ad ad

रोचक


एक वर्षमा १९ देशका ३४ जनासँग डेट गइन्, पुरुषबारे यस्तो छ धारणा

एक वर्षमा १९ देशका ३४ जनासँग डेट गइन्, पुरुषबारे यस्तो छ धारणा

नेपालखबर
चैत २०, २०७९ सोमबार १२:१०, काठमाडौँ

लोनी जेम्स गत वर्ष डफेल झोला बोकेर लण्डन उडिन्। यो २०२२ मार्चको कुरा हो, यात्रामा उनको योजना सामान्य थियो, संसार घुम्ने र आफूले भेटेका फरक फरक देशका पुरुषसँग डेट जाने।

लण्डन पुगेपछि डेटिङ एप टिन्डरमा स्वीप गर्दै जाँदा उनले फ्रेन्च र ब्रिटिसका दुई पुरुषलाई भेटिन् जो यात्रा मन पराउँथे। टावर ब्रिजमा बियर पिउने गरी भएको भेट ५ घण्टाको डेटमा परिणत भयो, उनले ती पुरुषसँग अघिल्ला यात्राका कुरा गरिन्।

त्यसपछि उनले ती पुरुषलाई फेरि कहिल्यै भेटिनन्। तर यहीँबाट उनको यात्रा आरम्भ भयो। भावनात्मक रूपमा नजोडिईकन उनी नयाँनयाँ पुरुषसँग डेट जान थालिन्। उनी कहिल्यै कोहीसँग दोस्रोपटक डेट गइनन्। एक वर्षमा १९ देशका ३४ पुरुषसँग रोमान्टिक डेट गरिन्, जसका लागि उनले टिन्डर, हिन्ज र बम्बल जस्ता डेटिङ एपको प्रयोग गरेकी थिइन्।

रमजानको पवित्र महिनामा उनले एक मुस्लिम पुरुषसँग १३ घण्टाको डेट गरिन्। आकर्षक मुस्कानसहितको तस्वीर प्रोफाइल राखेका ती पुरुषले टिन्डरमा टिभी शोमा आउने मनमोहक लाइन प्रोफाइलमा राखेका थिए, जसमा उनी फिदा भएकी थिइन्।

दोस्रो डेट उनले इजीप्टका एक पुरुषसँग गरिन्। ती पुरुषको इंगेज्मेन्ट भएको थियो। ती पुरुषले आफ्नी पूर्वप्रेमिकाको कुरा गरेरै डेटमा समय बिताए। 'ती पुरुष एकदमै दुखेका थिए। आफूभित्रको भारी कसैसँग कुरा गरेर मन हलुंगो बनाउन चाहन्थे। त्यसका लागि म सुरक्षित व्यक्ति थिएँ,' जेम्स भन्छिन्, 'डेटमा मैले विभिन्न पुरुषसँग एकदमै घनिष्ठ र मसिना कुरा गरेकी छु। उनीहरूले खुलेर मसँग कुरा गरेका छन्। यो तब हुँदो रहेछ जब तपाईंलाई थाहा हुन्छ फेरि त्यो मान्छेलाई कहिल्यै भेट्नुहुनेछैन।'

जेम्सले इटलीको भेरोना सहरमा एक शास्त्रीय संगीतकारसँग पनि डेट गरिन्। तिनले उनलाई स्कुटरमा राखेर सहर घुमाए। अँध्यारो ऐतिहासिक ठाउँको यात्रा गराए।

उनीसँग डेटका एकदमै तिक्त सम्झना पनि छन्। टर्कीमा उनी एकजना पुरुषसँग डेट गएकी थिइन्। ती पुरुषसँग शारीरिक सम्बन्धका लागि उनी तयार थिइनन्। पुरुषले निकै पटक यौनको प्रस्ताव गरे पनि उनले अस्वीकार गरिन्। पुरुष एकदमै रिसाए। त्यसपछि उनलाई प्याराग्लाइडिङ स्टोरमा एक्लै छाडेर केही क्षणमा फर्किन्छु भने। उनले २ घण्टा कुरिन्। तर ती व्यक्ति फर्किएनन्। रात स्टोरको एक बेन्चमा सुतेर बिताइन्।

उनको पछिल्लो डेट दक्षिण अमेरिकी व्यक्तिसँग थियो। केप सहरमा भएको उक्त भेटमा उनी निकै रमाएको बताउँछिन्। ती पुरुषले डिनरमा कार्ड झिकेर कार्ड चलाउने खेल खेलेको स्मरण गर्छिन् उनी।

तर ४० वर्षीय जेम्सलाई नराम्रा डेटहरूको पनि स्मरण छ। ती सबै डेटले आफूलाई केही सिकाएको उनी बताउँछिन्।

'विगतमा जम म डेट जान्थेँ, म डेटिङलाई पास र फेलका रूपमा हेर्थेँ। यदि कसैसँग डेट गएको छु र त्यहाँ गुडनाइट किस भएन वा सेकेन्डपटक ऊसँग भेट भएन भने म आफू फेल भएको महसुस गर्थेँ। तर अब त्यस्तो सोच्दिनँ,' उनी भन्छिन्, 'मैले महसुस गरेको छु कसैले मलाई समय दिएको छ, आफ्नो कथा सुनाएको छ। त्यसमा म कृतज्ञ हुन्छु।'

उनले रोमान्स विभिन्न आकृति र ढाँचामा आउने उनी बताउँछिन्। 'त्यो कुनै महँगो ठाउँ र महँगा चिजबिजको जरुरी छैन। खुसी हुने त्यस्तो कुनै विशेष सुत्र र ठाउँ हुँदैन। त्यो जहाँ पनि हुनसक्छ, वश भावनासँग व्यक्तिसँग जोडिएको हुनुपर्‍यो। भावना मिलेन भने ठूला होटल र महँगा ठाउँमा पनि खुसी भइन्न।'

अगाडि उनी थप्छिन्, 'त्यो मान्छे जसले तपाईंलाई सुन्छ। जसले स्पेसल अनुभूति गराउँछ। जसले तपाईंको मुहारमा मुस्कान ल्याउने प्रयास गर्छ। जसले साँच्चै तपाईंलाई बुझ्छ त्यहाँ आनन्दानुभूति हुन्छ।'

उसो त जेम्स आमाको मृत्युको दुखान्त भुल्न यो बाटोमा हिँडेकी हुन्। उनकी आमाको ६३ वर्षको उमेरमा मृत्यु भयो। ४८ वर्षको उमेरदेखि अल्जाइमरको समस्याले थलिएकी थिइन् उनकी आमा। 

'मेरो आमाले अमेरिकी संस्कारअनुसार ती सबै काम गर्नुभयो। बिहे गर्नुभयो। तीन सन्तान हुर्काउनुभयो। राम्रो जागिर खानुभयो। घर जोड्नुभयो। अनि रिटायरमेन्ट जीवनका योजना बनाउनुभयो। तर कहिल्यै त्यो रिटारमेन्ट जीवन बिताउन पाउनुभएन।' त्यसैले रमाउनका लागि आफूले रिटायरमेन्ट नकुरेको उनी बताउँछिन्।

जेम्सले बिहे गरेकी छैनन्। दुई वर्षअघि आमाको मृत्यु भएपछि उनले यात्राका लागि पैसा जम्मा गर्न थालेकी थिइन्। त्यसपछि उनी वासिङ्टानबाट निस्किएर धेरै देश डुलिन्। धेरै जनासँग डेट गरिन्। यस क्रममा उनले सबै प्रकृतिका पुरुष भेटिन्, कोही एकदमै इमान्दार, कोही क्रूर, कोही पीडाबाट गुज्रिरहेका। ती सबैले आफूलाई केही पाठ सिकाएको उनी बताउँछिन्।

एक्लै यात्रा गर्दा उनले सुरक्षामा विशेष ध्यान दिएकी थिइन्। उनले आफ्नो लोकेसन साथीहरूलाई शेयर गर्थिन्। धेरै अल्कोहल कहिल्यै पिइनन्। फोन अफ हुन दिइनन् र राइड शेयरिङ एपको प्रयोग गरिन्। यसले आफू थप सुरक्षित भएको बताउँदै उनी नयाँ पुरुषसँग भेट्दा यस्तो उपाय अपनाउन पनि महिलालाई सुझाव दिन्छिन्। यात्रामा सबै प्रकृतिका पुरुष भेटिएको उनी बताउँछिन्।

'मलाई थाहा छ यो अलि ग्लामर्स सुनिन्छ। तर केही डेट ग्लामर्स पनि भएका छन्। मैले जोडी भएर प्याराग्लाइडिङ गरेँ, म माछा मार्न पनि गएँ। तर एकाधपटक बिर्सिनलायक पुरुष पनि भेटिए।'

उनी अमेरिका फर्किएकी छैनन्। अझै केही महिना अफ्रिकामा यात्रा गरेर त्यसपछि एसिया, अष्ट्रेलिया र दक्षिण अमेरिकाको यात्रा गर्ने उनको योजना छ।

अघिल्लो वर्ष उनले पार्टनरबिना एक्लै यात्रा गरिनन्। अब उनले आफूलाई धेरै बुझेकी छन्। उनी भन्छिन्, 'अब म यात्राका लागि कसैलाई पर्खिन्न।'

‍‍उनलाई यो यात्रा संस्मरणको किताब लेख्ने रहर छ। अमेरिका फर्किएपछि आफ्नो यात्राबारे किताब लेख्ने उनी बताउँछिन्। -एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .