोला किनारका तटीय क्षेत्रहरु जोखिममा छन्। कार्ययोजनाले उद्धार राहत तथा पुनःस्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्याङ्क तयार गरेको छ।

जिल्लाका अधिकांश बस्ती, सडक, भल तथा बाढीका कारण जोखिममा पर्ने स्थानीय तहको पूर्वानुमान छ। स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरो पीडितको तथ्याङ्क र यो वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार गरेकोे हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad