ad ad

गण्डकी


पोखरामा भू-विज्ञान सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

पोखरामा भू-विज्ञान सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार ९:२१, काठमाडौँ

नेपाल भौगर्भिक समाजको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन "३५ औं हिमालय-काराकोरम-तिब्बत वर्कसप (35th Himalaya-Karakoram-Tibet Workshop) हुने भएकाे छ। नोभेम्बर २- ४ मा  पोखरामा वर्कसप हुने छ।

नेपाल र विश्वभरबाट २६० भू-वैज्ञानिक र अनुसन्धानकर्ताले आफ्नो अध्ययन र अनुसन्धान उक्त सम्मेलनमा प्रस्तुत गर्ने आयाेजकले जनाएकाे छ।

सन् १९८५ मा बेलायतको लेसेस्टर विश्वविद्यालयमा हिमालय क्षेत्रका वैज्ञानिक अनुसन्धानमा संलग्न विश्वभरका भू-वैज्ञानिकहरु जम्मा भइ पहिलोपटक हिमालयन कार्यशाला गोष्ठी सम्पन्न गरेका थिए। त्यसपछि दोश्रो, तेश्रो र चौथो सम्मेलनहरु क्रमशः फ्रान्स, बेलायत र इटालीमा सम्पन्न भएका थिए।

भू-वैज्ञानिकहरुका अनुसार हिमालय र तिब्बती क्षेत्रको सकृय धरातलीय अवस्था र यसबाट उत्पन्न हुने प्राकृतिक प्रकोप यसका विविध आयामहरुको अध्ययनमा विगतका वर्षहरुमा भएको वृद्धिले यो सम्मेलनको बार्षिक बैठकको आवश्यकतालाई समेत समर्थन गरेको छ।

नेपाल भौगर्भिक समाजले उक्त अन्तर्राष्ट्रिय सम्मेलनको निरन्तरताको रुपमा ३५ औं कार्यशाला पोखरामा आयोजना गरेको र यस्ता सम्मेलनले हिमालय क्षेत्रमा बसोबास गर्ने समुदायमा यस्ता नवीन अनुसन्धानको प्रचारप्रसार हुनु र यस क्षेत्रमा हुने भौगर्भिक प्रक्रियाह्रुको सहि बुझाइले दिगो विकासमा समेत टेवा पुग्ने भौगर्भिक समाजका अध्यक्ष डा. अनन्तप्रसाद गजुरेल बताउँछन्। 

नेपाल भौगर्भिक समाजले सन् २०१२ मा २७ औं हिमालय-कारकोरम तिब्बत कार्यशाला आयोजना गरि सफलतापूर्वक सम्पन्न समेत गरिसकेको छ। यसअघिका ३३ र ३४ औं सम्मेलन क्रमशः  स्विजरल्याण्ड र अमेरिकामा सम्पन्न भएका थिए। सन् २०२१ मा नेपालमा आयोजना गर्ने भनिएको ३५ औं सम्मेलन कोरोना भाइरसको विश्वव्यापी असरका कारण दुइपटक निर्धारित मितिभन्दा पछाडि सारिएको र कैयौं अनिश्चितताका बाबजुद तयारीको अन्तिम चरणमा प्रवेश गरेकोले उत्साहित रहेको कुरा उक्त सम्मेलनका संयोजक डा. कविराज पौड्यालले जानकारी दिए।

"जनताको समृद्धि र दिगो विकासका लागि भू-विज्ञान" नारा राखिएको उक्त सम्मेलनले भू-विज्ञान र इन्जिनियरिङ क्षेत्रका विशेषज्ञहरु, वैज्ञानिकहरु, प्राध्यापकहरु, अनुसन्धानकर्ताहरु, शिक्षाविद, नीति निर्माता, विद्यार्थी र पेशागत समुदायका व्यक्तित्वहरुबीच नवीनतम् ज्ञान, विज्ञान र प्रविधिका मौलिकताको बारे विचारहरु आदानप्रदान हुने लक्ष्य राखिएको छ ।

सम्मेलनबाट प्राकृतिक श्रोत परिचालन सम्बन्धि तथ्य तथा प्राकृतिक प्रकोप, जलवायु परिवर्तनबाट उत्पन्न असर न्यूनीकरणमा भइरहेका विश्वव्यापी प्रयास, अनुसन्धान, प्रविधिको प्रयोग तथा उपलब्धिका बारेमा ज्ञान आदानप्रदान हुने विश्वास गरिएको छ। 

उक्त ३ दिने सम्मेलन पोखराको होटल पोखरा ग्राण्डीमा आयोजना गरिएको र उक्त सम्मेलनमा स्वदेशी, विदेशी गरि ३०० भन्दा बढीको सहभागिता हुने कुरा आयोजक नेपाल भौगर्भिक समाजका महासचिव डा. लोक विजय अधिकारीले जानकारी दिए। 

यस्ता अन्तर्राष्ट्रिय स्तरका सम्मेलनले नेपालको विज्ञान प्रविधिको क्षेत्रमा विकास हुनुका साथै नेपालको समग्र पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास आयोजकले लिएको छ। 

उक्त सम्मेलनको अवसर पारेर दुई ओटा फिल्ड अध्ययन भ्रमण (Field Excursion) को पनि आयोजना गरिएको छ।  उक्त अध्ययन भ्रमणमा सम्मेलनपूर्व काठमाडौं-पोखरा क्षेत्रमा भएका भौगर्भिक महत्वका स्थानको अध्ययन अवलोकन भ्रमण हुनेछ भने सम्मेलनपश्चात् पोखरा-मुक्तिनाथ क्षेत्रका उच्च हिमालय क्षेत्रमा अर्को अध्ययन भ्रमण राखिएको छ। दुवै अध्ययन भ्रमणमा विदेशी अनुसन्धानकर्ताको सहभागिता हुनेछ भने नेतृत्व नेपाली प्राध्यापक तथा अनुसन्धानकर्ताले गर्नेछन्।

समाजका कोषाध्यक्ष श्री आशिष केसीका अनुसार करिब ५० लाखको अनुमानित लागत रहेको उक्त सम्मेलनमा विभिन्न सरकारी, गैरसरकारी तथा निजि क्षेत्रबाट आर्थिक सहयोगको अपेक्षा गरिएको छ।

निर्माण व्यवसाय गर्ने, अध्ययन अनुसन्धानमा रुचि हुने भू विज्ञान र इन्जिनियरिङ क्षेत्रका व्यक्तिहरूलाई यो अन्तर्राष्ट्रिय सम्मेलन सुनौलो अवसर भएको र विद्यार्थीका लागि रजिष्ट्रेसन शुल्कमा सहुलियत दिइएको कुरा ३० औं  हिमालय-काराकोरम-तिब्बत कार्यशालाका प्रवक्ता श्री इन्द्र लम्सालले बताए। उक्त अन्तर्राष्ट्रिय सम्मेलनले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान समेत दिने भएकाले कार्यक्रम सफल बनाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने कुरामा समेत प्रवक्ता लम्सालले अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .