अमेरिकाको मिसिसिपीमा सानो हवाई जहाज चोरेर त्यसलाई वालमार्टको एउटा शाखामा खसालिदिने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्। उनलाई विमान चोरी तथा आतंक फैलाउने क्रियाकलाप गरेको आरोपमा पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।
बीबीसीका अनुसार कोरी वायन पाटर्सन नाम गरेका व्यक्तिले विमान चोरेर उडाएका थिए। पाटर्सनले बीचक्राफ्ट किङ एयर ट्वीट इन्जिनको विमान स्थानीय समयअनुसार शनिबार बिहान ५ बजे लिएर गएका थिए। यो विमानमा १० देखि ११ जना मानिस अटाउँछन्। विमान आफ्नो नियन्त्रणमा लिएपछि उनले प्रहरीलाई फोन गरेर आफूले वालमार्टको शाखामा प्लेन खसाल्न लागेको बताए। प्रहरीलाई यस्तो धम्की आएसँगै वालमार्टको पसल खाली गरिएको थियो र वरपरका मानिसहरुलाई त्यहाँबाट सारिएको थियो।
पाटर्सनसँग पाइलटको लाइसेन्स नभएको तर उनी एयरपोर्टमा नै काम गर्ने मानिस भएकाले उनलाई विमान उडाउने तरिका भने थाहा भएको हुन सक्ने प्रहरीको भनाइ छ।
पाटर्सनले घण्टौंसम्म विमानलाई मिसिसिपीको खेतमाथि घुमाएका थिए। स्थानीय डब्ल्यूटीभीए च्यानलले गरेको प्रत्यक्ष प्रसारणमा पनि उक्त विमान खेतमाथि घुमिरहेको देख्न सकिन्छ।
स्थानीय प्रहरी प्रमुख जोन क्वाकाका अनुसार वार्ताकारहरुले पाटर्सनसँग वार्ता गरेर उनलाई विमानस्थलमा विमान ल्याण्ड गराउन मनाएका थिए। यद्यपि उनीहरुको बीचमा के वार्ता भयो भन्ने जानकारी भने दिइएको छैन।
विमान ल्याण्ड भएसँगै पाटर्सनलाई प्रहरीले हिरासतमा लिएको थियो। अहिले उनीमाथि अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया