पोखरा महानगरपालिका वडा नं २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीविरुद्ध जातीय विभेदको उजुरी परेको छ।
विकासका कार्यक्रममा चासो राख्दा जातीय विभेद गरेको भन्दै सोही वडाकी दलित महिला सदस्य मैया नेपालीले आइतबार उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन्।
घटना विवरण अनुसार पुस १८ गते वडाका आमा समूहहरुका लागि तालिम दिने भन्दै आयोजना गरिएको भेलामा मैयामाथि दुर्व्यवहार भएको थियो। छलफलको लागि भनेर डाकिएको भेलालाई नै तालिम भन्दै वडाध्यक्षले उद्घाटनको तयारी गरेपछि महिला सदस्य सरस्वती त्रिपाठीले आपत्ति जनाइन्। सरस्वतीलाई मैयाले साथ दिइन्। मैया बोल्न थालेपछि वडाध्यक्ष एकाएक जंगिए। मैयामाथि जातीय विभेदसहित गालीगलौज गरे ।
अध्यक्ष अधिकारीले त्यहाँ भनेका थिए ‘तँलाई बोल्ने अधिकार छैन। दलितले पाउने एक लाख छुट्टाएइको छ। वडा सदस्य भएँ भनेर ठूलो कुरा गर्ने? तेरो हैसियत के हो भन्ने मलाई थाहा छ’ भन्दै धम्क्याए।
वडाध्यक्ष अधिकारी त्यतिमै रोकिएनन्। उनले मैयालाई आफ्नो घरको काम गरेर बाँचेको, महानगरले दिने १५ हजार रुपैयाँ तलब र सेवा सुविधा आफ्ना नोकरलाई दिने गरेको र मागेर थापेर खाने हैसियतकाले ठूलो कुरा गर्न नमिल्ने भन्दै छुद्र र अमानवीय व्यवहार प्रदर्शन गरेका थिए। अपशब्दसहित हातपातमा उत्रन खोजेका वडाध्यक्ष अधिकारीलाई वडा सदस्य कृष्ण सुवेदीले रोकेको प्रत्यक्षदर्शीले बताए।
वडासदस्य नेपालीले आफूमाथि एकपटक मात्रै नभइ पटकपटक दुर्व्यवहार भएको पनि सुनाइन्।
‘सहनुको पनि सीमा हुन्छ। मैले धेरै पटक सहेँ। सबैले उनको (वडाअध्यक्ष अधिकारी) व्यवहार नै यस्तो हो भन्ने गर्थे। आफै सचेत हुँदै आएँ। पटकपटक दुर्व्यवहार गर्दा सहन सकिन’, उनले भनिन्, ‘मलाई यो भन्दाअघि पनि दुई पटक वडाको बैठकबाट निकालिएको छ। तर म बोलिन। अहिले सार्वजनिक स्थानमा केही नबोल्दासमेत ममाथि जातीय विभेद भयो। उहाँको हर्कत सह्य भएन।’
मुद्दा दर्ता गराएसँगै आफूमाथि दबाब दिन थालिएको पनि उनले गुनासो गरिन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले आइतबार जाहेरी दर्ता भएसँगै अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए। नेपालीले जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी कसूरमा जाहेरी दिएकी हुन्।
Shares

प्रतिक्रिया