कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुंगाले कुँदेर घरमा छानो हाल्ने। कतिले खरको छानो छाउने गरेका थिए। गाउँ–गाउँका मात्र नभई सहर बजारका घरमा समेत ढुंगा तथा खरले छाना छाइन्थ्यो।
पछिल्लो समय भने ढुंगा तथा खरको छानो विस्थापन गर्दै गाउँघरमै जस्ता पाता र ढलानसमेत गर्ने क्रम बढ्दै जाँदा बाँकी रहेको ढुंगाका घर र छानासमेत लोप हुन थालेको छ। समुद्र सतहदेखि एक हजार छ सय ५० मिटर उचाइमा रहेको क्व्होलासोथर गाउँपालिका–६ पसगाउँवासीले भने परम्परालाई अझै संरक्षण गरेर राखेका छन्।
यहाँको एक सय ५३ घरधुरीमध्ये एक सय ४० घरधुरीको छाना ढुंगाबाटै छाइएको छ। लोप हुँदै गएको ढुंगाका घर यसरी संरक्षण गरेर राख्दा भावी पुस्ता तथा इतिहासका लागि यो गाउँ साक्षी बन्ने भएको छ। स्थानीय बलराम गुरुङ भन्छन्, ‘हामीले गाउँमा सचेतना फैलाउँदै भत्किएका ढुंगाका छानासमेत मर्मत गरेर संरक्षण गर्दै आएका छौँ।’ गाउँगाउँमा सुविधायुक्त घर निर्माण हुँदै गए पनि यस गाउँवासीले भने परम्परा संरक्षणका लागि आधुनिक घर निर्माण नगर्ने भएका छन्।
यसबाट पछिल्लो पुस्ताले समेत यस्ता मौलिक परम्परागत घर देख्दा पुर्खाको सम्पत्ति ठान्ने र उनीहरुलाई यस्ता घर संरक्षण गर्न प्रेरणा मिल्ने सोही ठाउँ निवासी चन्द्रप्रसाद गुरुङ बताउँछन्। उनी भन्छन्, ‘गाउँमा आउने पाहुँना तथा पर्यटकले गाउँका घरहरुसँग सेल्फी खिच्ने, फोटो खिच्ने, टिकटक बनाउने र रमाउने गर्दछन्।’ गाउँमै ढुंगा खानी रहेको र सोही स्थानबाट आवश्यक ढुंगा ल्याउने गरिएको छ।
गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ भन्छन्, ‘गाउँपालिकाभर नै छिटफुट ढङ्गाका घर त छन् तर पस गाउँका अधिकांश बासिन्दाको घर ढुंगाबाटै निर्माण गरिएको छ।’ परम्परागत यस्ता घर संरक्षण गर्न गाउँपालिका अघि बढ्न थालेको उनको भनाइ छ । अब निर्माण हुने घरमध्ये आर्थिक अवस्था कमजोर भएकालाई ढुंगाको घर निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष गुरुङ जानकारी दिन्छन्। उनले भने, ‘हामीले खरको छानोमुक्त पालिका अभियान सञ्चालन गरेर खरमुक्त पालिका बनाउन लागेका छौँ, करिब करिब खरमुक्त पालिका भइसकेको छ।’
खरका कारण आगलागी हुनेदेखि व्यक्ति तथा परिवारको सुरक्षा नहुनाका साथै खर पाउन मुस्किल हुन थालेकाले त्यस अभियानलाई अघि बढाएको पालिका प्रमुख गुरुङ बताउँछन्। ढुंगाको घर तथा छानो बलियो रहेको र जस्तापाताको छानो तीन/चारपटक फेर्दा पनि ढुंगाको छानो एक पटक पनि फेर्न नपर्ने हुन्छ। साथै जाडोमा न्यानो, गर्मीमा सित्तल हुने, आगलागीलगायत घटना कम हुने भएकाले परिवार सुरक्षित हुने उनको भनाइ छ। यसबाट पर्यटक आकर्षित गराउन मदत पुग्ने र समृद्ध पालिकाका लागि त्यस्ता घरहरुले टेवा पुर्याउने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ।
यस गाउँमा २१ घरमा घरवास (होमस्टे) सञ्चालन गरिएको छ। यहाँबाट लमजुङ हिमाल, अन्नपूर्णलगायत हिमालय पर्वत शृङ्खला देख्न सकिन्छ। गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, घाटु नाचजस्ता लोपोन्मुख नृत्यका लागि समेत पसगाउँ परिचित छ।
Shares
प्रतिक्रिया