भीआईपीहरुका लागि भनेर तयार गरिएको एउटा नयाँ बोइङ ७४७ जेट भत्काइएको छ। सो विमानले १६ पटक गरी मात्र ३० घण्टा उडान भरेको थियो।
सुरुमा साउदी राजपरिवारको लागि भनेर निर्मित सो जहाज फ्रान्स, स्विट्जरल्यान्ड र जर्मनीको सीमानजिक रहेको युरोएयरपोर्टमा करिब १० वर्ष थन्कियो।
त्यहाँ यसको आन्तरिक सजावट गरिनुपर्ने थियो। तर, त्यसो भएन। नयाँ ग्राहक फेला नपरेपछि यो विमानलाई अन्ततः अमेरिकाको एरिजोनास्थित पिनाल एयरपार्कमा पुर्याइयो। जहाँ विमानहरुको पार्टपुर्जा निकालिन्छ र सदाका लागि थन्क्याइन्छ।
यस्तो विमान निर्माताले सरकार तथा कर्पोरेट ग्राहकहरुलाई लक्षित गरी बनाउँछ। यो बोइङ ७४७ मध्येको पनि सबैभन्दा आधुनिक ७४७–८ भेरियन्ट हो। जुन मोडल पहिलो पटक २०१० मा उडेको थियो।
तर, उडाउन अत्यन्त महंगो भएकाले यसले व्यापारिक सफलता हात पारेन। यसवर्षदेखि यो मोडल निर्माण बन्द गरिएको छ। तथापि, यही मोडलका दुई विमानलाई अमेरिकी राष्ट्रपति चढ्ने एयर फोर्स वन विमानमा परिवर्तन गरिँदैछ।
सो कम्पनीले बोइङ बिजनेस जेट भनिने मोडिफाइ गरिएका विमानहरु २५० वटा बेचेको छ। जसमध्ये अधिकांश ७३७ मोडल छन्। जुन मोडल बजारमा ज्यादा बिक्यो। तर ७४७–८ भने हालसम्म १० वटा मात्र बनेको छ। त्यसमा पनि यो एउटा भत्काइसकिएको छ।
यो विमान साउदी युवराज सुल्तान बिन अब्दुलअजिज अल साउदका लागि भनेर बनाइएको थियो। तर, विमान डेलिभर हुनुभन्दा केही महिनाअघि नै २०११ मा उनी बिते।
त्यसपछि विमान थन्कियो।
सुरुमा ३५ करोड डलर मूल्य राखिएको विमानलाई बेवारिसे भएपछि ९.५ करोड डलरमा बिक्री सूचीमा राखियो। तैपनि विमान बिकेन।
‘साउदी राज्य प्रमुखबाहेक कोही पनि चार इन्जिन भएको निजी बिजनेस जेट राख्न चाहँदैन। एउटा मात्र विमानलाई कार्गो विमानमा बदल्न पनि सकिन्न। यात्रु चढ्ने विमान कोही किन्न चाहँदैन। किनभने पार्टपुर्जा, खासगरी इन्जिन विमानभन्दा महंगो हुन्छ,’ हवाई विज्ञ रिचर्ड अबुलाफिया भन्छन्।
यसको आन्तरिक सजावटमा ५ करोड डलरसम्म लाग्नसक्ने विज्ञहरु बताउँछन्।
यो भेरियन्टका यात्रुवाहक विमान पनि थोरै एयरलाइन्सले मात्र चलाएका छन्। जो विमान किन्न अनिच्छुक देखिए। त्यसैले, अर्को सरकारलाई बेच्ने विकल्प मात्र बाँकी रहेकोमा त्यो पनि नभएपछि विमान भत्काइएको बताइन्छ।
यससम्बन्धमा सोधिएको प्रश्नहरुको बोइङले जवाफ दिएको छैन।
एरिजोनामा यो विमानको पार्टपुर्जा निकाल्ने काम अझै भइरहेको छ। यसलाई पुरै भत्काइन्छ वा पछि पार्टपुर्जा राख्नेगरी थन्क्याइन्छ, अझै स्पष्ट छैन। सीएनएन
प्रतिक्रिया